
दैलामुनि जौ
हामी छौं सडकमा
सरकार कहाँ छौ ?
एकजना मादल बजाउँदै, गीत गाउँदै थिए । कतिले बजाउने र गाउनेको गला गाँसिरहेका थिए । कति गीत र मादलको तालमा नाच्दै थिए । झुम्मिएका बाँकी नाचगानमा रमाउँदै थिए । मानिसको हुल घरी उता, घरी यता गर्दै थियो ।
तपाईंलाई लागेको होला, रोल्पा–रुकुमतिर लाग्ने कुनै मेलाको दृश्य हो । नाथिगार हो कि डिग्रे, छड्केधुरी मुन्तिरका स्यान्गोरी कि ठूल्गोरी मेला, कालापोख्रा मेला हो कि राँकुलचौर, चबी मेला हो कि चतुर्भुज । यिनै मेलाको अड्कल काट्नुभएको होला । यो त मेला होइन । गुरुहरूको ‘काठमाडौं केन्द्रित वृहत् शैक्षिक आन्दोलन’को १६औँ दिन बिजुलीबजार सडकको बिहीबार दिउँसोको दृश्य हो ।
गाउने र बजाउने रुकुम गरायलाका शिक्षक शशिराम ओली थिए । ओली बसाइँ पनि, सरुवा पनि भएर केही वर्षअघि दाङ झरेका थिए ।
सडकमा गुरु र गुरुआमा बबरमहल बिजुलीबजार सडकमा गाइरहेका थिए । नाचिरहेका थिए । टिकटक बनाइरहेका थिए । फोटोसेसन गरिरहेका थिए । सरकारलाई शिक्षा ऐन माग्दै सडकमा निक्लेका गुरु र गुरुआमा मुरली, मादल, झ्याली, खैंचडी धुनमा धुनमुनिँदै आन्दोलन गीत बनाएर गाइरहेका थिए । आन्दोलनलाई नाच बनाएर नाचिरहेका थिए ।
‘हामीले त नारा पनि लगायौँ । सडकमै पनि ढल्यौँ । सिटी पनि बजायौँ । कालो मास्क पनि लगायौँ,’ रुकुम (पश्चिम) चौरजहारीबाट आएका शिक्षक हिमसिंह नेपालीले सिङारु गाउँदै मादल र टुकटुके तालमा सुनाए, ‘मनोरञ्जन पनि हुने, गीत–संगीतमार्फत राज्यको ध्यानाकर्षण पनि गराउने, हाम्रा माग संगीतमार्फत राख्नलाई नाचगान गर्दैछौँ ।’
नेपाली गाइरहेका थिए । उनको गीतको तालमा सारी लगाएर दुईजना पुरुष शिक्षक सिंगारिएर नाचिरहेका थिए । कति भने सिङारुमा महिला र पुरुष नै नाचिरहेका थिए । ती पुरुष शिक्षक सारीमा सिंगारिएका थिएनन् ।
रापती र भेरी भेगमा प्रचलित सिङारु गीतमा फुल्ने माया हो । प्रेम हो । मिलन हो । बिछोड हो । कुल मिलाएर मानिसका सुख–दुःख थिए, रैथाने सिङारुमा । सिङारुमा गुरुहरूले भने आन्दोलन गाइरहेका थिए । आन्दोलन नाचिरहेका थिए । आन्दोलनकारीका आक्रोश र सरकारप्रति रोश गाइरहेका थिए । शिक्षकका माग र चिन्ता नाचिरहेका थिए ।
नेपालीहरूले कागत वा मोबाइलमा गीत लेखेर ल्याएका थिएनन् । दोहोरी गीतमा जसरी ठाउँको ठाउँ आन्दोलनका नारालाई सिङारुमा सिंगारी गाइरहेका थिए । नाचिरहेका थिए । नेपाली सुनाउँदै थिए, ‘आन्दोलनको माहोल र आन्दोलनका माग गाउँदा–गाउँदै गीत आफैं गीत भएर झर्छ । गाउँदा–गाउँदै आन्दोलन नै गीत बन्छ ।’
रुकुम मुरुमा जन्मेका नेपालीले आफ्नो कर्मथलो चौरजहारी बनाएका थिए । मुरु र चौरजहारीको सिङारु भेदले गाउन, बजाउन र नाच्न भरोसा थपेको थियो ।
नाचगान चलिरहेको अलि परतिर दुई/चारवटा टिभीका बुम तेर्सिएका थिए । बुमअगाडि उभिएर गुरुआमाहरू कागत हेर्दै गाइरहेका थिए–
के सरकार पर्यो, सुन्दै नसुन्ने
शिक्षकका पिरमर्का बुझ्दै नबुझ्ने
बन्ला बरु माइतीघर रणभूमि
जाने छैनौँ, हे हजुर, ऐन पास नगरी
सरकार सधैँ हजुर विदेशको भरमा
शिक्षक सधैँ पासफेलको डरमा
के सरकार पर्यो, सुन्दै नसुन्ने
शिक्षकका पिरमर्का बुझ्दै नबुझ्ने
‘आन्दोलन गर्न थालेको १६ दिन भयो । हामीले नाराबाजी गर्यौँ । उफ्रियौँ । नाराबाजी सरकारले सुनेन । जति गर्दा पनि सरकारले नसुन्दा गीतबाट भए पनि सरकारलाई झझल्को होला कि भनेर गायौँ,’ शिक्षिका मधु आचार्यले भनिन् । आचार्यको गला गाँस्ने कल्पना शाहीसहितको शिक्षिका टोली थियो । रोल्पा माइत भएकी आचार्य काठमाडौंकै स्कुलमा पढाउँथिन् ।
