
इन्टरनेट क्षेत्रको दिग्गज कम्पनी गुगलले एउटा महत्वपूर्ण घोषणा गरेको छ । यसबाट विश्वभरका प्रयोगकर्ताले केही परिवर्तन देख्न पाउनेछन् ।
जसअनुसार कम्पनीले निकट भविष्यमै गुगलको स्थानीय डोमेनहरू परिवर्तन गर्न गइरहेको छ । अहिलेसम्म देशहरूका लागि फरक-फरक गुगल डोमेन हुने गरेका छन् । जस्तै नेपालका लागि गुगल डटकम डट एनपी छ भने भारतका लागि गुगल डट को डट आइएन छ ।
गुगलका यस्तै देशगत स्थानीय डोमेनहरु वर्षौंदेखि प्रयोग हुँदै आएका छन् र यिनलाई लोकल सर्च रिजल्ट दिनका लागि प्रयोग गरिन्छ ।
अब चाहिं नयाँ परिवर्तन हुँदैछ । जसअन्तर्गत गुगलले देशगत डोमेनहरुलाई हटाउँदैछ । यसको साटो प्रयोगकर्ताहरु सिधै गुगल डटकममा पुग्नेछन् ।
स्मरण रहोस् गुगलले सन् २०१७ देखि प्रयोगकर्ताको रियल टाइम भौतिक अवस्थितिमा पहुँच राख्न थालेको हो । यसले प्रयोगकर्तालाई जुनसुकै देशको डोमेन चलाएता पनि गुगल सर्चमा सान्दर्भिक नतिजासम्म पुर्याउन सहयोग गर्दछ ।
गुगलका अनुसार स्थानीय डोमेनमा परिवर्तन गरिने यो अपडेट छिटै नै सबै प्रयोगकर्तासम्म पर्याइनेछ । यसमा केही महिनासम्मको समय लाग्नसक्छ ।
एकपटक यो प्रक्रिया सम्पन्न भएपछि एड्रेस बारमा जुनसुकै देशको कोड युआरएलमा टाइप गरे पनि स्वतः गुगल डटकममा रिडाइरेक्ट हुनेछ ।
तर, गुगलको यो परिवर्तनले प्रयोगकर्ताको सर्च रिजल्टमा भने कुनै असर पार्नेछैन । यसपछि पनि प्रयोगकर्तालाई स्थानीय सामग्री तथा सर्च रिजल्ट प्राप्त भइरहनेछन् । अर्थात् तपाईं नेपालमा हुनुहुन्छ भने गुगल सर्च गर्दा नेपालसँग सम्बन्धित सर्च रिजल्ट देखिनेछन् र यदि ब्राजिलबाट गुगल सर्च गरिरहनुभएको छ भने त्यहाँको स्थानीय विषयवस्तुहरू सर्च रिजल्टमा देखिनेछन् ।
यद्यपि कतिपय प्रयोगकर्तालाई आफ्नो रुचि अर्थात् प्राथमिकता रिसेट गर्नुपर्ने हुनसक्छ, जसमा भाषा वा क्षेत्र लगायतका विषय छान्नुपर्ने हुन्छ । यस विषयमा गुगलले आगामी दिनमा जानकारी दिने बताइएको छ ।
प्रतिक्रिया 4