+
+
Shares
इतिहास र अनुभूति :

लिम्बू र प्रसाईंहरूबीच २०० वर्षअघिको सम्झौता

प्रसाईंहरू पश्चिमतिरबाट सुदूरपूर्वमा रहेको लिम्बू गाउँहरूमा कसरी र कहिले आइपुगे ? प्रसाईंहरूले यक्सो लिम्बूहरूसँग गरेको एक सम्झौता लिखतको फोटो इतिहासकार भगिराज इङ्नामको सौजन्यमा मेरो हातमा आइपुगेको छ ।

राजकुमार दिक्पाल राजकुमार दिक्पाल
२०८२ वैशाख ६ गते २१:४५

त्यो समय हाम्रो टोलमा टाढा–टाढाबाट आएर डेरामा बसी स्कूल कलेज अध्ययन गर्नेहरू प्रशस्तै हुन्थे । खासगरी शिक्षाशास्त्रमा उच्च शिक्षा अध्ययनका लागि धनकुटा बहुमुखी क्याम्पस पूर्वकै ठूलो आकर्षणको केन्द्र थियो । स्कूल कलेज जे पढे पनि डेरा गरी पढ्नेहरूलाई यता हाम्रो टोलका आमाहरू ‘स्कूले’ भन्थे ।

मैले भने स्कूलमा पाइला हाल्न बाँकी नै थियो । हाम्रो घरमा पनि यस्ता स्कूलेहरू डेरा गरी बस्थे । ती स्कूलेहरूको नाम थियो; गङ्गा, ओली र प्रसाईं । अनि बेलाबेला हाम्रा घरमा पाहुना लाग्न आउँथिन् छात्रावास बसेर कलेज पढ्दै गरेकी एक छात्रा, जसलाई हामी गङ्गाकी दिदी भनेर चिन्थ्यौं ।

उनीहरू हाम्रो घरमा डेरावाल जस्ता नभएर पारिवारिक सदस्य जस्तै थिए । मेरा बुबा–आमा उनीहरूलाई आफ्ना छोराछोरी झैं माया गर्थे । उनीहरूको पनि ठूलो आदरभाव थियो, मेरा बुबाआमाप्रति ।

जसलाई गङ्गा भनिन्थ्यो, उनको नाम रहेछ गङ्गाराज प्रसाईं । जसलाई ओली भनिन्थ्यो, उनी रहेछन् चन्द्र ओली । अनि जसलाई प्रसाईं मात्र भनिन्थ्यो उनको नाम रहेछ जनार्दन प्रसाईं । गङ्गाकी दिदी भनेर जसले हामीमाझ परिचय बनाएकी थिइन्; उनको नाम रहेछ कृष्णकुमारी प्रसाईं । उनीहरू सबै हाम्रो पुख्र्यौली थलो ताप्लेजुङको हाङपाङबाट उच्च शिक्षा लिन धनकुटामा बस्दा हाम्रो घरमा डेरा लिएका थिए ।

मेरा बुबा हाङपाङका प्रसाईंहरूको कुरा गरिरहने । उनी सम्झना गरिरहन्थे, ‘मैले प्रसाईंहरूबाटै धुलोमा सिन्काले कोरेर अक्षर चिन्न–लेख्न सिकेको । ‘क’ पछि पाँचौं वर्ण ‘ङ’ भन्न लगाउँथे । भोलिपल्ट कण्ठ पारेर सुनाउनुपथ्र्यो । म चाहिं ‘क क क क ङ’ भन्दो रहेछु ।’ यति भनिसकेपछि उनी मरीमरी हाँस्थे ।

पछि भर्ती भई लाहुर गएपछि त्यहाँ व्यवस्था भएअनुसार उनले पल्टने शिक्षा अध्ययन गरेछन् । उनले पल्टनको फस्ट क्लास उत्तीर्ण गरेका रहेछन् । प्रसाईंहरूबाट हाङपाङमा अक्षरारम्भ गरेका उनै लाहुरे बुबाबाट स्कूल शुरू गर्नुअघि नै घरैमा नेपाली र अङ्ग्रेजी वर्णमाला छिचोलेको हुँ मैले ।

