+

ठूला अस्पतालको भीड घटाउन जीपी डाक्टरलाई ‘गेटकिपर’का रुपमा प्रयोग गर्नुपर्छ

२०८२ वैशाख  ५ गते १२:३० २०८२ वैशाख ५ गते १२:३०
Shares
ठूला अस्पतालको भीड घटाउन जीपी डाक्टरलाई ‘गेटकिपर’का रुपमा प्रयोग गर्नुपर्छ

राजधानी काठमाडौं र विभिन्न शहरमा रहेका ठूला सरकारी अस्पतालमा सेवाग्राहीको व्यापक भीड हुने समस्या नयाँ होइन् । त्यहाँ सामान्य जाँच गराउन पनि लामै पालो कुर्नुपर्छ । कुनै ठूलो जाँच गर्नुपर्दा वा कतिपय अप्रेसनका लागि पालो पाउन निकै कठिन छ ।

अहिलेका स्वास्थ्य मन्त्रीले पदबहाली गर्नेबित्तिकै घोषणा गर्नुभएको थियो-एक महिनाभित्र संघीय अस्पतालमा लाइन हटाउने भनेर। उहाँ मन्त्री भएको एक वर्षै पुग्न लाग्यो । संघीय अस्पतालका लाइन त खासै घटेको देखिँदैन ।

उहाँले प्रयास नै नगर्नुभएको त होइन होला ? अहिलेकै तरिकाले यही प्रणाली कायम राखेर ठूला सरकारी अस्पतालमा लाग्ने भीड नियन्त्रण गर्न गाह्रो छ ।

सामान्य स्वास्थ्य समस्या भएका देखि जटिल प्रकारका बिरामीसम्म एउटै अस्पतालमा सेवा लिन पुगिरहेका हुन्छन् ।

सामान्य खालका बिरामीलाई तल्ला तहकै अस्पतालमा कसरी रोक्ने भन्नेमा योजनामा सरकारले खासै ध्यान दिएको देखिँदैन ।

आधारभूत अस्पताल, जिल्ला अस्पतालहरूमा एमडीजीपी चिकित्सकको दरबन्दी कायम गरी सामान्य एवं आधारभूत उपचार सेवा त्यहीँ पाउने वातावरण बनाउन आवश्यक छ ।

यसो गर्न सकियो भने बिरामीका धेरैजसो स्वास्थ्य समस्या त्यहीँ हल हुन्छ । जटिल प्रकारका उपचारका लागि मात्रै ठूला अस्पतालमा रिफर गर्ने प्रणाली बनाउनुपर्छ ।

शहरी क्षेत्रमा अहिले वडा–वडामा वडास्तरीय नगर स्वास्थ्य क्लिनिकहरू खोलिएका छन् । विभिन्न पालिकामा आधारभूत अस्पतालहरू सञ्चालन भएका छन् । त्यहाँ कुनै एमडीजीपी चिकित्सकको दरबन्दी छैन । कुनै-कुनै नगर अस्पतालहरूमा एमडीजीपीको दरबन्दी राखिएको छ तर त्यो पर्याप्त छैन ।

खासगरी यो महानगरीय क्षेत्रमा वडा-वडामा एमडीजीपी डाक्टरको दरबन्दी सिर्जना गरेर सेवा दिने व्यवस्था गर्न सकियो भने ठूला अस्पतालको धेरै भीड नियन्त्रण हुन्छ । गाउँ क्षेत्रका पनि पालिकास्तरीय अस्पताल निर्माण गरेर त्यसमा एमडीजीपी चिकित्सकको दरबन्दी सिर्जना गर्ने, आवश्यक उपकरणको व्यवस्था गर्ने गर्न सक्यो भने धेरैले त्यहीँ सेवा पाउछन् । ठूला अस्पतालमा लाग्ने भीड कम हुन्छ ।

शहरी क्षेत्रमा पनि प्रत्येक वडामा अथवा र पालिकास्तरीय अस्पताल एमडीजीपी चिकित्सकको नेतृत्वमा सञ्चालनमा ल्याउनुपर्छ । यसो हुँदा कसैलाई कुनै समस्या भयो भने सुरुमा ती अस्पतालमा जाने व्यवस्था हुनुपर्छ । धेरैजसो समस्या त त्यहीँ समाधान हुन्छन् । त्यहाँ नभएका अटिल उपचार गर्नुपर्‍यो वा अप्रेसन गर्नुपर्‍यो भने मात्रै ठूला अस्पतालमा रिफर गर्ने गर्न सक्यो भने ठूलो अस्पतालहरू अहिले देखिएको भीड आधा कम हुन्छ ।

टिचिङ अस्पताल(त्रिवि शिक्षण अस्पताल) कै उदाहरण दिउँ, नेपालको प्रत्यके कुना–कुनाबाट मान्छेहरू उपचारका लागि सिधै टिचिङ अस्पताल आउँछन् । सामान्य खालका समस्या लिएर पनि बिरामीहरु यहाँ आउछन् । त्यसमा त्यही क्षेत्रमा एमडीजीपी डाक्टरले हेर्ने व्यवस्था भएको खण्डमा ती बिरामीहरु ठूला अस्पतालमा आउनै पर्दैन। धेरै स्वास्थ्य समस्याहरू स्थानीय स्तरमै समाधान हुन्छ ।

भीड पनि नियन्त्रण हुन्छ । साँच्चिकै विशिष्ट खालका सेवा आवश्यक हुने बिरामीले सहजै उपचार पाउन पनि सक्छन् ।

केही वर्ष अघि धेरै आधारभूत अस्पताल शिलान्यास भएको कुरा हामीले २–४ वर्षअघि सुनेकै कुरा हो ।  नेपालको प्रवृत्ति कस्तो छ भने, ‘भवन बनेपछि अस्पताल बन्यो भन्ने बुझाइ छ । तर एउटा अस्पताल हुनका लागि अन्य धेरै कुरा चाहिन्छ । त्यहाँका लागि आवश्यक चिकित्सक, नर्स, पारामेडिक, ल्याब टेक्निसियन लगायतको दरबन्दी हुनुपर्‍यो। उपकरणहरू चाहियो । प्रयोगशाला हुनुपर्‍यो ।

यो विषयमा स्वास्थ्य बीमाको कुरा पनि जोडिएको हुन्छ । नेपालको स्वास्थ्य बीमा दिगो र प्रभावकारी हुन पनि आधारभूत अस्पतालमा एमडीजीपी चिकित्सकको व्यवस्था हुनैपर्छ । नत्र अहिले सेवा केही छैन खाली आधारभूत अस्पतालहरूले बीमाका लागि ठूला अस्पतालमा रिफर मात्रै गरिरहेका हुन्छन् ।

बीमालाई प्रभावकारी बनाउन, वडा, पालिकास्तरमा तथा जिल्लामा एमडीजीपी चिकित्सकको दरबन्दी बढाएर त्यहीँ नै सेवा दिने व्यवस्था गर्नुपर्छ । नत्र स्वास्थ्य बीमाको सेवा लिन गाउँमा रहेको व्यक्तिलाई शहर तथा राजधानीमै पुग्नुपर्दा उपचार खर्चिलो हुने, त्यसबाट लाभ लनि कठिन हुने अवस्था छ ।

के हो त एमडीजीपी ?

एमडीजीपी अर्थात जनरल प्राक्टिसनरले सबै खालको रोगको प्रारम्भिक जाँच गर्ने र उपचार गर्ने विशेषज्ञता हासिल गरेको हुन्छ । चिकित्सा विषयमा नेपालको पहिलो स्नातकोत्तर अर्थात डिग्री भनेकै एमडीजीपी हो । नेपालमा सन् १९८२ मा अध्यापन सुरु भएको थियो । त्यो समय नेपालमा विशेषज्ञ चिकित्सक थिएनन् ।

सामान्य बच्चादेखि वृद्धसम्म र एउटै व्यक्तिले गाउँदेखि शहरसम्म उपचार सेवा दिन सक्ने खालको चिकित्सक कसरी तयार गर्ने भन्ने अवधारणा अघि सारियो ।

त्यो आवश्यकता एमडीजीपी चिकित्सकले पूरा गर्न सक्थ्यो । अनि क्यानडाको क्यालगरी युनिभर्सिटीसँगको साझेदारीमा नेपालको चिकित्सा शास्त्र अध्ययन संस्थानमा सन १९८२ बाट एमडीजीपीको अध्यापन सुरु भयो ।

नेपालमा अहिले एमडीजीपी चिकित्सक करिब ६०० को हाराहारीमा छन् । यसमा पनि ४०–५० जना विदेशमा हुनुहुन्छ । नेपालमा ५०० भन्दा केही बढीको संख्यामा कार्यरत छन्।

