+

रोबर्टो कार्लोसको प्रतिक्षा

२०८२ वैशाख  ४ गते १३:३६ २०८२ वैशाख ४ गते १३:३६

रोबर्टो कार्लोसलाई दशरथ रंगशालामा उपस्थित भएको हेर्न र साक्षात्कार गर्न नेपाली समर्थकहरु प्रतिक्षा गरिरहेका छन् ।

रोबर्टो कार्लोसको प्रतिक्षा

४ वैशाख, काठमाडौं । काठमाडौंमा अहिले नेपाल सुपर लिग एनएसएलको तेस्रो संस्करण चलिरहेको छ । ७ फ्रेन्चाइज टोली सहभागी एनएसएलमा लिग चरणको २० खेल सम्पन्न भइसकेको छ र अब अन्तिम लिग खेल आज हुँदैछ । जसबाट प्लेअफ पुग्ने अन्तिम टोलीको टुङ्गो समेत लाग्नेछ ।

अहिलेसम्म साविक विजेता ललितपुर सिटी एफसी, साविक उपविजेता धनगढी एफसी र पोखरा थण्डर्सले प्लेअफमा स्थान पक्का गरिसकेका छन् ।

अब आज अन्तिम लिग खेलमा धनगढी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ । यस खेलमा जित वा बराबरीले चितवन प्लेअफ पुग्नेछ भने चितवन पराजित भएमा काठमाडौं रेजर्सले प्लेअफ यात्रा तय गर्नेछ । त्यसैले लिगको अन्तिम खेल प्रतिक्षित बनेको छ ।

त्यो भन्दा अर्को प्रतिक्षाको विषय पनि यस पटक एनएसएलमा रहेको छ । त्यो हो विश्व विजेता ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोसको नेपाल आगमन । आफ्नो फ्रिकिकका कारण विश्वभर चर्चित रोबर्टो कार्लोस एनएसएलकै अवसर पारेर नेपाल आउन लागेका हुन् ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले ५२ वर्षीय रोबर्टो नेपाल आउने घोषणा गरिसकेको छ । उनी यही वैशाख ५ गते नेपाल आइपुग्नेछन् । आयोजक एनएसइएमका अनुसार वैशाख ६ गते हुने पहिलो क्वालिफायरको चिफ गेष्टको रुपमा रोबर्टो कार्लोस नेपाल आउन लागेका हुन् ।

सन् ११९० र २००० हजारको दशकमा ब्राजिलका लागि खेलेका रोबर्टो कार्लोस नेपाली आउँदा यहाँ रहेका ब्राजिलियन फुटबल समर्थकहरुका लागि त्यो नोस्टालजिया क्षणको अवसर हुनेछ । रोबर्टो कार्लोसलाई दशरथ रंगशालामा उपस्थित भएको हेर्न र साक्षात्कार गर्न नेपाली समर्थकहरु प्रतिक्षा गरिरहेका छन् ।

रोबर्टो कार्लोस दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी गेष्ट रहने खेलमा खेल्ने दुई टिमको टुङ्गो समेत लागिसकेको छ । दोस्रो संस्करणको फाइनल दुई टिम ललितपुर र धनगढी नै यस सिजन पहिलो क्वालिफाइरमा भिड्दैछन् । लिग चरणमा शीर्ष दुई स्थान रहँदै यी दुईले पहिलो क्वालिफायर खेल्न लागेका हुन् ।

गत वर्षको दुई फाइनलिस्ट मध्ये एक टिम यस पटक पनि फाइनल पुग्ने पक्का भइसकेको छ । एनएसएलकै दुई उत्कृष्ट टोली र यस सिजन अपराजित रहेका टोलीबीचको खेलमै रोबर्टो कार्लोस बउने भएपछि अहिले फुटबल जगतमा उनकै चर्चा छ ।

आयोजकले ‘किक इट लाइक कार्लोस’ भनेर क्यापेन नै सुरु गरेको छ । जसमा उत्कृष्ट फ्रिकिक हान्नेलाई रोबर्टो कार्लोससँग भेटको मौका समेत दिइनेछ ।