ओली, नेपाली, आचार्य र शाहीजस्तै बाँकी गुरु र गुरुआमा आआफ्ना ठाँटथलोका नाचगानसाथ आन्दोलन भएर सडकमा पोखिइरहेका थिए ।
सुदूरपश्चिम र कर्णालीका गुरु हात समातासमात गरी गोलो घेरा बनाएर देउडा खेलिरहेका थिए । जसरी ती गौरा पर्वमा देउडा खेल्थे । मेलापर्वमा देउडा खेल्थे । तराई, पहाड र हिमालतिरका गुरु र गुरुआमा आआफ्ना गीत, नाचसाथ आन्दोलित थिए । शिक्षकहरूले आन्दोलनलाई गीत बनाएर गाइरहेका थिए । गीतलाई आन्दोलन बनाएर नाचिरहेका थिए ।
कतिले शिक्षकले मोबाइलमा लेखेर ल्याएका गीत गाइरहेका थिए । कतिले कागतमै लेखेर ल्याएका । किरण राई (२०८२ वैशाख ४) कागत पन्नाको शिरमा लेखिएको पन्ना हातमा लिएर गाउँदै थिइन्–
शिक्षकलाई नबोल हेपेर
सिंहदरबार आउनेछौँ ढेपेर
सरकार, कान खोल
जे पायो, नबोल
शिक्षक सबै काठमाडौं आएका
आन्दोलनमा लगातार धाएका
सरकार, ध्यान देऊ, धोका नदेऊ
शिक्षकलाई लोकतन्त्र आएन
पिर व्यथा सुन्दिने कोही भएन
सरकार आँखा हेर, अबेर नगर
गलाकला नभएका गुरु र गुरुआमा भने डेकको सहारामा नाचिरहेका थिए । डेकबाट झरिरहेका कति कोठेलोक गीत थिए त कति आधुनिक गीत । कुनै डेकबाट त शिक्षकले गाएका शिक्षक कर्म र मर्म भरेको गीत झरिरहेको थियो–
तिम्लाई नेताज्यू कसले बनायो ?
तिम्लाई कुर्सीमा कसले पुर्यायो ?
मेडमले हो मिसले हो मैले हो ।
हामी शिक्षकैले हो ।
यहाँ नहेपौँ शिक्षकलाई कसैले
माया गरौँ सबैले
सम्मान गरौँ सबैले
(वासु अधिकारीको गीत र स्वर)
नाचगान आन्दोलनको अंग
नेपालका कम्युनिष्ट पार्टीले नाचगानलाई आन्दोलनको अंग बनाएका थिए । माओवादीले जनयुद्धकालमा सांस्कृतिक पल्टन नै बनाएको थियो । माओवादीले आफूसँग दुई सेना छन् भन्थ्यो । एक, हतियार बोकेको जनमुक्ति सेना । दुई, मादल, हार्मोनियम र कलम बोकेको सांस्कृतिक सेना ।
भलै माओवादी नेतृत्वले दुवै सेनालाई ‘चाहिँदा भाँडो र नचाहिँदा ठाँडो’ बनायो । त्यो बेग्लै बहसको विषय होला । सडकमा यसरी आन्दोलन गर्दा स्मरणीय त के भने, काठमाडौं केन्द्रित यस्ता सडक आन्दोलनमा नाचगान थालनी माओवादीले गरेको थियो ।
पुष्पकमल दाहाल प्रचण्डले तात्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई बर्खास्त गरे । तत्कालीन राष्ट्रपति रामवरण यादवले कटवाल पुनस्र्थापित गरे । दाहालले राजीनामा दिए । नागरिक सर्वोच्चताको नारा लिएर माओवादीले आमहडताल गर्यो ।
काठमाडौं केन्द्रित त्यो आमहडतालमा माओवादीले नाराबाजीसाथ कति लाइभ त कति डेकबाट गीत बजाएर नाचगान गरेको थियो ।
हेर्नूस् भिडियो, कटवाल काण्डपछि माओवादीले गरेको आमहडतालका क्रममा सडकमा नाचिरहेकी प्रचण्ड बुहारी बिना मगरको नाच-
अहिले शिक्षकले जसरी माओवादीले विभिन्न समुदाय र भेगका गीत र नाच आमहड्तालमा आन्दोलनकै रूपमा गरेको थियो । हेर्नूस्, भिडियो-
२० चैतदेखि शिक्षक महासंघको नेतृत्वमा १६ दिनयता काठमाडौंमा दिनहुँ शिक्षक प्रदर्शन जारी छ । आन्दोलनले २७ हजार ९९० सरकारी विद्यालय बन्द छन् भने ७० लाख विद्यार्थीको पठनपाठन प्रभावितभ भएको छ ।
शिक्षा ऐन जारी गराउन काठमाडौं केन्द्रित आन्दोलनमा महासंघले अनिर्वाय सहभागी हुन आग्रह गरेको छ । महासंघका अनुसार शिक्षक/कर्मचारी करिब चार हजार छन् । रोल्पा, रुकुम, दाङबाट आन्दोलनमा सहभागी शिक्षक कृष्ण पुन, चक्र बुढामगर, दुर्गा शाही, मानबहादुर बस्नेत, गोपाल बुढाथोकी, जानकी सुनार, भानु जीएमहरू झुण्डझुण्डमा बसी गफिँदै थिए, ‘आन्दोलनकारी शिक्षक र सरकारसँग कुराकानी भइरहेको छ कि छैन ? छ भने कुन दिशातिर जाँदैछ ? सडकमा अपडेट गराउनुपर्ने हो । हाम्रो आन्दोलन त नाचगानतिर जाँदैछ । गीत सुन्ला त सरकारले ?’
प्रतिक्रिया 4