२०६५ सालमा म नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएँ । मतदानस्थलमा मतदाताहरू समक्ष हात जोडेर भीख मागे जसरी भोट मागिरहेको बेला एउटा अचम्मको फोन आयो, ‘म तपाईंको लागि भोट मागिरहेछु, तपाईं कता हुनुहुन्छ भाइ ?’ फोन नम्बर र व्यक्ति दुवै अपरिचित ।

एकैछिनपछि ती अपरिचित मतदातासँग मेरो भेट भयो । उनी भन्दैथिए, ‘तपाईंहरूको धनकुटाको घरमा बसेर मेरो दाजुले पढ्नुभएको हो नि !’ त्यसैबेला थाहा भयो, हामीले बाल्यकालमा जसलाई प्रसाईं मात्र भनेर चिनेका थियौं; उनी अर्थात् जनार्दन प्रसाईंका भाइ रहेछन् तेजेन्द्र प्रसाईं । जो मलाई जिताएर पत्रकार महासंघको केन्द्रमा पठाउन मरिमेटेर लागिरहेका थिए । निर्वाचनपछि सानो वा ठूलो कुनै पनि प्रकारको गुन हो, त्यसको सम्झना गर्दै हामी दुईले एकअर्कामा अनुग्रह साटासाट गर्‍यौं ।

इतिहासको पाना पल्टाउँदा

पूर्वीया (उपाध्याय), पश्चिमा (कुमाई) र जैसी गरी तीन उपवर्ग रहेको छ, ब्राह्मणहरूमा । प्रसाईंहरू कुमाई उपवर्गमा पर्छन् । यो उपवर्गमा प्रसाईंका साथै भेटवाल, भट्ट, पन्त, खरेल, सिटौला, सेढाई, उप्रेती, ओली, सङ्ग्रौला, मैनाली, शिवाकोटी, पाण्डे आदि पर्छन् ।

प्रसाईंहरूको प्रसङ्ग उल्लेख गरिरहँदा कुमाई उपवर्गका ब्राह्मणहरू विषयक इतिहासको अलिकति पाना पल्टाउँदा सान्दर्भिक नै हुनेछ ।

इतिहासकार मोहनप्रसाद खनालले ‘सेनराज्यको राजनीतिक इतिहास’ (२०६१ः१५) मा नेपालका क्षेत्री वा ठकुरीले आफूलाई मेवाडस्थित चित्तौडबाट पसी मध्यकालताका नेपालको पश्चिमी भूभागमा आएर कब्जा गरी बसेको दाबी गरे जस्तै हरेक ब्राह्मण वर्गले आफ्ना पुर्खाहरू कन्नौज अर्थात् कान्यकुञ्जबाट धर्मरक्षाका लागि नेपाल प्रवेश गर्नुपरेको बताउने गरेको भन्ने बुझिन्छ भन्ने उल्लेख गरेका छन् ।

यता इतिहास शिरोमणि बाबुराम आचार्यले खनाल भन्दा फरक मत राख्दै ‘प्राचीनकालको नेपाल’ (२०६०ः१८–१९) मा काश्मीरदेखि उत्तरतर्फको हिमालय, काराकोरम तथा हिन्दूकुश गरी तीन पर्वतमाला एकै ठाउँमा गाँसिएर रहेको क्षेत्र नै हाल नेपालमा रहेका खस ब्राह्मणहरूको उद्गमस्थल र यी तीन क्षेत्रबाट दुर्गम भञ्ज्याङ पार गरी यसदेखि पूर्वतर्फ रहेका हिमाली क्षेत्रहरूमा आवाद हुन आइपुगेको एउटा शाखा नै ब्राह्मण समुदाय हुन् भनेका छन् ।

