
४ वैशाख, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको बुधबार आगलागी भएको ढल्केबर सबस्टेसन अध्ययन, निरीक्षण तथा विद्युत् अवरोध समस्या तुरुन्त समाधान गर्न कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित उच्चस्तरीय टोली बिहीबार त्यहाँ पुगेको छ ।
अचानक आएको प्राविधिक समस्या, त्यस क्षेत्रको विद्यमान् लोड (माग र आपूर्ति) को अवस्था तथा यस्ता समस्याको दिगो समाधान गर्ने उद्देश्य सहित टोली त्यहाँ पुगेको हो ।
वर्षौंदेखि प्राधिकरण अन्तर्गतका प्रशारण तथा वितरण पूर्वाधार संरचना मर्मत–सम्भार (काम चलाउ) अवस्थामा सञ्चालन गरिँदै आएको छ ।
दिगो र भरपर्दो विद्युत् आपूर्ति गर्न पूर्वाधार संरचना मर्मत–सम्भार, नयाँ जडान लगायत काम गर्ने र भविष्यमा यस्ता खालका दुर्घटना घट्न नदिने गरी अगाडि बढ्ने योजनासाथ यसको अध्ययन गरिने भएको छ ।
ढल्केबर देशकै ठूलो सबस्टेसन हो । त्यहाँ ४०० केभीदेखि ११ केभी (४००/२२०/१३२/३३/११ केभी) सम्मका अलग–अलग सबस्टेसन छन् ।
बुधबार सबस्टेसनको १३२/३३/११ केभी खण्डमा मात्र समस्या आएको थियोे । सबस्टेसनको पूरै खण्डमा कुनै समस्या नआएको ढल्केबर ग्रिड महाशाखा प्रमुख विनोद लोहनीले जानकारी दिए ।
निरीक्षण क्रममा कार्यकारी निर्देशक शाक्यले आगामी दिनमा यस्ता प्राविधिक समस्या दोहोरिन नदिन उच्च सतर्कता साथ काम गर्न तथा अतिसंवेदनशील सबस्टेसनमा ब्याकअप सप्लाई सहित व्यवस्था गर्ने गरी कार्ययोजना अगाडि बढाउन निर्देशन दिए ।
अवरुद्ध विद्युत् आपुर्ति व्यवस्था तत्काल सुचारु गर्ने गरी वैकल्पिक योजना सहित कार्य गर्न र विद्युत् अवरुद्धको सूचना संप्रेषण प्रभावकारी ढंगबाट दिई ग्राहकलाई भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्राधिकरण प्रतिबद्ध रहेको सन्देश समेत प्रवाह गर्न मधेस प्रदेश प्रादेशिक कार्यालय प्रमुख शम्भु कुसियत यादवलाई निर्देशन दिए ।
सबस्टेसनमा जडित करेन्ट ट्रान्सफर्मर (सीटी) पड्केर बुधबार बिहान करिब ७ः३० बजेदेखि धनुषाका जनकपुरधाम, यदुकुवा, धनुषाधाम, सखुवा, महोत्तरीका जलेश्वर, गौशाला, बर्दीवास, सिन्धुलीका भिमान लगायत क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या आएको थियो । लगत्तै वैकल्पिक व्यवस्था गरी अधिकांश स्थानमा बुधबारै विद्युत् आपूर्ति व्यवस्था मिलाइएको थियो ।
सबस्टेसनमा जडित ६३ एमभीए क्षमताका दुई पावर ट्रान्सफर्मरमा १८ भदौ २०८१ मा पनि समस्या आएको थियो । दुई वटा ट्रान्सफर्मरबाट करिब ९० एमभीए विद्युत् भार (लोड) आपूर्ति भइरहेकामा करिब ३ सातासम्म ३० एमभीएको लोड काटिएको थियो ।
त्यतिबेला प्रभावित क्षेत्रको आपूर्ति नियमित गर्न भारतको सुरसन्डबाट ३३ केभी प्रसारण लाइनबाट विद्युत् आयात गरिएको थियो ।
ढल्केबरस्थित ४०० केभी सबस्टेसन नै नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको एकमात्र संरचना हो । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मार्फत नेपालले हिउँदमा माग अनुसार आयात र बर्खामा विद्युत् निर्यात गर्दै आएको छ ।
प्रतिक्रिया 4