+
+
Shares

एक महिनाअघि नै कारागार मुक्त भएका थिए रामबहादुर बम्जन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ४ गते १६:५३

४ वैशाख, काठमाडौ । बाल यौन दुरुपयोगको कसुरमा सफाइ पाएका रामबहादुर बम्जन एक महिनाअघि नै कारागार मुक्त भएको पाइएको छ ।

६ चैतमा उच्च अदालत जनकपुरले बम्जनलाई सफाइ दिएपछि उनी ७ चैतको बिहान कारागार मुक्त भएको पाइएको हो ।

उच्च अदालत जनकपुरले सफाइ दिएका बेला उनी सिन्धुपाल्चोक कारागारमा थिए । करिब ८ महिनाअघि नै महोत्तरीको जलेश्वर कारागारबाट बम्जनलाई सिन्धुपाल्चोकको कारागार पठाइएको जलेश्वर कारागारका सूचना अधिकारी रवीन ठाकुर बताउँछन् ।

सिन्धुपाल्चोक कारागारमै रहेका बेला ६ चैतमा उच्च अदालत जनकपुरका न्यायाधीशद्धय नरिश्वर भण्डारी र खेम राज भट्टको इजलासले सफाइ दिएको थियो । त्यसको भोलिपल्ट नै बम्जनकी श्रीमती अदालतको फैसलाको आदेश बोकेर कारागार आएपछि ७ चैतको बिहान उनलाई छाडिएको सिन्धुपाल्चोक कारागारका निमित्त प्रशासक निरजराम दमाईंले अनलाइनखबरलाई बताए ।

रामबहादुरसँगै बाल यौन दूराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनले पनि सफाइ पाएका थिए ।

यसअघि जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । यसविरुद्ध उनी उच्च अदालत पुगेका थिए ।

बम्जनविरुद्ध सिन्धुपाल्चोकमा पनि मुद्दा थियो । सिन्धुपाल्चोकमा उनीविरुद्ध व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता थियो । जहाँ बम्जनका भिक्षु फुलमाया रुम्बालाई बेपत्ता पारिएको आरोप थियो ।

यो अभियोगमा उनी सुरुमा ३ लाख रुपैयाँ धरौटी माग गरिएको थियो । पछि फैसलामा २५ कात्तिकमा न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले सफाइ दिएको थियो ।

सिन्धुपाल्चोककै आश्रमबाट अर्का एक अनुयायी पनि वेपत्ता पारेको आरोप बम्जनमाथि छ । तर उक्त मुद्दा भने अदालतमा दर्ता भइसकेको छैन । अदालतमा मुद्दा हुँदा पनि बम्जन लामो समयसम्म फरार हुँदै आएका थिए । २४ पुस २०८० मा सीआईबीले बुढानिलकण्ठबाट बम्जनलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?