
सगरमाथा सहित हिमाल आरोहणको सिजन शुरू भएको छ । व्यवस्थापन, आरोही र सहयोगीहरू पुग्ने क्रम शुरू भएको छ । आइसफल डाक्टरहरूले डोरी टाँग्ने काम गरिरहेका छन् । सरकारी एजेन्सी र स्थानीय तहका प्रतिनिधि समेत आधारशिविरमा पुगेर आफ्नो जिम्मेवारी बहन गरिरहेका छन् ।
खुम्बु पासाङल्हामु गाउँपालिकाले अघिल्लो वर्ष आधारशिविर व्यवस्थापन कार्यविधि २०८० कार्यान्वयनमा ल्याएको छ । यसका प्रावधान यस वर्ष पनि निरन्तर कार्यान्वयन हुन्छन् । सगरमाथामा रहेको फोहोरमैला व्यवस्थापनका लागि स्थानीय सरकारले गत वर्ष ड्रोन परीक्षण गरेको थियो ।
यस वर्ष पनि हामी यसलाई अझ प्रभावकारी रूपमा प्रयोगमा ल्याउँछौं । हिमाली सम्पदाको संरक्षण र दिगो उपयोगमा स्थानीय सरकारहरू गम्भीर रूपमा लागेका छन् । हिमाली पर्यटनका गतिविधिलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन हामी निरन्तर अनुगमन गरिरहेका छौं ।
सगरमाथा रहेको स्थानीय तह हुनुको नाताले हामीले रोयल्टीको सबैभन्दा ठूलो हिस्सा प्राप्त गरिरहेका छौं । यहाँ हुने हरेक गतिविधिको जस वा दोष हामीमाथि नै आउँछ । भूगोल विकट छ । असहज वातावरणमा पनि पर्यटकलाई सुरक्षित पदयात्रा तथा आरोहण व्यवस्थापनको काम गर्नुपर्ने हुन्छ । आधारभूत पूर्वाधार निर्माणमा धेरै लगानी गर्नुपर्ने अवस्था छ ।
तर, हिमालमा उठेको रोयल्टीको आधा हिस्सा संघीय सरकारले लैजान्छ । २५ प्रतिशत प्रदेशले लैजान्छ । बाँकी २५ प्रतिशत सम्बन्धित स्थानीय तहमा बाँडफाँट हुन्छ । स्थानीयस्तरमा पूर्वाधार नराम्रो हुँदा गाउँपालिकाले गाली खान्छ । पर्यटक असुरक्षित हुँदा त्यसको दोष स्थानीय तहले लिनुपर्छ ।
त्यसकारण रोयल्टीको हिस्सामा स्थानीय तहको बढी अधिकार हुनुपर्छ भन्ने माग हामीले गरिरहेका छौं । अहिले संविधान अनुसार पाएका कतिपय अधिकारको उपयोग गर्दा पनि संघीय निकायबाट अवरोध सिर्जना हुने र अवरोध हुने अवस्था छ । यो प्रवृत्तिमा सुधार हुनुपर्छ ।
सगरमाथा सहितका हिमालमा पेचिलो बन्दै गएको इस्यु फोहोरमैला हो । यसमा कडाइका साथ काम गर्न सकिएन भने भोलि धेरै हिमालमा समस्या बढ्दै जान्छ । सगरमाथामा मानव मलमूत्र फिर्ता ल्याउन गरिएका प्रयास यसकै लागि हो । हिमालका आधारशिविर सुरक्षित र सफा हुनुपर्छ । त्यसका लागि हामीले काम गरिरहेका छौं । अन्य सरोकारवाला निकाय पनि यसमा गम्भीर हुनुपर्छ ।
सगरमाथा हाम्रो गाउँपालिकामा हुनुको नाताले स्वाभाविक रूपमा स्थानीय रोजगारी सिर्जनामा यो हिमालको योगदान ठूलो छ । साथमा व्यापार व्यवसायमा पनि सहयोग गरेको छ । यसरी स्थानीय तहमा व्यवसाय फस्टाउँदा स्वाभाविक रूपमा स्थानीय सरकारको पनि आम्दानी बढ्छ । सो आम्दानी पुनः स्थानीय जनता, पर्यटक र व्यवसायीकै हितमा उपयोग हुन्छ ।
विकट स्थानमा विकास र पूर्वाधार निर्माणको काम जटिल छ । यो सबैले बुझिदिनुपर्छ । हामीलाई संघीय सरकारबाट अझ बढी सहयोग चाहिन्छ । ताकि हाम्रा सम्पदा संरक्षण गर्दै सुविधा र पूर्वाधार विस्तार गर्न सकौं । हिमालको इकोसिस्टम नबिगारी पूर्वाधार निर्माण र सुविधा विस्तार गर्नुपर्छ । हामीले आफ्नो स्रोतमा यस वर्ष सुर्केसम्म सडक ट्रयाक खोल्ने काम गरेका छौं ।
यो सडकलाई बाह्रैमास सञ्चालनयोग्य बनाउने हो भने खुम्बु क्षेत्रको पर्यटन सबै मौसममा चलायमान हुने अवस्था बन्थ्यो । स्थानीय, व्यवसायी र पर्यटकलाई पनि सहज हुनेथियो । हाम्रो पहल यो सडकको स्तरोन्नतिमा रहेको छ ।
अहिले हवाई मार्ग मात्रै खुम्बु क्षेत्रको विकल्प बनेको छ । जसले गर्दा यो क्षेत्रको पहुँच पनि महँगो भएको छ । साथमा प्रतिकूल मौसमले असर गर्ने गरेको छ । यो बाध्यता हटाउन स्तरीय सडक सुविधा उपयुक्त विकल्प हो । यसका लागि गाउँपालिकाले निरन्तर लबिङ गरिरहेको छ ।
हिमाली पर्यटनको विकास र निरन्तरताका लागि सरोकारवाला निकायबीच समन्वय उत्तिकै आवश्यक छ । हिमाल वा सम्पदा रहे मात्र लामो समय पर्यटन रहन्छ भन्ने कुरा सबैले मनन् गर्दै गतिविधि गर्ने हो भने यी सम्पदालाई जीवन्त राख्न सकिन्छ ।
(खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष शेर्पासँग अनलाइनखबरका लागि अच्युत पुरीले गरेको कुराकानीमा आधारित ।)
प्रतिक्रिया 4