
४ वैशाख, धनगढी । कैलालीको गोदावरी नगरपालिका–१ को अत्तरियामा मृत भेटिएका ३५ वर्षीय जगदीश कैनीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
२७ चैतमा दुर्गा मन्दिर पछाडि मृत भेटिएका डडेल्धुराका अमरगढी नगरपालिका–७ का कैनीको हत्या अभियोगमा बैतडीको डिलासैनी गाउँपालिका–३ का ३५ वर्षीय हेमन्तबहादुर बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ परेका बोहरालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । बिहीबार दिउँसो इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै इप्रका मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले कैनीको हत्यामा संलग्न रहेको पाइएपछि बोहरालाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार बोहरालाई गोदावरी नगरपालिका–१ को दुर्गा मन्दिर क्षेत्रबाट पक्राउ गरिएको थियो ।
बोहराले कैनीको हत्या गरेको स्वीकार गरेका छन् । उनी सशस्त्र प्रहरीको जागिर छाडेर आएका व्यक्ति हुन् भने केही समयदेखि अत्तरिया र धनगढीका विभिन्न होटलमा काम गर्ने तथा सडकपेटीमै सुत्ने गरेको पाइएको प्रहरीले जनाएको छ । डडेल्धुरा स्थायी घर भएका मृतक कैनी पनि केही समयदेखि दुर्गा मन्दिरमा बस्दै आएका थिए ।
यो घटनामा अनुसन्धानका लागि प्रहरीले अन्य तीन जनालाई पनि पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका उनीहरूको संलग्नता पुष्टि नभएपछि प्रहरीले प्रक्रिया पुर्याएर छाड्ने तयारी गरेको छ ।
गोदावरी नगरपालिका–१ को दुर्गा मन्दिरको दक्षिणतर्फको जमिनमा २७ चैतको बिहान हत्या गरेको अवस्थामा पहिचान नखुलेको शव भेटिएको थियो । अनुसन्धानका क्रममा ३० चैतमा मात्र शव डडेल्धुराको अमरगढी नगरपालिका–७ को पोखराका ३५ वर्षीय जगदीश कैनीको भएको खुलेको थियो ।
घरपरिवारदेखि टाढा रहेका कैनी केही समयदेखि अत्तरिया क्षेत्रमा डुल्ने तथा मागेर खाने गर्थे र दुर्गा मन्दिरमा बस्दै आएका थिए । प्रारम्भीक अनुसन्धानका क्रममा प्रहरीले कैनीको टाउकोमा गरुङ्गो वस्तुले हिर्काएर हत्या गरेको निष्कर्ष निकाले पनि कसले हत्या गरेको हो भन्ने पत्ता लगाउन सकेको थिएन ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाको नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको थियो । त्यसलाई सघाउन प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलाली र प्रदेश प्रहरी के–९ शाखाबाट तालिम प्राप्त कुकुरसहितको टोली खटिएको थियो ।
कैनी सडकपेटीमा बस्दै आएका व्यक्ति भएको थाहा पाएपछि अत्तरिया क्षेत्रमा माग्दै हिड्ने व्यक्तिहरूको पहिचान गर्नमा प्रहरीकेन्द्रित भयो । सो क्रममा सडकमै माग्दै हिड्ने तीनजनालाई पक्राउ गरेको थियो । तीनमध्ये दुईजना पूर्वमाओवादी लडाकु थिए । लामा थर भएका एक पुरुषले आफैंले कैनीको हत्या गरेको बयान प्रहरीलाई दिएका थिए ।
कैनीले आफ्नी श्रीमतीलाई जिस्काउने र शारीरिक रूपमा अपाङ्ता भनेर आफूलाई होच्याउने गरेकाले टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेको बयान दिए पनि सबुत प्रमाणसँग मिलिरहेको थिएन । त्यही बेला उनीहरुसँगै सडक पेटीमा बस्दै आएका एक जना घटना भएको दिनदेखि अत्तरिया क्षेत्र नदेखिएको खुल्यो ।
त्यसपछि प्रहरी घटनास्थल आसपासका सीसीटीभी फुटेज संकलन गरेर विश्लेषणमा जुट्यो । सोही आधारमा प्रहरीले खोजतलास गर्दा बुधबार घटनास्थलनजिकै बसिरहेको अवस्थामा बैतडीको डिलासैनीका हेमन्त बोहरालाई पक्राउ गरेको थियो । त्यसपछि बयानको क्रममा उनले नै हत्या स्वीकार गरे ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी थापाकाअनुसार सीसीटीभी फुटेजमा बोहरा २६ चैतको साँझ ७ बजेर १३ मिनेटमा मन्दिरभित्र प्रवेश गरेको देखियो । ८ बजेर ५५ मिनेटमा मन्दिर प्रवेश गरेका कैनी बाहिर निस्किएको देखिएन ।
बोहरा भने सोही राति ९ बजेर ८ मिनेटमा मन्दिर बाहिर आएर मदिरा खरिद गरेर ९ बजेर १३ मिनेटमा पुनः मन्दिरभित्र प्रवेश गरेको सीसीटीभी फुटेजबाट भेटियो ।
प्रहरीका अनुसार मदिरा पिएर सुतेका बोहरा राति २ बजे बिउँझिएका थिए । उनले आफ्नो छेउमा कैनी सुतिरहेको देखे । सुतेको बेला खल्तीको पैसा र झोला हराएकोले कैनीले नै चोरेको शंका गरे । र, सुतिरहेका कैनीकाे टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरे ।
बोहराको बयान उल्लेख गर्दै प्रहरी भन्छ, ‘हत्यापछि बोहराले कैदीको शव घिसार्दै मन्दिरको दक्षिणतर्फ फालेर भागे ।’
त्यसपछि अत्तरियाबाट भागेका कैनी धनगढीको चौलानी होटलमा पुगेर २७ चैतदेखि काम गरेका थिए । बुधबार घर जान भन्दै होटलका मालिकसँग दुई हजार रुपैयाँ मागेर विदामा निस्किएका थिए । तर, घर नगएर उनी अत्तरियाकै दुर्गा मन्दिरमा गएका थिए । त्यही क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बोहरा सशस्त्र प्रहरीका पूर्व जवान हुन् । उनले ८ वर्ष सशस्त्र प्रहरीमा सेवा गरेका थिए । डीएसपी थापाले बोहराविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।
प्रतिक्रिया 4