५ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले सबै नेपाली क्रिकेटप्रेमीहरूलाई शनिबार हुने यू-१९ टोलीको महत्वपूर्ण खेलका दौरान मैदानमै आएर युवा टोलीलाई समर्थन गर्न आग्रह गरेका छन्।
नेपाली यू–१९ क्रिकेट टोलीले भोलि शनिबार तल्लो मुलपानी क्रिकेट मैदानमा अफगानिस्तान यू–१९ सँग विश्वकप छनोटको निर्णायक खेल खेल्दैछ। यस खेलको विजेता टोलीले आगामी वर्ष हुने आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकपमा स्थान बनाउने छ।
यसै सन्दर्भमा पारसले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हामी आशा गर्दछौं कि भोलि तपाईंहरू सबै तल्लो मुलपानी क्रिकेट मैदानमा उपस्थित भई हाम्रो युवा क्रिकेट टोलीलाई समर्थन गरेर नेपाललाई पुनः एक पटक यू–१९ पुरुष क्रिकेट विश्वकपमा छनोट हुने लक्ष्यमा हौसला प्रदान गर्नुहुनेछ।’
नेपाल र अफगानिस्तान दुवैले यसअघि यूएई, हङकङ र ओमानलाई हराएर लगातार तीन जित दर्ता जित दर्ता गरेका छन् । त्यसैकारण यस खेल फाइनल सरह नै हुनेछ ।
अफगानिस्तानलाई हराउन सके नेपाल लगातार दोस्रोपटक यू-१९ विश्वकपमा छनोट हुन सक्नेछ ।
प्रतिक्रिया 4