+
+
Shares

गनगन गर्ने होइन, कांग्रेसले समाधान दिनुपर्छ : गगन थापा

‘कांग्रेस पार्टीले अब समस्या मात्र देखाएर हुँदैन, अब समाधान पनि दिनुपर्छ । हामी समाधान दिने पार्टी हो । हाम्रो ड्युटी हो यो,’ महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेस पार्टीले नेपालमा रोजगारीको समस्या छ समाधान दिने हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १८:०६

५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसले समाधान दिनेगरी काम गर्नुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले कांग्रेसलाई समस्या मात्र देखाउने छुट नरहेको बताएका हुन् ।

‘कांग्रेस पार्टीले अब समस्या मात्र देखाएर हुँदैन, अब समाधान पनि दिनुपर्छ । हामी समाधान दिने पार्टी हो । हाम्रो ड्युटी हो यो,’ उनले भने, ‘नेपाली कांग्रेस पार्टीले नेपालमा रोजगारीको समस्या छ समाधान दिने हो ।’

उनले वैदेशिक रोजगारीको क्षेत्रलाई थप राम्रो बनाउनुपर्ने भन्दै कांग्रेसले यसमा काम गरिरहेको बताए । ‘अब पार्टीको काम गर्ने तरिका र दृष्टिकोण पनि बदलिनुपर्छ,’ उनले भने ।

महामन्त्री थापाले अगाडि थपे, ‘अब हामीले गनगन गर्ने पनि होइन रुवाबासी गर्ने पनि होइन । अब समस्या भएको क्षेत्रमा कांग्रेस छ र समाधान दिन्छ भन्ने पार्टी बनाएर जान आवश्यक छ ।’

वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्नको लागि ‘मिसन रोजगारी’ राष्ट्रिय अभियान सुरु गरिएको उनले जानकारी दिए ।

उनले वैदेशिक रोजगारीमा देखिएका समस्याहरूको समाधान गर्नको लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर उक्त अभियान सञ्चालन गरेको दाबी गरे ।

वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार र गालीको क्षेत्र बनाउन नहुने महामन्त्री थापाको धारणा थियो ।

‘अहिले नेपाली कांग्रेसको दुई जना महामन्त्रीले मिसन रोजगारी भन्ने एउटा राष्ट्रिय अभियान प्रारम्भ गरेका छौं । त्यो अभियानको एउटा अभिन्न अंग भनेको एउटा वैदेशिक रोजगारी हो’ उनले भने, ‘यो अभियान शुरु भएको एक महिना भयो । यसमा हाम्रो एउटा टिमले काम गरिरहेको छ ।’

यो अभियानले केही विश्वविद्यालयहरुसँग साझेदारी गरिरहेको जानकारी दिंदै उनले भने, ‘केही शैक्षिक संस्थाहरूसँग पनि हाम्रो साझेदारी छ । हामी अब एसशेसिएशनसँग पनि काम गर्न चाहन्छौं ।’

उनले थपे, ‘हामी वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कारीको क्षेत्र, गालीको क्षेत्र होइन हामी सँगसँगै बसेर कस्ता मान्छे काम गर्न गएका छन् ? किन गएका छन् ? को जाने को नजाने भन्नेबारेमा ज्ञान उत्पादन गर्ने ठाउँमा हामी तपाईंहरुसँग बसेर काम गर्न चाहन्छौं । किनकि यो विषयको हल हामीले खोज्नुपर्नेछ ।’

कांग्रेसले नेपालमा रहेको रोजगारीको समस्याको समाधान दिनसक्नुपर्ने भन्दै निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुनुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?