खस आर्य वर्गमा पर्ने ब्राह्मणहरू ‘पछाइँ’ वा पश्चिमा र ‘पूर्वीया’ वा उपाध्यायका रूपमा पनि परिचित छन् । पश्चिमाहरू कुमाउतिरबाट आएका हुनाले पूर्वीयाहरूले उनीहरूलाई ‘पछाइँ’ भन्दै जाँदा पछि गएर ‘कुमाइँ’ भन्ने नाम दिन थालेको पाइन्छ । यी दुई ब्राह्मण (उपाध्यय) र ‘पछाइँ’ वा ‘कुमाइँ’ उपवर्ग बीचमा सामाजिक सम्बन्धहरू स्थापित गर्नका लागि सामान्यतया प्रतिबन्ध रहँदै आएको थियो । तापनि आजभोलि भने त्यस्ता प्रतिबन्धहरू रहेका छैनन् भनेका छन् आचार्य (२०६०ः२१) ले ।

यस्ता प्रतिबन्ध २००१ सालमा आएर मात्रै कानूनी रूपमै हटेको हो । यस प्रकरणमा ठूलै मुद्दा–मामिला परेको देखिन्छ । यसका लागि अदालतले फैसला नै गर्नु परेको थियो । उक्त फैसलाबाट पूर्वीया उपाध्याय र कुमाईबीच भातभान्सा र बिहेवारीमा लाग्दै आएको प्रतिबन्ध फुकुवा हुन पुगेको देखिन्छ । ५ पुस २००१ मङ्गलबार अदालतले गरेको फैसलाको सक्कलको छायाँप्रति ऐतिहासिक सामग्रीको सङ्ग्रहकर्ता मनोज श्रेष्ठ (काठमाडौं, हालः अमेरिका) बाट यो लेखकले प्राप्त गरेको छ ।

फैसलाको व्यहोरामा ‘…भात खाने खुवाउने र ती विवाह गरी लिने दिनेलाई बिहा गरी लिने दिनेका र त्यसबाट जन्मेका सन्तान र तिनीहरूका नाताकुटुम्बले समेत भात भान्सामा सरोवर गरी चली चलाई खाई खुवाई आएको हुनाले पूर्वीया उपाध्याय ब्राह्मण र पाका कुमाई उपाध्याय ब्राह्मण दुवै बरोबरी समान जात हुँदा पूर्वीया उपाध्याय ब्राह्मणले पाका कुमाई उपाध्याय ब्राह्मणका हातको भात खान खुवाउन र बिहावारी गर्न समेत हुन्छ हटक गरे हटक गर्नेलाई सजाय गरी भात र बिहावारी चलाई दिनू’ भनिएको छ ।

दिवंगत पत्रकार भैरव रिसाल

यो फैसला आएपछि पनि ब्राह्मणको यी दुई उपवर्गबीच सजिलैसँग विभेद हट्न नसकेको एक साक्षी हुन्, हालै दिवंगत पत्रकार भैरव रिसाल । २००४ सालको ‘जयतु संस्कृतम्’ मा सहभागी हुँदा रिसाल संस्कृत पाठशालामा साहित्य विषय लिएर मध्यमा पहिलो वर्ष (कक्षा ९) पढ्दै थिए । उनले ‘हिमालखबर’ (२८ वैशाख, २०७६) मा उल्लेख गरेअनुसार त्यसबेला संस्कृत पाठशाला पढ्नेहरूका लागि व्यवस्था गरिएको तीनधारा पाकशालामा ब्राह्मणभित्र पनि पूर्वीया र कुमाईहरूको छुट्टै भान्सा थियो ।

