४ वैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत लिग चरणको अन्तिम खेल आज धनगढी एफसी र एफसी चितवनबीच हुँदैछ ।
यसअघि नै तीन टिम प्लेअफमा पुगिसकेकोले यो खेलपछि प्लेअफ पुग्ने चौथो टोलीको टुङ्गो लाग्ने भएकोले प्रतिक्षित बनेको छ ।
मैदानमा उत्रने एफसी चितवन आफू अनुकुल नतिजा ल्याउँदै प्लेअफ पुग्ने लक्ष्यमा छ भने मैदान बाहिर रहने काठमाडौं रेजर्सको नजर पनि यस खेलमा हुनेछ ।
यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको धनगढी ५ खेलबाट ११ अंकसहित दोस्रो स्थानमा छ । ६ खेल नै खेलिसकेको काठमाडौं रेजर्स अहिले ८ अंकसहित चौथो स्थानमा छ । चितवन ५ खेलबाट ७ अंकसहित पाँचौ स्थानमा छ ।
प्लेअफ पुग्न चितवनका लागि जित वा बराबरी चाहिनेछ । जितले चितवन लिगमा तेस्रो हुँदै प्लेअफ पुग्नेछ । बराबरीले चितवनले काठमाडौंसँग अंक बराबरी गर्नेछ । तर गोल अन्तरमा चितवन अघि रहने भएकोले चितवनको प्लेअफ यात्रा तय हुनेछ ।
काठमाडौं रेजर्स प्लेअफ पुग्नका लागि चितवन धनगढीसँग पराजित हुनुपर्नेछ ।
यस पटक दुई टिमको अंक बराबरी भएमा गोल अन्तर हेर्ने प्रावधान छ । त्यसैले ६ खेलबाट ८ अंक रहेको पोखरा थण्डर्सले काठमाडौंलाई गोल अन्तरमा पछि पारेर प्लेअफमा स्थान बनाइसकेको छ ।
पोखराको गोल अन्तर प्लस १ छ भने काठमाडौंको माइनस १ छ । चितवनको गोल अन्तर हाल शुन्य रहेकोले बराबरी खेले पनि काठमाडौं भन्दा अघि रहने भएको हो ।
आज चितवन आफू अनुकल नतिजा ल्याउँदै प्लेअफ पुग्ने लक्ष्यमा हुँदा काठमाडौं भने मैदान बाहिरकाट चितवनको हारको कामना गरिरहनेछ ।
प्रतिक्रिया 4