५ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले युएईका अधिकारीहरूसँग नेपालको स्वास्थ्यका लागि सघाउन आग्रह गरेका छन् । अबुधाबीमा रहेका मन्त्री पौडेलले त्यहाँका स्वास्थ्य विभाग अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीसँगको शिष्टाचार भेट गरेका छन् ।
भेटका क्रममा मन्त्री पौडेलले युएईमा ठूलो संख्यामा नेपाली कार्यरत रहेको भन्दै उनीहरूको स्वास्थ्य रक्षाका लागि नेपाल सरकार प्रतिवद्ध रहेको बताए । युएई सरकारबाट समेत नेपाली श्रमिकको स्वास्थ्य रक्षाका लागि सहयोगको अपेक्षा गरेको उनले मन्सुर समक्ष बताए ।
उनले युएई प्रस्थान गर्नुअघि तथा स्वदेश फर्केपश्चात सरकारले श्रमिकको स्वास्थ्य रक्षाका लागि चालेको कदममा युएई सरकारबाट सहयोगको अपेक्षा गरे ।
मन्त्री पौडेलले नेपालले स्वास्थ्य क्षेत्रलाई डिजिटलाइजेसन प्रविधिमार्फत अगाडि बढाउन चाहेको उनले सुनाए । साथै सर्वव्यापी स्वास्थ्य पहुँच अन्तर्गत स्वास्थ्य बीमा प्रणाली लागू गर्न चाहेको भन्दै नेपालमा मिर्गौला डायलसिस केन्द्रहरुको स्तरोन्नति र विस्तार तथा अंग प्रत्यारोपणका लागि सहयोग गर्न समेत आग्रह गरे ।
युएई स्वास्थ्य विभाग अध्यक्ष मन्सुरले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाए । दुई देशबीच सम्झौता गरी आपसी सहयोग र सहकार्य गर्न आवश्यक रहेको धारणा उनले राखे ।
मन्सुरले युएईमा रहेका नेपाली श्रमिकको प्रशंसा गर्दै नेपालसँगको सम्बन्धलाई अझ मैत्रीपूर्ण र प्रगाढ बनाउन युएई नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गर्न तयार रहेको बताए ।
यसका लागि नेपाल सरकारबाट उपयुक्त वातावरण र कानूनी आधार तयार हुनुपर्ने युएईस्थित नेपाली राजदूतावासले जनाएको छ । भेटमा नेपाली राजदूत तेजबहादुर क्षेत्रीसमेत सहभागी थिए ।
मन्त्री पौडेल आइतबार आयोजना हुने नेपाल फेस्टिभलमा प्रमुख अतिथिका रुपमा सहभागी हुने दूतावासले जनाएको छ ।
प्रतिक्रिया 4