+
+
Shares

‘हाम्रो क्षमता हिमाली पर्यटन हो, त्यसैमा केन्द्रित हुनुपर्छ’

चर्चित ब्रान्ड भएर पनि कोकाकोलाले मास मिडिया क्याम्पेन कम गरेको छैन । त्यसकारण प्रतिस्पर्धी पर्यटकीय बजारमा क्षमता जेमा हो, हामी त्यसमै केन्द्रित हुनुपर्छ । यस सम्बन्धमा नेपाल पर्यटन बोर्ड सहित सरोकारवालाले ध्यान दिनुपर्छ ।

मोहन लम्साल, महासचिव नेपाल पर्वतारोहण संघ मोहन लम्साल, महासचिव नेपाल पर्वतारोहण संघ
२०८२ वैशाख ५ गते २०:४७

नेपालमा व्यावसायिक पर्यटनको शुरुआत हिमाल र यससँग सम्बन्धित गतिविधिबाटै भएको हो । हिमाल आरोहणमा मानिसले गरेको प्रयास सफल हुनु र त्यसमा लागेका मानिसको अथक् मिहिनेत र प्रयास निरन्तर हुनुले आज पर्वतीय पर्यटन नेपाली पर्यटन उद्योगको मेरुदण्ड बन्न सफल भएको हो ।

हिमालको कुरा गर्दा सगरमाथा नेपालका लागि अमूल्य निधि हो । किनकि संसारभरका मानिस सगरमाथालाई चुम्न, पाइला टेक्न वा नजिकबाट नियाल्न लालायित छन् । यसका लागि लाखौं रकम खर्च गर्छन् र नेपाल आइपुग्छन् ।

सगरमाथाले स्थानीय र व्यवसायीलाई मात्रै लाभ दिएको छैन, यसको माध्यमबाट राज्यले पर्याप्त कर उठाउने गर्छ । प्रतिआरोही ११ हजार डलर रोयल्टी सगरमाथा आरोहीले सरकारलाई तिर्छन् । यो रकम आगामी सिजनबाट बढाउने तयारी छ । हिमाल आरोहणमा जाने सबैजसो पर्यटकसँग स्थानीय सरकार र राष्ट्रिय निकुन्जले प्रत्यक्ष कर/शुल्क उठाउँछन् । एकमुष्ट हिसाब गर्दा यो करोडौं रुपैयाँ हुन आउँछ ।

हिमाल आरोहण एक पर्यटकका माध्यमबाट धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र हो । कठिन भौगोलिक अवस्थितिका कारण पर्यटक एक्लै सो भेगमा जान सक्दैन । साथमा भरिया र गाइड अनिवार्य हुन्छ । पदयात्रामा जाने ठूल्ठूला समूह आउँदा एकसाथ सयौंले रोजगारी पाउने वातावरण बन्छ । नेपाल जस्ता मुलुकका लागि यो ठूलो अवसर हो ।

आरोहणको सिजनमा नेपाल सरकारले आफ्ना कर्मचारीलाई आरोहण दलसँगै सम्पर्क अधिकृतका रूपमा हिमालमा खटाउँछ । उनीहरूले यस मौकामा पर्याप्त आम्दानी गर्छन् । काठमाडौंका स्तरीय होटलदेखि पदयात्रा मार्गका स–साना टी–हाउसहरूले आम्दानी गर्ने माध्यम पर्वतीय पर्यटन हो । यसले हिमाली भेगमा उत्पादित वस्तुले सहजै बजार पाउने वातावरण बनाएको छ ।

केही मानिसहरू नेपाललाई सस्तो गन्तव्य मान्छन् । बजेट पर्यटकको संख्या पनि बढ्ने क्रममा छ । तर, नेपालको अर्थतन्त्रलाई बजेट पर्यटकको तुलनामा साहसिक पर्यटकको महत्व बढी छ । पर्वतीय पर्यटक जति बढाउन सकियो मुलुकले पाउने लाभ त्यति बढी हुन्छ । नेपाल खर्चालु पर्यटकको गन्तव्य बन्छ । यसका लागि हामीले अझै धेरै मिहिनेत गर्नुपर्नेछ ।

नेपालले विदेशमा गर्ने प्रवर्द्धनमा अझै पनि कमी देखिन्छ । नयाँ पुस्ता बीचमा आक्रामक बजारीकरण नगर्ने हो भने परम्परागत बजारहरूबाट निरन्तर पर्यटक भित्र्याउन कठिन हुन्छ । मास मिडिया क्याम्पेन र सामाजिक सञ्जालमा नेपाली हिमाल र सगरमाथाको अधिक प्रचारप्रसार गर्नुपर्छ

नेपालले आफ्नो क्षमता अनुसार अझै पनि पर्यटक आगमन बढाउन सकेको छैन । विद्यमान विमानस्थल र उडान संख्या, चर्को हवाई भाडाका बाबजुद आज नेपालमा वार्षिक ११/१२ लाख पर्यटक आइरहेका छन् । नेपाल भित्रन सहज वातावरण बनाउने हो भने हामीले दोब्बर संख्यामा पर्यटक भित्र्याउन सक्छौं । त्यसबेला पर्यटनको लाभ व्यवसायी मात्रै होइन, राज्यले नै पाउने हो । किनकि सबै व्यवसायी राज्यको राडार भित्र हुन्छन् । भ्याट होस् वा आयकर कुनै न कुनै माध्यमबाट राज्यले कर उठाएकै हुन्छ ।

