५ वैशाख, पोखरा । पोखरामा सम्पन्न दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुला पुरुष क्लबस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले जितेको छ। फाइनल खेलमा सिइसी काठमाडौंलाई ५ विकेटले पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो।
१८३ रनको लक्ष्य गण्डकी हिरोजले १७.३ ओभरमा ५ विकेटको क्षतिमा १८५ रन बनाउँदै खेल जित्यो। गण्डकीका किरण ठगुनाले ५२ रनको उत्कृष्ट अर्धशतक प्रहार गरे। उनी ‘प्लेयर अफ दी म्याच’ पनि घोषित भए। बसन्त कार्कीले १७ बलमा ३ छक्का सहित २७ रन र नारायण जोशीले १० बलमा १३ रन बनाएर टिमलाई जित दिलाए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.४ ओभरमा १८२ रन बनाएको थियो। अर्जुन घर्तीले ६८ र पृथु बास्कोटाले ५० रन बनाए। गण्डकीका अमृत गुरुङ र कृष ढकालले समान ३–३ विकेट लिए।
काठमाडौंका दिपेन्द्र रावत ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित भए र उनले ३० हजार रुपैयाँ पाए। अत्तरियाका विपिन रावल उत्कृष्ट ब्याट्सम्यान र लुम्बिनीका अजय चौहान उत्कृष्ट बलर घोषित भए—दुवैले २०–२० हजार रुपैयाँ पुरस्कार पाए।
प्रतियोगितामा १६ वटा टिम सहभागी थिए, जसमा बागमतीबाट ४ र अन्य प्रदेशबाट २–२ टिम थिए। आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले अब आफ्नै क्रिकेट टिम बनाउने घोषणा गरेको छ।
प्रतिक्रिया 4