६ वैशाख, काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा आज नेपाल र अफगानिस्तानबीचको खेल हुँदैछ । खेल बिहान साढे ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा हुने तय छ ।
दुवै टोली समान ३ जितका साथ अन्तिम खेलमा आमनेसामने हुँदैछन् । यस खेल जित्ने टोली आगामी वर्ष जिमबाबे र नामिबियामा हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपमा छनोट हुनेछन् । त्यसकारण यस खेल निर्णायक हुनेछ ।
प्रतियोगितामा नेपाल र अफगानिस्तान दुवैले ओमान, हङकङ र यूएईलाई हराउँदै तीन जित निकालेका थिए । अफगानिस्तानले तीनवटै खेलमा फराकिलो जित निकालेका कारण नेट रनरेटमा नेपालभन्दा अघि छ । नेपालले यूएईलाई ५ रनको अन्तरले मात्र हराएको थियो भने अफगानिस्तानले यूएईलाई १८० रनले हराएको थियो ।
अघिल्लोपटक २०२४ मा भएको यू-१९ विश्वकपमा अफगानिस्तान नेपालसँग समूह चरणमा पराजित भएर अगाडि बढ्न नसक्दा यसपटक छनोटमा तानिएको हो । सबैभन्दा बलियो टोली तथा टेस्ट राष्ट्र अफगानिस्तानसँग नै नेपालको महत्वपूर्ण खेल हुने भएको हो ।
यस छनोट प्रतियोगिताअघि नेपालले अफगानिस्तानसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा ३ खेलको शृंखला खेलेको थियो जहाँ पहिलो खेल एकतर्फी रूपमा गुमाउँदा दोस्रो खेलमा नजिक पुगेर पराजित भएको थियो भने तेस्रो खेलमा शानदार बलिङ गर्दै जितेको थियो ।
नेपालले घरेलु मैदानमा घरेलु दर्शककै अगाडि अफगानिस्तानको चुनौती समाप्त पार्दै विश्वकपमा छनोट हुने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।
प्रतिक्रिया 4