यी उपवर्गबीच यस्ता विभेद भए पनि जङ्गबहादुर राणाको उदयपछि राजदरबारमा उनै कुमाई उपवर्गका पाण्डे ब्राह्मणहरूलाई राजगुरु थापियो । नेपालमा राजतन्त्र कायम रहुन्जेल पाण्डे खलकले नै राजगुरुका रूपमा धर्माधिकार पाइरहे । दरबारका अन्तिम राजगुरु जनार्दनराज पाण्डे हुन् ।

भण्डारखाल पर्वपछि थप शक्तिशाली बनेका जङ्गबहादुरले विजयराज पाण्डेलाई राजगुरु नियुक्त गर्नुअघि दरबारमा पूर्वीया ब्राह्मणहरूले नै धर्माधिकार पाउँदै आएका थिए । इतिहासकार रामजी उपाध्यायले ‘नेपालको इतिहास अर्थात् दिग्दर्शन’ (२००७ः९०–९१) मा उल्लेख गरे अनुसार राम शाहको पालादेखि गोरखा राजवंशमा अज्र्याल, खनाल, भट्टराई, पाण्डे थरका पण्डितहरू गुरु–पुरोहित हुन्थे । जङ्गबहादुरलाई आफ्नो पदोन्नतिका क्रममा विजयराज पाण्डेले ठूलो सहयोग गरेको हुँदा कुमाई उपवर्गका ब्राह्मणले राजगुरुको पदमानमा स्थापित हुने अवसर पाएको उपाध्यायले उल्लेख गरेका छन् ।

युवराज सुरेन्द्रलाई विस्थापित गरेर आफूतिरका छोरा रणेन्द्रलाई युवराज घोषित गर्न जङ्गबहादुरले असहयोग गरेपछि अन्ततः उनको अन्त्य गर्नै पर्ने निष्कर्षमा पुगेकी राजा राजेन्द्रकी कान्छी रानी राज्यलक्ष्मीले यसका लागि गगनसिंहका छोरा वजिरसिंहका साथै काजी वीरध्वज बस्नेतलाई हात लिएकी थिइन् ।

यो समूहमा विजयराज पाण्डेलाई पनि संलग्न गरियो । उनलाई जङ्गबहादुरको निवासबाट भोजका लागि राजदरबारतिर निम्तो गर्ने जिम्मा दिइएको थियो । जङ्गबहादुरका छोरा पदमजङ्ग राणाले लेखेको ‘जङ्गबहादुरको जीवनयात्रा’ (२०७४ः८१) पढ्दा के थाहा हुन्छ भने विजयराज लगनटोलस्थित जङ्गबहादुरको तत्कालीन निवासमा पुग्नासाथ उनले अपमानजनक लवजमा सोधे, ‘यहाँ किन आएको ?’ हुन लागेको षडयन्त्र सबै थाहा भइसकेको आशङ्कामा विजयराज डरले थरथरी काम्दै रानीले मच्चाउन लागेको षडयन्त्रको सबै पोल जङ्गबहादुरसमक्ष खोलिदिए ।

त्यसपछि मच्चियो, १९०३ साल कात्तिकको भण्डारखाल पर्व । भदौमा मात्रै घटेको कोतपर्वपछि जङ्गबहादुर शक्तिमा आएका थिए । भण्डारखाल पर्वमा प्रधानमन्त्री हुने आशामा रहेका काजी वीरध्वज बस्नेत लगायत उनका सहयोगीहरू मारिए । विजयराजले पुरस्कारस्वरूप राजगुरु पाए भने उनका दाजु तीर्थराज राजपुरोहित भए । नेपालमा राजतन्त्र कायम रहुन्जेल उनीहरूकै सन्ततिले दरबारमा राजगुरु चलाएकोले उनीहरूलाई गुरुज्यू खलक भनिन्छ ।

लिम्बू गाउँमा प्रसाईंहरूको आगमन

प्रसाईंहरूको वंशावली खोजी र प्रकाशनमा सक्रिय तकदीरराज प्रसाईंलाई ‘प्रसाईं’ शब्दको व्युत्पत्तिबारे जिज्ञासा राख्दा उनले ‘परसाईं’ बाट प्रसाईं शब्द व्युत्पत्ति भएको बताए । तर यसको अर्थ खुलाउन आग्रह गर्दा उनी खुलेनन् ।

