
५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नारायणगढ बुटवल सडकखण्डको आज अवलोकन निरीक्षण गरेका छन् ।
चितवनको पूल्चोक गोन्द्राङ्ग सडकखण्डको उद्घाटन गर्न आएका बेला प्रधानमन्त्री ओलीले पूर्वी नवलपरासीको गैंडाकोटमा पुगेर सडक विस्तारको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका छन् ।
११३ किलोमिटर लामो यो सडकखण्ड विस्तारको कामका बारेमा ओलीले सडक आयोजनासँग पछिल्लो प्रगतिका बारेमा जानकारी लिएका हुन् । प्रधानमन्त्री पुग्दा सडक आयोजनाका अधिकारी, चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधीहरुले स्वागत गरेका थिए ।
सडक निरीक्षणका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले नारायणगढ बुटवल सडकखण्ड विगतमा नबन्ने अवस्थामा पुगेकोमा अहिले सडक बन्ने अवस्थामा आएको बताए ।
‘पहिले काम भएन भन्ने थियो, अहिले धमाधम काम हुँदैछ भन्ने छ, वीचमा धेरै समस्या र उल्झनहरु आए,’ प्रधानमन्त्री ओलीले सडक निरीक्षण गर्दैै भने, ‘अब अहिले सन्तोषजनक अवस्था छ ।’
सो अवसरमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्माले सडकको अवस्थाका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
सचिव शर्माले ११३ किलोमिटर लामो सडक बर्खा अगाडि २० किमि मात्रै बाँकी रहने र बाँकी भाग कालोपत्रे भएर सकिने जानकारी गराए । उनले दाउन्नेको १३ किलोमिटर र पुल भएको ठाँउको गरी जम्मा २० किलोमिटर मात्रै सडक बर्खा अगाडि कालोपत्रे हुन बाँकी रहने बताए ।
दाउन्नेदेखि गैंडाकोटसम्म पूर्वी खण्ड ६३ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्म ३९ किलोमिटर पश्चिम खण्ड गरी दुई खण्डमा विभाजन गरेर चिनियाँ ठेकेदार कम्पनीले सडक विस्तारको काम गरिरहेको छ । पछिल्लो तीन महिनामा दुबैखण्डमा तीब्रताका साथ काम भैरहेको छ ।
पूर्वी खण्डको भौतिक प्रगति ६३ प्रतिशत र पश्चिम खण्डको ६१ प्रतिशत पुगेको छ । सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले पछिल्लो तीन महिनामा दुबैखण्डमा उल्लेख्य प्रगति भएको बताए ।
प्रतिक्रिया 4