यो संख्याका आधारमा एमडीजीपी चिकित्सकलाई प्रत्येक वडा तथा पालिकामा पठाउन सम्भव छैन । एमडीजीपी चिकित्सकको पीजी सिट बढाउन आवश्यक छ । धेरै संख्यामा जनशक्ति उत्पादन गरेर उहाँहरुलाई गेटकिपरका रुपमा डाक्टर राख्न आवश्यक छ ।

यसो हुँदा ठूला अस्पतालमा बिरामीको भीड कम हुन्छ । स्वास्थ्य बीमा पनि प्रभावकारी हुन्छ । सरकारको खर्च पनि जोगिन्छ । धेरै चिकित्सकले देशमा रोजगारी पनि पाउँछन् ।

एमडीजीपी चिकित्सकलाई बेलायत, क्यानडा र अष्ट्रेलियामा जीपी अर्थात ‘जनरल प्राक्टिसनर’ भनिन्छ भने अमेरिकामा ‘फेमिली फिजिसियन’ भनिन्छ।

विकसित मुलुकहरूमा इमर्जेन्सी केसबाहेक जीपी वा फेमिली फिजिसियनलाई पहिले नभेटिकन अरू चिकित्सककहाँ पुग्दैनन् ।  हाम्रोमा  ठिक ऊल्टो छ।

नेपालमा सामान्य टाउको दुख्दा पनी बिरामीहरू न्युरो सर्जन वा न्युरोलोजिस्ट कहाँ सिधै गएका हुन्छन्। करिब ७५ प्रतिशत टाउको दुखाइ माइग्रेन, तनाव, पिनास आदिले गराउँछन्। यी समस्याहरू एमडीजीपी फिजिसियनले सहजै उपचार गर्न सक्छन्।

यदि टाउको दुखाइको जटिल कारण-ट्युमर, रक्तश्राव, मेनिनजाइटिस हुनसक्ने सम्भावना देखिएमा एमडीजीपी चिकित्सकले  ढिलो नगरिकन सुविधासम्पन्न अस्पतालमा पठाउछन्।

यसो गर्दा बिरामीको समय र पैसा दुवै वचत हुनसक्छ। यसो भनिरहँदा यदि बिरामीले आफ्नो टाउको दुखाइ असामान्य ठानेमा सिधै इमर्जेन्सीमा जानुपर्छ ।

अस्पताल उपचार एमडीजीपी डाक्टर
डा. पुष्प मणि खराल
लेखक
डा. पुष्प मणि खराल
जनरल प्राक्टिसनर

डा.पुष्प मणि खराल एमडीजीपी चिकित्सक हुन् । खराल प्राथमिक चिकित्सा तथा आकस्मिक चिकित्सा एसोसिएसन अफ नेपालका अध्यक्ष समेत रहेका छन् । उनको नेपाल मेडिकल काउन्सिल नम्बर २७३८ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

ठूला अस्पतालको भीड घटाउन जीपी डाक्टरलाई ‘गेटकिपर’का रुपमा प्रयोग गर्नुपर्छ

ठूला अस्पतालको भीड घटाउन जीपी डाक्टरलाई ‘गेटकिपर’का रुपमा प्रयोग गर्नुपर्छ

कान नसुन्नेका लागि ‘कक्लियर इम्प्लान्ट’ राख्ने अप्रेसन अब वीर अस्पतालमै

कान नसुन्नेका लागि ‘कक्लियर इम्प्लान्ट’ राख्ने अप्रेसन अब वीर अस्पतालमै

डोल्पाकी ती सानी छोरीको निःशब्द आग्रह, ‘डाक्टर मलाई बचाउनु ल’

डोल्पाकी ती सानी छोरीको निःशब्द आग्रह, ‘डाक्टर मलाई बचाउनु ल’

प्रतिरक्षा प्रणाली के हो, कसरी रोगबाट बचाउँछ ?

प्रतिरक्षा प्रणाली के हो, कसरी रोगबाट बचाउँछ ?

आयोडिनयुक्त नुन सम्बन्धी ऐन बनेको २७ वर्षपछि कार्यान्वयन हुँदै

आयोडिनयुक्त नुन सम्बन्धी ऐन बनेको २७ वर्षपछि कार्यान्वयन हुँदै

नागरिकको ‘युनिक हेल्थ आइडी’ निर्माणका लागि स्वास्थ्य मन्त्रीले गठन गरे सुझाव समिति

नागरिकको ‘युनिक हेल्थ आइडी’ निर्माणका लागि स्वास्थ्य मन्त्रीले गठन गरे सुझाव समिति