मलाई चाहिं इतिहास शिरोमणि आचार्य (२०६०ः२१) ले उल्लेख गरेको ‘पछाइँ’ बाट प्रसाईं अपभ्रंश भएको हो भन्ने लाग्छ । तर यो मेरो अनुमान मात्रै हो ।

प्रसाईंहरू पश्चिमतिरबाट सुदूरपूर्वमा रहेको लिम्बू गाउँहरूमा कसरी र कहिले आइपुगे ? यसबारे रोचक इतिहास स्वयम् प्रसाईंहरूकै वंशवृक्ष सङ्कलक तथा सम्पादकहरूले कहेका छन् ।

उपमणि प्रसाईं लगायतले सम्पादन गरेको ‘प्रसाईं वंश–वृक्ष’ को दोस्रो संस्करण (२०७२ः११) अनुसार बलियो भएकाले ‘अतिबल’ भनेर प्रख्याति कमाएका खडानन्द प्रसाईंले गोर्खाली राजाबाट अड्डा अदालतको निरीक्षणको जिम्मेवारी पाएका थिए । उनका रामकृष्ण, जगतमणि, कुलानन्द र नन्दीकेशर गरी चार भाइ छोरा थिए ।

एक दिन उनी कार्यालयमा बसिरहेका बेला दाह्री जुँगा नभएका, राडीपाखीका लुगा लगाएका दुई जना अनौठा मानिससँग भेट भयो । खडानन्दले उनीहरूलाई आश्चर्य मान्दै तिमीहरू को हौ भनी सोधे । उनीहरूले राजाले बाँधिदिएको थिति अनुसार आफूहरूले पनि सुब्बा अमालीको अधिकार पाउनुपर्नेमा अरूले बेदखल गरिदिंदा अन्यायमा परेकाले अरू १५ भाइको समेत अधिकार कायम गर्न राजासँग बिन्ती बिसाउन आएको भन्ने जानकारी दिए ।

त्यसपछि खडानन्दले बिन्तीपत्र लेखी राजालाई चढाइदिएपछि उनीहरूको जिम्मावाल अमालीको अधिकार कायम भयो । यस्ता जान्ने मान्छे पनि चाहिने रहेछ भन्ने सोची ती सुब्बाहरूले खडानन्दलाई तपाईंका सन्तान पूर्व आए भने आफूहरूको ठाउँमा आऊन् भनी निम्ता दिएर उनीहरू आफ्नो थातथलोमा फर्के ।

त्यसपछि खडानन्दका साहिला छोरा कुलानन्द आफ्नो परिवारका साथै जेठी भाउजू (रामकृष्णकी पत्नी) र उनका छोरा कर्णानन्द र हर्कदेवलाई साथमा लिएर आठराईको हाङपाङ आई पाँच सुब्बा खलकलाई भेटे । आफ्नी भाउजू र भतिजलाई हाङपाङमा छाडेर कुलानन्द भने इवा बस्न आए । पछि कुलानन्दका छोरा कर्णानन्दलाई हाङपाङ पाँच सुब्बा यक्सोहरूले थरी पदको जिम्मेवारी दिएका थिए ।

इतिहासकारहरू भगिराज इङ्नाम र शेरबहादुर इङ्नामले ‘तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा’ (२०७०ः१५९) मा उल्लेख गरेअनुसार यक्सो लिम्बूहरूले आफ्नो सुवांगीमा रहेको किपट क्षेत्रमा प्रसाईंहरूलाई बसोबासको प्रबन्ध गरेपछि पूर्वमा प्रसाईंहरू फैलिएका हुन् । उनीहरूलाई पाँच सुब्बा यक्सोहरूले आफ्ना आराध्यदेवी युमालाई मान्ने शर्तमा हाङपाङमा निम्तो दिएको इङ्नामद्वयले उल्लेख गरेका छन् ।

प्रसाईंहरूले लिम्बूहरूको आराध्यदेवी युमालाई मान्ने गरेको प्रसाईं वंशका ज्येष्ठ नागरिक जयकृष्ण प्रसाईंबाट सुन्ने अवसर पाएको थिएँ । मेरा वंशजका नाति कलाकार खगेन्द्र यक्सोका साथ २०६६ सालमा कलङ्कीस्थित उनका छोरा खगेन्द्र प्रसाईंको घरमा भेट हुँदा उनले आफूहरूले युमाको छुट्टै स्थान बनाएर पूजा गर्ने गरेको बताएको यतिखेर सम्झना आइरहेछ । जयकृष्णको देहान्त भइसकेको छ । उनी २०२९ सालमा हाङपाङको उपप्रधानपञ्च र २०३८ मा प्रधानपञ्च निर्वाचित भएका थिए ।

हाङपाङका प्रसाईंहरू नेपाली राजनीतिमा पनि अब्बल निस्के । रामबाबु प्रसाईं र सीके प्रसाईं नेपालमा नामी नेता भए । दीर्घराज प्रसाईं र नन्दकुमार प्रसाईं नीति–निर्माणको ठाउँसम्मै पुगे । बेनुपराज प्रसाईं र खगेन्द्र प्रसाईं मन्त्री नै भए । तर यहाँका यक्सो लिम्बूहरू भने गाविस अध्यक्षबाट माथि उठ्न सकेका छैनन् ।

यस्तै २०७३ सालमा साहित्यकार कृष्ण प्रसाईंले मसँगको एक संवादमा हाङपाङका प्रसाईंहरूले युमाको पूजा गर्ने गरेको बताएकोले यक्सो लिम्बू र प्रसाईंहरू एकअर्कामा अनुगृहीत रहेछन् भन्ने पुष्टि भयो ।

२०० वर्ष पुरानो इतिहास

पूर्वी नेपालमा आठराई थुम छ । आठराई थुम तेह्रथुम र ताप्लेजुङ दुवै जिल्लामा फैलिएको छ । पहिले पञ्चखत बाहेकको न्यायनिरुपण गर्नेदेखि जग्गाको तिरो उठाउने अधिकार पाउने जिम्मावाललाई सेनकालमा ‘राय’ पद दिइन्थ्यो । यहाँका आठथरका लिम्बूहरू सुनैवा, सेन्दाङ, कन्दङ्वा, हाङवाङ, इङ्नाम, पोमु, आङबुहाङ र यक्सोले यो पद पाएका थिए ।

यिनै आठ थरका रायको जिम्माको क्षेत्र भएकोले यस ठाउँलाई आठराय हुँदै पछि आठराई भनिएको हो । यही क्षेत्रमा मैनाली, सिटौला, उप्रेती, ओली, शिवाकोटी, भेटवाल, विमली, डाँगी, सङ्ग्रौला तथा प्रसाईं थरका कुमाई ब्राह्मणहरू पनि आएर बसे । आठराई क्षेत्रकै चुहानडाँडामा जन्मेका केपी शर्मा ओलीले यतिखेर राज्यप्रमुखको हैसियतले देश हाँकिरहेका छन् ।

यस लेखमा भने आठराई क्षेत्रकै एउटा गाउँ हाङपाङ क्षेत्रको सुवांगी पाएका यक्सो लिम्बूहरू र यस क्षेत्रका कुमाई ब्राह्मणमध्ये प्रसाईंहरूको सम्बन्ध केलाउने प्रयास भइरहेको छ ।

इतिहासकार शेरबहादुर इङ्नामले आफ्नो पुस्तक ‘इतिवृत्त’ (२०७७ः३२) मा उल्लेख गरेअनुसार १८८० सालतिर उनीहरू आठराई क्षेत्रमा आएका हुन् ।

‘प्रसाईं वंश–वृक्ष’ पहिलो संस्करण (२०५७ः५१) हेर्दा आठराई क्षेत्रको हाङपाङमा आउने कर्णानन्द र हर्कदेव दाजुभाइलाई छैटौं मानिएको छ र हालसम्मको कान्छो १४औं पुस्ता परेको छ । यसअनुसार हाङपाङमा प्रसाईंहरूको आगमन भएको आठ पुस्ता भएछ ।

सामान्यतया २५ वर्षको अन्तरलाई एक पुस्तान्तर मानिन्छ । यस अनुसार उनीहरूले यस क्षेत्रमा आएर बसोबास गरेको २०० वर्ष भएछ । इङ्नाम (२०७७ः३२) ले अनुमान गरेको प्रसाईंहरूको आठराई क्षेत्रमा आगमन भएको वर्ष १८८० साल वास्तविकताको नजिक देखिन्छ ।

प्रसाईंहरूले वंशावलीमा आफूहरू हाङपाङका पाँच सुब्बा यक्सोहरूको आमन्त्रणमा आएको उल्लेख गरेको प्रसङ्ग माथि पनि परिसकेको छ । यताबाट पनि अलिकति इतिहासको चर्चा गर्न मनासिव देखिन्छ ।

यक्सो लिम्बूहरूमा २२औं पुस्ताका राजगुन्द निकै प्रभावशाली सुब्बा थिए । यक्सोहरूको वंशावली ‘यक्सो इत्लाम’ (२०७३ः७६) अनुसार राजगुन्दको राजवीर, जस्नवीर, मतिराज, जङ्गदल र गजवीर गरी पाँच भाइ छोरा भए । ती पाँच भाइ छोराहरूका लागि पाँचै भाग सुवांगी बाँडियो । त्यसपछि यो खलकलाई ‘पाँच सुब्बा’ यक्सो भन्न थालिएको हो ।

यक्सोहरूसँग रहेको पुराना कागजपत्रको अध्ययन गर्दा विक्रम संवत् १८८० को दशकपछि राजगुन्दका छोरा राजवीर सुवांगीमा सक्रिय भएको देखिन्छ । उनै राजवीर लगायत उनका भाइहरूमा सुवांगी बाँडिएपछि पाँच सुब्बाको अवधारणा आएको हो । वंशावली लेख्ने प्रसाईंहरूले पनि आफूहरू पाँच सुब्बा यक्सोहरूको आमन्त्रणमा हाङपाङ आएको उल्लेख गरेकोले उनीहरू १८८० सालतिरै हाङपाङ आइपुगेका हुन् भन्न सकिन्छ ।

१८३ वर्षअघिको लिखित प्रमाण

हाङपाङ आइपुगेको केही वर्षपछि प्रसाईंहरूले यक्सो लिम्बूहरूसँग एक सम्झौता गरेको लिखतको फोटो इतिहासकार भगिराज इङ्नामको सौजन्यमा मेरो हातमा आइपुगेको छ । यो लिखतको सक्कल हाङपाङका पाँच सुब्बा खलकका काजीमान यक्सोसँग सुरक्षित छ ।

 

यो लिखतमा यक्सो लिम्बू सुब्बाहरू राजवीर, हक्र्या, श्रीवाज र गजवीरबाट सिद्धिनारायण प्रसाईंले त्यस क्षेत्रको एउटा ठूलो खर्क प्राप्त गरेका छन् । यसका लागि सिद्धिनारायणबाट ती लिम्बू सुब्बाहरूले ४० रुपैयाँ प्राप्त गरेका छन् । कागज अनुसार यो जग्गा पहिले धनकर्ण राईले चर्चिव्यहोरी आएका थिए । पछि आन्मल राईले कमाएका थिए ।

यो सम्झौता हुँदा रूपदल राई र बहामान राई साक्षी बसेका छन् । असाध्यै परिपक्व र सुन्दर अक्षरमा यो लिखत तयार पार्ने जयमंगल उपाध्याय देखिन्छ । यो लिखतले पनि हाङपाङका यक्सो लिम्बूहरूसँग प्रसाईं ब्राह्मणहरूको सम्बन्धको इतिहासलाई उजागर गर्न ठूलो सहयोग पुग्ने देखिन्छ । लिखतको व्यहोरा यस्तो छः

स्वस्ति श्रीसंवत् १८९९ साल मिति मार्गसिर शुदि ७ रोज ६ शुभदिन लिषितं धनिका नाम सिद्धिनारान् प्रसाइ विहोरिनिक नाम शुवा राज्विर राई शुवा हक्र्या राइ श्रीवाज राई गजविर राई त नगत मोहोर रुपैया ४० अछेरेपि चालिस् इन् रुपैया मध्येः धनकर्न राइले षाया चच्र्याको षरकः वेत्यानि आन्मल् राइले कमायाको लाहोस्ये स्मेत् वढो मुल्वाटादेषि उभोः वोल्लो कुवानिदेषि पुढो येति जगहः रुपैया ४० निव्र्याज षाइः षरक दिञु भस्म्या फाडि वार वारि षानु लोहोस्ये नकमाउनु चर्को वुजो सहुलाः येस षर्कमा षेषिचला पर्‍या भन्या त्यो भन्या षर्कको वालि वुझाउला भनि सवै शुवा वसि मनोमानिसंग हिउधा वष्र्या षरक षानु भनि साहुलाइ तमसुक लोषिदिञुः साछि शुवा रूपदल राइ साछि वाहामान् राई लिषका साछि जय मंगल् उपाध्याः साकिं चुवा शुभम् ।

पाँच सुब्बा खलकमा चर्चा हुने गरे अनुसार जग्गा सम्बन्धी किचलो वा मुद्दा–मामिला परे राजगुन्दका कान्छा छोरा गजवीर फिराद लिएर काठमाडौंसम्म जाने गर्थे । सम्भवतः उनैलाई काठमाडौंमा प्रसाईंहरूले फिरादपत्र लेख्न सहयोग गरेकोले उनले पनि प्रसाईंहरूलाई आफूहरूले रस्ती रसाएको र बस्ती बसाएको क्षेत्रमा लेखापढीलाई सहज बनाउन आमन्त्रण गरे ।

हाङपाङमा किपटको सुवांगी पाउने यक्सो लिम्बूहरूमा राजगुन्दका खलकलाई पाँच सुब्बा भनिन्छ । यस्तै श्रीदेउ, सर्वजित र गुदिम रायको खलकले पाएको सुवांगीलाई तीन सुब्बा भनिन्छ भने वेन्नु रायको खलकले पाएको सुवांगीलाई खुवाली सुब्बा भनिन्छ ।

१८३ वर्षअघिको यो लिखतमा रहेका लिम्बू सुब्बामध्ये श्रीवाजको नाम देख्दा उनको सन्तति हुनुको ऐतिहासिक विरासतको गौरवले मेरो छाती चौडा भयो । उनको सन्तति हुँ म । उनी मेरा बराजु भगिवन्तका हजुरबुबा हुन् ।

हाङपाङका प्रसाईंहरू नेपाली राजनीतिमा पनि अब्बल निस्के । रामबाबु प्रसाईं र सीके प्रसाईं नेपालमा नामी नेता भए । दीर्घराज प्रसाईं र नन्दकुमार प्रसाईं नीति–निर्माणको ठाउँसम्मै पुगे । बेनुपराज प्रसाईं र खगेन्द्र प्रसाईं मन्त्री नै भए । तर यहाँका यक्सो लिम्बूहरू भने गाविस अध्यक्षबाट माथि उठ्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?