आजको दिनमा पनि काठमाडौं र रामेछापबाट लुक्लाका लागि हुने नियमित उडान प्रभावित छ । हजारौं पर्यटक रामेछाप विमानस्थलमा अलपत्र छन् । हरेक वर्ष यही नियति दोहोरिने गरेको छ । पर्यटकीय सिजनमा पर्यटक र सहयोगीले नै सहजै टिकट नपाउने अवस्था छ । काठमाडौंबाट लुक्ला नजिकै सुर्केसम्म सडक यातायात पुर्‍याउन सकिने सम्भावना हुँदाहुँदै पनि सरकारको बेवास्ताले हेर्दा राज्य नै पर्वतीय पर्यटनको विकासमा गम्भीर हुन नसकेको भान हुन्छ ।

सुर्केभन्दा माथि सडक लैजानुहुँदैन भन्नेमा हामी सचेत छौं । किनकि सगरमाथा विश्व सम्पदा सूचीमा सूचीकृत छ । यसलाई दोहन हुने गरी कुनै पनि क्रियाकलाप हुनुहुँदैन । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले यसअघि सन् २०१२ तिरै काठमाडौं–सुर्के स्तरीय सडक निर्माण गर्न माग गरेको थियो ।

हामीले यो सडकलाई पर्यटन राजमार्ग नामकरण गर्न समेत सुझाव दिएका थियौं । यसले हिमाल आरोहणमा जाने पर्यटकको आकाश माथिको परनिर्भर कम हुन्थ्यो । पर्यटकीय गतिविधि अझ स्थानीयकरण भई धेरै जनताले यसको लाभ लिन सक्थे । अहिले सुर्केसम्म सडक खुलेको छ । यसलाई छिटो विस्तार गरी कालोपत्रे गर्नुपर्ने जरूरी छ । किनकि पर्यटकका लागि सुरक्षित यात्रा पहिलो शर्त हो ।

यति धेरै हिमाली सम्पदा र नजिकमा ठूलो जनसंख्या तथा विस्तार हुँदै गरेको अर्थतन्त्र हुनु नेपालका लागि ठूलो अवसर हो । यो अवसर लिन हामी चुकिरहेका छौं । यसो हुनुमा पूर्वाधारको अभाव नै मुख्य कारण हो । भारत र चीनलाई स्तरीय सडकमार्गका माध्यमबाट जोड्न सक्ने हो भने नेपाल पर्यटनकै माध्यमबाट धेरै माथि पुग्न सक्छ । जसमा नेपाल चुकिरहेको छ ।

हिमाली पर्यटनबाट निरन्तर लाभ लिने हो भने अब नेपालले राष्ट्रिय ध्वजापवाहकको सुदृढीकरण गरी चर्को हवाई भाडा घटाउनु अत्यावश्यक छ । पर्यटकलाई सहजै नेपाल आउने वातावरण बनाउनुपर्छ । लामो समयदेखि प्रस्ताव गरिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तत्काल अगाडि बढाएर हवाई पूर्वाधार फराकिलो बनाउनुपर्छ ।

यस्तै निर्माणाधीन सडकको मर्मत तत्काल सम्पन्न गरी रणनीतिक सडक निर्माणलाई तीव्रता दिनुपर्छ । हिमालको संरक्षण र दीर्घकालीन उपयोगको नीति बनाउनुपर्छ । पर्यटकबाट प्राप्त रोयल्टीलाई स्थानीयको जीवनस्तर र पर्यटकको सेवा तथा सुविधा वृद्धिमा लगानी गर्नुपर्छ ।

नेपालले विदेशमा गर्ने प्रवर्द्धनमा अझै पनि कमी देखिन्छ । नयाँ पुस्ता बीचमा आक्रामक बजारीकरण नगर्ने हो भने परम्परागत बजारहरूबाट निरन्तर पर्यटक भित्र्याउन कठिन हुन्छ । मास मिडिया क्याम्पेन र सामाजिक सञ्जालमा नेपाली हिमाल र सगरमाथाको अधिक प्रचारप्रसार गर्नुपर्छ ।

हामी कोकाकोलाको विज्ञापन शैलीबाट धेरै कुरा सिक्न सक्छौं । त्यति चर्चित ब्रान्ड हुनुका बाबजुद कोकाकोलाले मास मिडिया क्याम्पेन कम गरेको छैन । त्यसकारण प्रतिस्पर्धी पर्यटकीय बजारमा हाम्रो सक्षमता जेमा हो, हामी त्यसमै केन्द्रित हुनुपर्नेछ । यसमा नेपाल पर्यटन बोर्ड सहित सरोकारवाला गम्भीर हुनु जरूरी छ ।

(नेपाल पर्वतारोहण संघका महासचिव लम्सालसँग अनलाइनखबरका लागि अच्युत पुरीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?