+

एनएसएल २०२५- यस्ता छन् प्लेअफ पुग्ने ४ टिम

२०८२ वैशाख  ४ गते २१:४९ २०८२ वैशाख ४ गते २१:४९

धनगढी एफसी र एफसी चितवनबीचको लिगको अन्तिम खेलपछि एनएसएलको प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लागेको छ भने प्लेअफको समीकरण पनि तय भएको छ ।

एनएसएल २०२५- यस्ता छन् प्लेअफ पुग्ने ४ टिम

४ चैत, काठमाडौं । धनगढी एफसी र एफसी चितवनबीचको लिगको अन्तिम खेलपछि एनएसएलको प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लागेको छ भने प्लेअफको समीकरण पनि तय भएको छ ।

साविक विजेता ललितपुर सिटी र साविक उपविजेता धनगढी एफसीसँगै पोखरा थण्डर्सले  प्लेअफमा स्थान बनाएका छन् ।

धनगढी र ललितपुर सिटी एफसी शीर्ष दुईमा रहँदै क्वालिफायर वान खेल्ने पक्का भएको छ । यस खेलको विजेता सीधै फाइनल पुग्नेछ । पराजित हुने टोलीले पनि क्वालिफायर टु खेल्ने अवसर पाउनेछ ।

पहिलो पटक प्लेअफ पुगेको एफसी चितवन र पोखराले वैशाख ७ गते एलिमिनेटर खेल्नेछ । यस खेलको विजेता क्वालिफायर टु मा प्रवेश गर्नेछ भने पराजित हुने टोली बाहिरिनेछ ।

एलिमिनेटरको विजेता र क्वालिफायर वानमा पराजित हुने टोलीबीच क्वालिफायर टु खेल वैशाख १० गते हुनेछ । फाइनल खेल वैशाख १३ गते हुनेछ ।

प्लेअफ पुग्ने टिम

ललितपुर सिटी एफसी

काठमाडौं रेजर्ससँग पहिलो खेलमा २-२ को बराबरी खेल्दै उपाधि रक्षा अभियान सुरु गरेको ललितपुरले लिग चरणमा अपराजित यात्रा कायमै राख्दै ३ खेल जित्दा ३ खेल बराबरी गरेको थियो ।

सुरुवाती ३ खेलमा १ जित र २ बराबरी खेलेको ललितपुरले पछिल्ला ३ खेलमा २ जित  र १ बराबरी नतिजा निकालेको थियो । ललितपुरले दोस्रो खेलमा पोखरालाई ३-२ ले पराजित गर्दै पहिलो जित हात पारेको थियो । तर, तेस्रो खेलमा धनगढी एफसीसँग गोलरहित बराबरीमा रोकियो ।

ललितपुर सिटी एफसी र एफसी चितवनबीच भएको खेल ।

चौथो खेलमा एफसी चितवनलाई २-१ ले पराजित गरेपछि ललितपुरले प्लेअफको सम्भावना बढाएको थियो भने पाँचौं खेलमा बुटवल लुम्बिनीलाई २-० ले हराएर ललितपुरले एक खेल अघि नै प्लेअफमा स्थान पक्का गरेको थियो ।

अन्य खेलको नतिजा आफू अनुकल बनाउँदा अन्तिम खेलअघि नै क्वालिफायर वान खेल्ने पक्का भएपछि ललितपुरले झापा एफसीविरुद्ध अन्तिम खेल बिना दबाब खेल्न पायो । अन्तिम खेल १-१ को बराबरीमा सकिएको थियो ।

धनगढी एफसी

साविक उपविजेता धनगढी एफसी लिगको अन्तिम खेलसम्म अपराजित थियो । तर अन्तिम खेलमा चितवनसँग पराजित भएपछि ५ खेलको अपराजित यात्रा ब्रेक लाग्यो ।

धनगढीले यस सिजन ३ खेल जित्दा २ खेल बराबरी खेल्यो भने १ खेलमा पराजित भयो ।

धनगढी पराजित भएपछि यस सिजन साविक विजेता ललितपुर सिटी एक्लो अपराजित टिमको रुपमा रहेको छ ।

काठमाडौं विरुद्ध सानदार ह्याट्रिक गरेपछि धनगढीका हिजाजी ।

पहिलो खेलमै बुटवल लुम्बिनीलाई ४-१ ले पराजित गर्दै सानदार सुरुवात गरेपछि धनगढीले त्यही रफ्तारमा खेल्छ भन्ने धेरैको अपेक्षा थियो । तर त्यसपछिका दुई खेलमा भने धनगढी बराबरीमा मा रोकिएको गोल समेत गर्न सकेन ।

