
‘म पुरस्कार चाहन्नँ, मलाई मेरो प्रयोगशाला फर्काइदेऊ !’
यो संवाद भारतीय चलचित्र ‘एक डाक्टर की मौत’ का नायक डा. दीपंकर रोय (पंकज कपुरद्वारा अभिनित) को हो ।
उनी एक समर्पित वैज्ञानिक हुन्, जसले चलचित्रमा कुष्ठरोगको खोप पत्ता लगाउँछन् । उनको उद्देश्य केवल मानवताको सेवा हो । तर उनको वैज्ञानिक साधनालाई राज्य र समाजले सम्मान गर्नु त परै जाओस्, उल्टै उपेक्षा गर्छन् । उनी सरकारको नजरमा समस्याको पात्र बन्छन् र अन्ततः प्रयोगशालाबाट निकालिन्छन् ।
यो चलचित्र भारतीय वैज्ञानिक डा. सुभाष मुखोपाध्यायको वास्तविक जीवनमा आधारित हो । जसले भारतमै सन् १९७८ मा पहिलो सफल टेस्ट ट्युब बेबी (आई.भि.एफ) को परीक्षण गरेका थिए । उनको परीक्षणबाट जन्मेकी कनुप्रिया अग्रवाल संसारकै पहिलो टेस्ट ट्युब बेबी बेलायतकी लूजी ब्राउनभन्दा तीन महिनामात्रै कान्छी हुन् ।
तर उनको प्रयासलाई सरकारका विभिन्न निकायले निरन्तर अस्वीकार गरे । उनको वैज्ञानिक अनुसन्धानको जाँच गर्न बनेको समितिले पनि उनको खिल्ली उडायो । उनलाई अनुसन्धान प्रस्तुतीकरण गर्न विदेश जान पनि दिइएन । निरन्तरको तिरस्कार र अपमान भोगेपछि उनी अन्ततः आत्महत्या गर्न बाध्य बने ।
यो कथा तिनका लागि मात्र होइन, नेपालजस्ता मुलुकमा पनि विज्ञानको बारीमा उम्रिएका हरित अंकुरहरू कसरी व्यवस्थाले कुल्चन्छ भन्ने कथा हो । चलचित्रमा डा. रोयले कडा परिश्रम, लगन र समर्पणमार्फत एक घातक रोगको समाधान पत्ता लगाउँछन् ।

उनी यति धेरै समर्पित छन् कि खाना खान बिर्सन्छन् । रातभर जागा बस्छन् र आफ्नी पत्नी सीमा (शबाना आजमीद्वारा अभिनित) लाई पनि उपेक्षा गर्छन् । उनले आफ्नो व्यक्तिगत जीवन त्याग गरेर दिनरात एक गर्दै अत्यन्तै साधन स्रोतको अभावमा काम गर्छन् । आफ्नै घरको एउटा कोठालाई प्रयोगशालामा रूपान्तरण गरेर उनी अनुसन्धानमा लाग्छन् ।
जब उनी खोप पत्ता लगाउँछन्, सामाजिक र वैज्ञानिक सञ्जालले उनलाई बधाई दिनुको सट्टा, उनको खोजलाई शंकाको नजरले हेर्छ । पत्रकार मित्र (इरफान खानद्वारा अभिनित) मार्फत खबर बाहिरिएपछि, उनी सरकार र सहकर्मीहरूको ईर्श्या र षड्यन्त्रको शिकार बन्न पुग्छन् ।
राज्यका निकाय र वैज्ञानिक संस्थाहरूले उनलाई अपमान र उपेक्षा गर्छन् । उनको काममाथि शंका गरिन्छ । अनुसन्धानलाई अविश्वासको नजरले हेरिन्छ । अन्ततः उनलाई न प्रयोगशाला न वैज्ञानिक वातावरण भएको दूरदराजको गाउँमा सरुवा गरिन्छ ।
डा. रोय वा डा. मुखोपाध्यायको कथा केवल एउटा व्यक्ति वा वैज्ञानिकको नभएर सम्पूर्ण प्रणालीको विफलताको दर्पण हो । उनले सरकारसँग पुरस्कार, प्रशंसा या पदवी मागेका होइनन् । उनलाई केवल अनुसन्धान गर्ने स्वतन्त्रता चाहिएको हो । उनी भन्छन्, ‘म पुरस्कार चाहन्न, मलाई मेरो प्रयोगशाला फर्काइदेऊ ।’
यही वाक्यमा वैज्ञानिक चेतनाको सम्पूर्ण संघर्ष झल्किन्छ । यो केवल व्यक्तिगत व्यथा होइन । राज्य र समाजको विज्ञानप्रतिको दृष्टिकोणमाथिको गम्भीर प्रश्न हो । जब एउटा वैज्ञानिक आफ्नै राष्ट्रमा अपहेलित हुन्छ, तब केवल उनी पीडित हुँदैनन्, समग्र राष्ट्र वैज्ञानिक सोचबाट वञ्चित हुन्छ ।
नेपालमा पनि यस्ता धेरै डा. रोय वा डा. मुखोपाध्यायहरू छन् । सीमित स्रोतसाधन, अपर्याप्त पूर्वाधार र वैज्ञानिक चेतनाको कमीले गर्दा उनीहरूले आफूले देखेका सपनाहरू साकार गर्न सक्दैनन् । जब कुनै संस्थाले वैज्ञानिक क्रान्तिको बीउ रोप्ने प्रयास गर्छ, नीति निर्माण तहबाटै त्यसलाई अवरोध गरिन्छ ।
अनुसन्धानलाई अनावश्यक खर्च मानिन्छ । वैज्ञानिक परियोजनाहरूलाई प्राथमिकतामा राखिन्न । यस्तो सोच केवल नीति र बजेटको कमजोरी होइन, यो गहिरो दिगो सोचको अभाव हो ।
‘एक डाक्टर की मौत’ मा डा. रोयको अनुसन्धान अन्ततः विदेशी संस्थाहरूले स्वीकार गर्छन् । उनका विचार विदेशले चिन्छ तर आफ्नै देशले तिरस्कार गर्छ । नेपालमा पनि स्थिति यस्तै छ । योग्य र प्रतिभाशाली वैज्ञानिकहरू अवसरको खोजीमा देश छोडिरहेका छन् । देशभित्र विज्ञानको भविष्य अन्धकारमय देखिन थालेको छ ।
वैज्ञानिकहरूले पाउने वातावरण न त प्रेरणादायी छ, न त संरचनात्मक रूपमा सक्षम । यस्तो अवस्थामा मस्तिष्क पलायन राष्ट्रिय क्षति मात्र होइन, हाम्रो भविष्यका सम्भावनाहरूको हत्या हो ।
विज्ञानको प्रश्न केवल वैज्ञानिकहरूको होइन, सम्पूर्ण समाजको हो । जब वैज्ञानिक संस्थाहरूको अस्तित्व संकटमा पर्छ, त्यसबेला सम्पूर्ण शिक्षाविद्, अनुसन्धानकर्ता, विद्यार्थी र समाजका सचेत नागरिकहरूले प्रश्न उठाउनुपर्छ । विज्ञान केवल प्रयोगशालाको विषय होइन, यो हाम्रो समाज र राष्ट्रको दिशा निर्धारण गर्ने शक्ति हो ।
विकसित राष्ट्रहरूले विज्ञान र प्रविधिलाई आफ्नो राष्ट्रिय रणनीतिमा समावेश गरेर दिगो विकासको मार्ग तय गरेका छन् । भारत जहाँको सत्य घटनामा यो चलचित्रको कथा बुनिएको छ, त्यहाँ पनि विगत चालीस वर्षमा धेरै प्रगति भइसकेको छ ।
भारतको सन् १९८६ मा पहिलो मान्यताप्राप्त टेस्ट ट्युब बेबी जन्माउन काम गर्ने वैज्ञानिक टी.सी आनन्द कुमारले नै पछि डा. सुभाषको कामको अभिलेख हेरेर स्वयंको काम दोस्रो भएको स्वीकार गरी डा. सुभाषको कामलाई पहिलो भनी मान्यता दिलाउन पहल गरेका थिए ।