अप्रिल १८ वैशाख ५ मा नेपाल आइपुग्ने रोबर्टो कार्लोसका लागि आयोजकले त्यही दिन कार्यक्रम समेत राखेको छ ।

रोबर्टो कार्लोस आगमनको अर्थ

रोबर्टो कार्लोस विश्वक फुटबलकै एक उत्कृष्ट डिफेण्डर हुन् । उनले विश्वकै उत्कृष्ट टिम ब्राजिल र स्पानिस जायन्ट रियल मड्रिड जस्ता टिमबाट खेले । उनले फुटबल इतिहासकै उत्कृष्ट लेफ्ट ब्याकको रुपमा चिनिन्छ । लेफ्ट ब्याक भएनपि उनी अट्याकिङ गर्दै अघि बढेर पावरफुल सटमा गोल हान्न माहिर थिए भने फ्रिकिक त उनको ट्रेडमार्क शैली नै थियो ।

एल होम्ब्रे बाला अर्थात ‘दी बुलेट म्यान’ उनको उपनाम हो । उनको पावरफुल बेन्टिङ सट र फ्रिकिकका लागि यो उपनाम दिइएको थियो । उनले सन् २००२ मा ब्राजिलबाट फिफा विश्वकप समेत जितेका थिए । विश्वकप जितेका ठूला नाम नेपाल आउँदा यसले नेपाली फुटबलमा राम्रो सन्देश जाने आयोजकको विश्वास छ ।

आयो एनएइएमले रोबर्टो कार्लोसको नेपाल भ्रमणलाई नेपाली फुटबलका लागि ऐतिहासिक अवसर हुने जनाएको छ । जसले नेपाली समर्थकहरूलाई एक अन्तर्राष्ट्रिय फुटबलका लेजेण्डसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्ने मौका प्रदान गर्ने एनएसएल आयोजक एनएसइएमले जनाएको छ ।

यस्तै उनको आगमनले एनएसएलको प्रतिष्ठा पनि बढ्ने आयोजकको दावी छ । ‘फुटबल इतिहासका एक महान खेलाडीलाई नेपाल स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौं’, नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक श्रेयन्स कार्कीले भनेका छन् । ‘उहाँको आगमनले लिगको प्रतिष्ठा अझ बढाउनेछ र सम्पूर्ण नेपाली फुटबल समुदायका लागि यो प्रेरणादायी क्षण हुनेछ ।’

सन् ११९० र २००० हजारको दशकमा ब्राजिलका लागि खेलेका रोबर्टो कार्लोस नेपाली आउँदा यहाँ रहेका ब्राजिलियन फुटबल समर्थकहरुका लागि त्यो नोस्टालजिया क्षणको अवसर हुनेछ ।

रोबर्टो कार्लोसको आगमन एनएसएलको बढ्दो अन्तर्राष्ट्रिय पहिचान र यस क्षेत्रको फुटबल विकासप्रतिको प्रतिबद्धताको प्रमाण रहेको समेत एनएसइएमले जनाएको छ ।

त्यो फ्रिकिक गोल

रोबर्टो कार्लोसको नाम आउने बित्तिकै त्यो फ्रिकिक गोल सँगै जोडिएर आउनेछ । उनले सन् १९९७ जुन ३ मा फ्रान्स विरुद्ध ‘बनाना सट’ गोल गरेका थिए ।

टुर्ने डे फ्रान्सको पहिलो खेलमा ब्राजिल र फ्रान्सबीच प्रतिस्पर्धा भएको थियो । त्यसमा रोबर्टो कार्लोसले ४० यार्डबाट फ्रिकिकमा गोल गरे ।

त्यो सामान्य गोल थिएन । उनले हानेको बल बेन्ड हुँदै गोल पोष्टमा पुगेको थियो । त्यो बलले यस्तो दिशा परिवर्तन गरेको थियो कि कर्ल भएको थियो । दायाँ साइडमा १० यार्ड टाढा बसेका बल व्याएले सुरुमा त्यो बलले आफूले हिट गर्ने सोचेका थिए तर बल कर्ल भएर पोष्टमै पुग्यो ।

त्यसबेला फ्रान्सका गोलकिर फाबियन बार्थेज पनि अचम्ममा परेका थिए बल कसरी आयो भनेर । त्यस खेलमा रोबर्टो कार्लोसको गोलमा ब्राजिलले पहिल अग्रता लिएको थियो तर पछि खेल खेल १-१ को बराबरीमा सकिएको थियो ।

रोबर्टो कार्लोसले आफ्नो फुटबल करियरमा यसरी धेरै फ्रिकिक गोल गरेका छन् । उनले करियरको अधकांश समय स्पानिस जायन्ट रियल मड्रिडबाट खेलेकोले मड्रिडको जर्सीमा त्यस्ता गोलहरु धेरै छन् ।

उनले ब्राजिलका लागि १० गोल समेत गरेका छन् । रोबर्टो कार्लोसले १९९२ देखि २००६ सम्म राष्ट्रिय टिमबाट खेलेका थिए । यस बिचमा उनकै एक मात्र गोलमा सन् २००३ जमैका विरुद्ध ब्राजिलले १-० को जित हात पारेको थियो ।

उनले सन् १९९६ मा ब्राजिल यू२३ टिमका लागि ६ खेल मसेत खेलेका थिए । उनले तीन पटक ब्राजिलबाट विश्वकप खेलेका छन् जसमा २००२ मा विश्वकप नै जिते ।

उनले आफ्नो अन्तिम विश्वकप २००६ मा क्वाटरफाइनलमा फ्रान्ससँग पराजित भएपछि राष्ट्रिय टिमबाट सन्यास घोषणा गरेका थिए ।

रोबर्टो कार्लोसको करियर

रोबर्टो कार्लोसले १५ वर्षको उमेरमा सन १९८८ मा युनिया साओ जाओबाट युथ करियर सुरु गरेका थिए । उनले सन् १९१ देखि १९९३ सम्म त्यही क्लमा सिनियर करियर पनि सुरु गरे ।

१९९३ उनी ब्राजिलकै अर्को क्लब पाल्मेरिस पुगे । सन् १९९५ मा उनी इटालियन क्लब इन्टर मिलानमा अनुबन्ध भए । त्यसपछि उनको युरोपमा यात्रा सुरु भयो । इन्टरमा उनले ३० खेल खेल्दै ५ गोल समेत गरे । त्यसपछि उनी सन् १९९६ मा स्पानिस जायनट रियलमा अनुबन्ध भए ।

सन् २००७ सम्म रियलमा बिताएका उनले ३७२ खेल खेल्दै ४८ गोल समेत गरे । त्यसपछि उनले टर्किस क्लब फेनेरबाचेमा खेले । सन् २०१० मा ब्राजिलियन क्लब कोरियनथिएन्स फर्किए । १५ वर्ष युरोपमा बिताएपछि उनी आफ्नै देशको क्लब फर्किएका थिए ।

सन् २०११ मा उनले रसियन क्लब अन्झी माखाच्कलामा अनुबन्ध भए । २०१२ सम्म खेलेपछि त्यही क्लबको प्रशिक्षक बने । उनको प्रशिक्षण करियर पनि अघि बढ्यो । उनी सन् २०१३-१४ मा सिभासपोरको प्रशिक्षक रहेका उनी २०१५ मा अखिसार्सपोरको प्रशिक्षक बने । दुवै टर्किस क्लब थिए ।

रोबर्टो कार्लोस सन् २०१६ मा इन्डियन सुपर लिग (आइएसएल) खेल्न भारत समेत आएका थिए । सन् २०१५-१६ सिजन उनी दिल्ली डाइनामोसको खेलाडी र प्रशिक्षकको भूमिकामा थिए । उनले खेलाडीको रुपमा ३ खेल समेत खेले । उनले सुरुमा फरवार्ड रुपमा खेल्न थालेका थिए ।

सन् २००६ मा न्युयोर्क टाइम्सका जोन कार्लिनले रोबर्टो कार्लोसलाई ‘मस्ट अफेनसिभ माइन्डेड लेफ्ट ब्याक इन दी हिस्टोरी अफ दि गेम’ भनेका थिए ।

नेपाल सुपर लिग २०२५ रोबर्टो कार्लोस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय