४ वैशाख, काठमाडौं । दक्षिण कोरियाको इन्चोन सिटीमा जुलाई १९ देखि ३० सम्म हुने २० औं एसियन रोलर स्केटिङ प्रतियोगिताको लागि नेपाली महिला राष्ट्रिय रोलर डार्बी टिमले भारतमा तयारी गर्ने भएको छ ।
नेपाली टोलीले भारतको पन्जाबमा यही अप्रिल १८ देखि २८ सम्म १० दिन बन्द प्रशिक्षणमा तयारी गर्ने नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युल खनालले जानकारी दिए ।
नेपाली टोली आजै भारत प्रस्थान गर्दैछ ।
टोलीमा विकास लामा अफिसियल, दिलिपराज बराल प्रशिक्षक र सञ्जु श्रेष्ठ व्यवस्थापक छन् भने खेलाडीहरु कृपा पन्त, प्रिसिका बोहरा, सिवानी रेग्मी, प्रसुन लामा, आयश्मा ठकुरी, निमिसा तामाङ, पासाङ यांग्जी शेर्पा र योगिना श्रेष्ठ छन् ।
खेलाडीसहित ११ सदस्यीय नेपाली टोलीलाई राखेप सदस्यसचिव टंकलाल घिसिङ, बोर्ड सदस्य कमलप्रसाद भट्टराई र नेपाल स्केट तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले बिदाइ गरेका थिए ।
विगत ६ महिना देखि नेपालमा तयारी गरिराखेको नेपाली महिला रोल्लर डार्बी टिम थप तयारीको लागि भारत गएको संघका महासचिव सत्य थापाले जानकारी दिए । नेपाली महिला रोलर टोलीलाई यति एयरलाइन्सले सहप्रायोजन गरेको छ ।
नेपालमा रोल्लर स्केटिङ खेल निकै सम्भावना बोकेको खेल भएकाले यसलाई एसियन च्याम्पियनसिपमा रोल्लर डार्बी टिमले नेपाललाई मेडल दिलाउन सक्ने गरेर तयारी गरिरहेको रोल्लर डार्बीका प्रमुख प्रशिक्षक दिलिप राज बरालले जानकारी दिए ।
प्रतिक्रिया 4