ललितपुर सिटी र पोखरा थण्डर्ससँग गोलरहित बराबरीमा रोकिँदा धनगढीलाई केही दबाब परेको थियो । तर चौथो खेलमा काठमाडौं विरुद्ध ३-१ को जितपछि धनगढी फेरि ट्रयाकमा आयो । उक्त खेलमा एक गोलले पछि पर्दा समेत अहमद हिजाजीको सानदार ह्याट्रिकमा धनगढीले कमब्याक गर्दै जित निकाल्यो । त्यसपछि धनगढीले झापा एफसीलाई १-० ले हराउँदै प्लेअफमा स्थान पक्का गरेको हो ।

अन्तिम खेलमा धनगढीले दोस्रो रोजाईंको टिम मैदान उतार्दै सबै खेलाडीलाई अवसर दियो । यस्तोमा धनगढीले सुरुमै अग्रता समेत लिएको थियो । तर कायम राख्न सकेन र चितवनसँग ३-१ ले पराजित भयो ।

लिगमा लगातार ५ खेलमा अपराजित रहेको धनगढीको अपराजित यात्रा समेत टुङ्गिएको छ ।

एफसी चितवन

यस सिजन एफसी चितवनले राम्रो टिम निर्माण गर्दै पहिलो पटक प्लेअफ पुग्ने लक्ष्य राखेको थियो । त्यसमा टिमले सुरुवाती दुई खेल लगातार जित्दै उत्कृष्ट सुरुवात समेत गरेको थियो ।

तर तेस्रो खेलमा बराबरीमा रोकिएपछि लय गुमाएको चितवनले त्यसपछि लगाता दुई खेलमा हार व्यहोर्‍यो ।

पहिलो खेलमा पोखरा थण्डर्सलाई २-० ले पराजित गरेको चितवनले त्यसपछि बुटवल लुम्बिनीलाई १-० ले हरायो ।

तेस्रो खेलमा झापा एफसीविरुद्ध अग्रता लिएर जितनजिक पुगेको चितवन इन्जुरी टाइमा पेनाल्टीमा गोल खाएपछि अंक बाँड्न बाध्य भयो ।

चितवन एफसी र धनगढी एफसीसी बीचको खेल ।

त्यसपछि भने चितवनको नतिजा खराब रह्यो । चौथो खेलमा ललितपुर सिटीसँग २-१ ले पराजित भएको चितवन पाँचौं खेलमा काठमाडौं रेजर्ससँग २-० ले पराजित भयो ।

चितवनले पनि प्लेअफमा स्थान बनाउन आफ्नो अन्तिम खेलनै कुर्नुपर्‍यो ।

लिगका सबै खेलहरु भइसकेकोले पनि अन्तिम खेल भएकोले चितवनले धनगढीविरुद्ध जित वान बराबरीले मात्रै पनि प्लेअफमा स्थान बनाउने समीकरण बन्यो ।

अन्तिम खेलमा धनगढीले दोस्रो रोजाईंको टिम मैदान उतारेपछि चितवनको अवसर बनेको थियो । तर धनगढीले सुरुमै अग्रता लिए पनि चितवनले पुनरागमन गर्दै ३-१ को जित निकाल्दै पहिलो पटक प्लेअफमा स्थान पक्का गरेको हो ।

पोखरा थण्डर्स

यस सिजन खराब सुरुवात गर्न बाबजुत पनि पोखरा थण्डर्सले उत्कृष्ट पुनरागमन गर्दै प्लेअफ पुग्ने तेस्रो टिम बन्यो । सुरुवाती दुई खेलमा पराजित भएको पोखराले त्यसपछि चार खेलमा अपराजित रहँदै ८ अंक जोडेर प्लेअफमा स्थान बनाएको हो ।

पहिलो खेलमा एफसी चितवनसँग २-०  र दोस्रो खेलमा ललितपुर सिटीसँग ३-२ ले पराजित भएपछि पोखरा सुरुवातमै दबाबमा परेको थियो ।

तर, पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सलाई २-० ले हराएपछि पोखराले लय लियो । त्यसपछि साविक उपविजेता धनगढी एफसीसँग गोलरहित बराबरी खेलेको पोखराले झापा एफसीसँग १-१ को बराबरी खेल्दा प्लेअफ यात्रा केही कठिन बनेको थियो ।

पाेखरा थन्डर्स र बुटवल लुम्बिनीबीचकाे खेल ।

तर, अन्तिम खेलमा २-० ले पराजित गरेपछि पोखराले लगातार दोस्रो सिजन प्लेअफमा स्थान सुरक्षित गरेको हो ।

धनगढीका लागि यस सिजन अहमद हिजाजीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले यस सिजनको पहिलो ह्याट्रिकसहित ५ गोल गरिसकेका छन् । उनी ९ गोलसहित एनएसएल इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडीसमेत हुन् । एनएसएलको दोस्रो सिजन पनि धनगढीबाटै खेल्दा उनले ४ गोल गरेका थिए ।

एनएसएल २०२५ एफसी चितवन धनगढी एफसी पोखरा थण्डर्स ललितपुर सिटी एफसी

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय