+
+
Shares

यो साता लगानी सेक्टरमा छलाङ, यी हुन् मूल्य धेरै बढेका १० कम्पनी

विश्वका ठूला सेयर बजारमा पनि सुधार

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १४:५८

५ वैशाख, काठमाडौं । यो साता सेयर बजार १.९४ प्रतिशत बढेको छ । गत साता २६७० अंकमा रहेको बजार यो साता २७२२ अंकमा पुगेको छ । गत साता बजार १.२२ प्रतिशत घटेको थियो ।

यो साता नयाँ वर्षको पहिलो दिन भएकाले सोमबार सार्वजनिक विदा रह्यो । वर्ष २०८२ सुरु भएपछि तीन दिन कारोबार भएकामा सबै दिन बजार बढेको छ ।

पहिलो दिन आइतबार ८.६२ अंक घटेको बजार त्यसपछि लगातार बढ्यो । मंगलबार २७.१४, बुधबार ७.०१, बिहीबार २६.४९ अंक बढ्यो । समग्रमा २०८२ सालमा कारोबार भएका तीन दिनमा बजार ६० अंक बढ्यो ।

बजार बढ्दा कारोबार रकम पनि बढेको छ । आइतबार ६ अर्ब २८ करोडको कारोबार भएकोमा मंगलबार ८ अर्ब ५४ करोड, बुधबार ७ अर्ब २६ करोड तथा बिहीबार १० अर्ब ७९ करोडको कारोबार भयो ।

लगानी समूहमा भारी वृद्धि

यो साता लगानी समूह सबैभन्दा धेरै ७.३३ प्रतिशत बढ्यो । मुख्यतः यो सेक्टरमा रहेका तीन कम्पनीको मूल्यमा भएको उच्च वृद्धिले सेक्टरलाई उचालेको छ । यो सेक्टरमा जम्मा ७ कम्पनी सूचीकृत छन् ।

तीमध्ये तीन कम्पनी एचआईडीसीएल, निफ्रा र एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्यमा आएको वृद्धिले समग्र सेक्टरलाई उचालेको हो । यो साता एचआईडीसीएल १३ तथा निफ्रा १२ प्रतिशतभन्दा धेरै बढ्यो ।

त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको यो साता ११.८९ प्रतिशत मूल्य बढेर हालसम्मकै उच्च १९ सय रुपैयाँ पुगेको छ । यी तीन कम्पनीसहित यो सेक्टरका सबै नागरिक लगानी कोष, सीईडीबी होल्डिङ्स, इमर्जिङ नेपाल र हाथवे इन्भेस्टमेन्ट कम्पनीको पनि मूल्य बढ्यो ।

यो साता धेरै कारोबार भएका कम्पनी

यो साता रकमका आधारमा सबैभन्दा धेरै कारोबार भएको कम्पनी हो – बलेफी हाइड्रोपावर । साताभर कम्पनीको २ अर्ब ७८ करोडको कारोबार भयो । यस कम्पनीको संस्थापक र स्थानीयको सेयरमा लकइन खुलेसँगै कारोबार बढेको हो ।

त्यस्तै धेरै कारोबार भएका अरु कम्पनीमा हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, ङादी ग्रुप, सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स, एचआईडीसीएल, नेपाल पुनर्बीमा क्रमशः अगाडि रहे ।

आईपीओ/एफपीओ खुलेका छन् ?

यतिबेला प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई सान्भी इनर्जीको आईपीओ खुलेको छ । अंकित मूल्य १ सयका दरले उनीहरूले वैशाख १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यस्तै ट्रेड टावरको आईपीओ पनि वैदेशिक रोजगारमा रहेकालाई वैशाख ८ गतेदेखि खुल्नेछ । अंकित मूल्य १ सय नै तोकिएको छ । वैशाख २२ गतेसम्म यसमा आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेकालाई यी दुई कम्पनीको आईपीओ बाँडफाँट भएपछि सर्वसाधारणका लागि बिक्री खुला हुनेछ ।

यसअघि खुलेको पियोर इनर्जीको आईपीओ आगामी साता बाँडफाँट हुनेछ । चैत २८ देखि वैशाख २ गतेसम्म यसमा आवेदन खुलेको थियो । यीबाहेक धितोपत्र बोर्डबाट हाललाई अरु कम्पनीले आईपीओ स्वीकृति पाएका छैनन् ।

विश्वका सेयर बजारमा पनि सुधार

विश्वका सेयर बजारसँग नेपालको खास सम्बन्ध छैन । यद्यपि यो साता विश्वका ठूला सेयर बजारमा पनि सुधार देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न मुलुकका लागि बढाएको करले बजार तरंगित बनेको थियो ।

तर चीनबाहेकका मुलुकलाई उनले लगाएको कर करिब तीन महिनाका लागि स्थगित भएपछि बजारमा सुधार देखिएको हो । भारतको बीएसई सेन्सेक्स विगत पाँच दिनमा करिब ६ प्रतिशत बढेको छ ।

त्यस्तै जापानको निक्की पाँच दिनमा २.१ प्रतिशत बढेको छ । अमेरिकी स्टक मार्केट अझै उकासिन सकेको छैन । एस एण्ड पी ५०० सूचक पाँच दिनमा जम्मा ०.५ प्रतिशत बढेको छ तर नास्डाक ०.४४ प्रतिशत घटेको छ । चीनको सांघाई कम्पोजिट इन्डेक्स पाँच दिनमा ०.७६ प्रतिशत बढेको छ ।

कस्तो रहला आगामी साताको बजार ?

विगत केही साता घटेको बजार यो साता सम्हालियो । बजारलाई प्रभाव पार्ने महत्वपूर्ण आर्थिक पक्ष मजबुत रहेकाले आगामी साता बढ्ने सम्भावना बलियो छ । पूँजीगत खर्च बढ्ने समय, न्यून ब्याजदर, अधिक तरलताले बजारलाई सहयोग गरिरहेको छ ।

यतिबेला सेयर धितो (मार्जिन) कर्जा उच्च दरले बढेको राष्ट्र बैंककै तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म मार्जिन प्रकृतिको कर्जा १ खर्ब १८ अर्ब रुपैयाँ प्रवाह भएको छ । तसर्थ बजारमा ठूलै रकम क्रमिक रुपमा आइरकेको यो कर्जाले संकेत गर्दछ ।

आगामी साता राष्ट्र बैंकको गभर्नर नियुक्ति हुने सम्भावना छ । राष्ट्र बैंकले लिने नीतिगत व्यवस्थाले सधैं बजार प्रभावित हुँदै आएको छ । तसर्थ गभर्नरको नियुक्तिलाई पनि बजारमा महत्त्वका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?