४ वैशाख, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा यस सिजन पहिलोपटक सुपर ओभरमा गएको खेलमा दिल्ली क्यापिटल्सले जित निकालेको छ ।
निर्धारित २० ओभरको खेल बराबरी भएपछि दिल्लीले राजस्थान रोयल्सलाई सुपर ओभरमा हराएको हो । सुपर ओभरमा राजस्थानले दिएको १२ रनको लक्ष्य दिल्लीले ४ बलमै पूरा गर्यो । ट्रिस्टन स्टब्सले विजयी छक्का प्रहार गरे ।
त्यसअघि २० ओभरको खेलमा दिल्लीले दिएको १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले पूरा २० ओभरमा ४ विकेट गुमाएर १८८ रन बनाएपछि बराबरी हुँदै खेल सुपर ओभरमा गएको थियो ।
राजस्थानका यशस्वी जैसवाल र नितिश रानाले अर्धशतक बनाउँदै समान ५१ रन बनाएपनि निर्धारित ओभरमा जित भने दिलाउन सकेनन् । कप्तान सन्जु सामसनले ३१ रन बनाउँदा ध्रुव जुरेल २६ रनमा रनआउट भए ।
अन्तिम ओभरमा हितका लागि ९ रन आवश्यक हुँदा मिचेल स्टार्कले शानदार योर्कर बलहरू प्रयोग गर्दै ८ रन मात्र दिए । अन्तिम बलमा २ रन चाहिँदा जुरेल रनआउट भएका थिए । मिचेल स्टार्क, अक्षर पटेल र कुलदीप यादवले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८८ रन बनाएको थियो । अभिषेक पोरेलले सर्वाधिक ४९ रन बनाए भने केएल राहुलले ३८ तथा कप्तान अक्षर पटेल र ट्रिस्टन स्टब्सले समान ३४ रन बनाए ।
राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिँदा महीश थिक्साना र वानिन्दु हसरंगाले १-१ विकेट लिए ।
योसँगै ६ खेलमा पाँचौं जित निकालेको दिल्ली १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने ७ खेलमा ४ अंक भएको राजस्थान आठौं स्थानमा यथावत् छ ।
प्रतिक्रिया 4