भारतले चिकित्सा शास्त्रमामात्रै नभइ अन्य वैज्ञानिक क्षेत्रमा पनि धेरै प्रगति गरिसकेको छ । भारतले इन्डियय स्पेस रिसर्च अर्गनाइजेसन (इस्रो) स्थापना गरेर अन्तरिक्ष विज्ञानमा समेत ठूलो फड्को मारेको छ । दक्षिण कोरियाले प्रविधि र नवप्रवर्तनमा लगानी गरेर आफ्नो अर्थतन्त्रलाई वैश्विक बजारमा प्रतिस्पर्धी बनाएको छ ।
चीनले विज्ञानलाई आफ्नो कूटनीतिक र आर्थिक नीतिको मूलमा राखेको छ । तर नेपालमा भने विज्ञान अझै पनि प्राथमिकतामा छैन । यसले केवल विज्ञानको प्रगति रोक्दैन, सम्पूर्ण राष्ट्रको समृद्धि रोकिन्छ ।
एक वैज्ञानिक संस्था निर्माण गर्नु सजिलो प्रक्रिया होइन । त्यसका लागि दीर्घकालीन प्रतिबद्धता, स्पष्ट उद्देश्य, प्राविधिक जनशक्ति र सक्षम नेतृत्व चाहिन्छ । तर त्यसको समाप्ति चाहिँ प्रशासनिक निर्णय र हस्ताक्षरमै सीमित हुन्छ । यदि कुनै संस्था समस्याग्रस्त छ भने त्यसको व्यवस्थापनमा सुधार ल्याउन सकिन्छ । कानुनी रूपान्तरण, संरचनागत पुनर्संरचना र उद्देश्य परिमार्जन गर्न सकिन्छ । तर नीतिगत कमजोरीको उपचार संस्था नष्ट गरेर होइन, सुधार गरेर गर्नुपर्छ ।
यदि सरकार विज्ञानको क्षेत्रमा अग्रसर बन्न चाहन्छ भने उसले वैज्ञानिक संरचनाहरूको रक्षा र प्रवद्र्धन गर्नुपर्छ । केवल घोषणामै सीमित नभई व्यावहारिक कदम चाल्नुपर्छ । अनुसन्धानका लागि अनुकूल वातावरण तयार पार्नुपर्छ ।
विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई प्रेरित गर्नुपर्छ । अनुसन्धानलाई राष्ट्रिय एजेन्डाको रूपमा लिनुपर्छ । विज्ञानमा लगानी केवल खर्च होइन, त्यो भविष्यमा लाभ हुने विकासको वीउ हो।
एक डाक्टर की मौत को अन्त्यमा डा. रोय फेरि एक पटक बोल्छन् । उनी थाकेका छन्, निराश छन् । तर विज्ञानप्रतिको विश्वास अझै बाँकी छ । उनी भन्छन्, ‘अब म के गरूँ ? म फेरि सुरुवात गर्छु । तर मलाई फेरि एउटा प्रयोगशाला चाहिन्छ ।’ यो वाक्य केवल फिल्मको संवाद होइन, नेपालका सयौँ वैज्ञानिकहरूको मौन पुकार हो ।
उनीहरू भन्छन्, ‘हामी पुरस्कार चाहँदैनौं, प्रयोगशाला चाहन्छौं ।’ तर तिनै प्रयोगशालामाथि आज प्रश्न उठाइएको छ ।
अब निर्णय हाम्रो हातमा छ । हामी मौन बस्छौं वा आवाज उठाउँछौं । हामी डा. रोयहरूलाई प्रेरणाको रूपमा हेर्छौं वा तिनको व्यथा दोहोर् याउँछौं । विज्ञानप्रतिको हाम्रो दृष्टिकोणले हाम्रो भविष्य निर्धारण गर्नेछ । किनभने विज्ञान मरेपछि केवल अन्धकार बाँच्छ । जब हामी मौन बस्छौं, तब नवप्रवर्तन मर्छ । जब हामी प्रश्न उठाउँछौं, तब विज्ञान बाँच्छ ।
(भण्डारी गण्डकी प्रदेश सरकारले खारेज गरेकाे प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका निवर्तमान कार्यकारी निर्देशक हुन् ।)
प्रतिक्रिया 4