
४ वैशाख, धनगढी । कैलालीमा लागुऔषध दुर्व्यसनी र अवैध रुपमा हुने तस्करी बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलालीमा एक वर्षको अवधिमा लागुऔषधसहित ७७० जनालाई पक्राउ गरिएको छ भने ११ करोड बढिको अवैध सामान बरामद गरिएको छ ।
प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्ट कैलाली प्रहरीको प्रमुख भएर आएपछि ७ फागुन २०८० देखि ३१ चैत २०८१ सम्मको १३ महिनाको अवधिमा लागुऔषध दुर्व्यसनी सम्बन्धी पाँच सय पाँच वटा मुद्दा दर्ता भएका छन् । ती मुद्दामा ८३ जना महिला र ६८७ जना पुरुष गरेर सात सय ७० जनालाई पक्राउ गरेर मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
एक वर्षको अवधिमा सबैभन्दा धेरै ७४ किलो ७४८ ग्राम चरेस बरामद गरिएको छ भने तीन किलो २४० ग्राम गाँजा बरामद गरिएको छ । यस्तै, ६४४ ग्राम ६५७ मिलीग्राम खैरो हेरोइन, लागुऔषधको रुपमा प्रयोग हुने सात हजार ९८० विभिन्न खालका प्रतिबन्धित ट्याबलेट र १५ बोतल ओनेरेक्स समेत बरामद गरिएको छ ।
लागुऔषध दुर्व्यशनीपछि कैलालीमा सबैभन्दा भयावह भारतबाट हुने चोरी तस्करी रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । यो अवधिमा जिल्ला प्रहरी कार्यालयले मातहतका युनिटबाट समेत गरेर ११ करोड बढिको अवैध सामान बरामद गरेर कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ ।
तथ्यांकअनुसार प्रहरीले ११ करोड पाँच लाख ९ हजार ८४५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट अवैध रुपमा सामान ओसारपसारमा संलग्न ८६ सवारीसाधनसहित ३६ जनालाई पक्राउ समेत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले बताए ।
उनकाअनुसार लागुऔषध दुर्व्यसनी र अवैध रुपमा हुने चोरी तस्करीपछि ठूलो संख्यामा फरार प्रतिवादी पनि पक्राउ गरिएको छ । १३ महिनामा ६३७ जना फरार प्रतिवादीलाई पक्राउ गरेर आवश्यक कारवाहीका लागि अदालतमा पेस गरिएको एसपी विष्टले बताए । ती फरार प्रतिवादीहरूले १७३ वर्ष २ दिन कैद र एक करोड २६ लाख ४९ हजार रुपैयाँ जरिवाना असुली गरिएको छ ।
जिल्लामा जुवातास सम्बन्धीका ३९ मुद्दामा ३१५ जनालाई पक्राउ गरेर १९ लाख ७३ हजार नगद बरामद गरिएको छ भने अवैध रुपमा हुने बालुवा गिट्टी उत्खनन्मा संलग्न सवारी साधन र मानिसलाई नियन्त्रणमा लिएर १७ लाख ७१ हजार जरिवाना पनि तिराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चोरी तस्करी गर्ने उद्देश्य अवैध रुपमा राखिएको एक हजार ६९७ क्युफिट काठ बरामद गर्दै प्रहरीले २५ जनालाई पक्राउ गरेको छ । बरामद गरेर डिभिजन वन कार्यालयहरुलाई बुझाइएको उक्त काठको मूल्य ३९ लाख ५५ हजार बढिरहेको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले लागुऔषध दुर्व्यसनी र अवैध रुपमा हुने चोरी तस्करी डरलाग्दो रुपमा बढिरहेको पाइएको बताए । तर, जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटका प्रहरी कर्मचारीको सहयोगमा लागुऔषध दुर्व्यसनी र चोरी तस्करी नियन्त्रणको प्रयास गरिएको बताए ।
एसपी विष्टले विद्यालय उमेर समूहका बालबालिका समेत लागुऔषधको दलदलमा फसिरहेको बताउँदै नियन्त्रणका लागि प्रहरी प्रशासन मात्र नभइ अभिभावक, शिक्षक तथा समुदायका नागरिक अगुवाहरुको भूमिका पनि महत्वपूर्ण हुने बताए । समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत समेत दुर्व्यशनी नियन्त्रणका लागि सचेतनामुलक अभियान चलाइएको उनी बताउँछन् ।
प्रतिक्रिया 4