
‘सिर्जना उत्सवमा सहभागी भइरहँदा मलाई लागिरह्यो- मन्चमा मात्र सीमित नभएर यात्राभरि पनि उत्सव नै उत्सव थियो ।’ कवि गीतकार दिनेश अधिकारीको यही वाक्य यसपटकको बटमलाइन हो । अन्तिम हुन नसकेको यही वाक्यले नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले देशका विभिन्न भागमा गएर गर्दै आइरहेको कलासाहित्य यात्रा र ‘सिर्जना उत्सव‘ को भव्यतालाई प्रकट गर्छ ।
सृजना उत्सवको १८ औ श्रृंखला यस वर्ष रुकुम पश्चिममा चैत २२ र २३ चैतमा सम्पन्न भयो । कलासाहित्य यात्राको १८ औं मध्ये दिनेश दाइको यो दोस्रो कलासाहित्य यात्रा हो । यसअघि उहाँ बिराटनगरमा भएको उत्सवमा सहभागी हुनुहुन्थ्यो ।
म त नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले गर्ने अधिकांश कलासाहित्य यात्रामा सहभागी छु । त्यसो १६ भन्दा बढी यात्रामा सहभागी भएपछि मलाई के लाग्यो भने, कलासाहित्यको माध्यमबाट मोफसललाई राजधानीसँग र नेपाललाई विश्वसँग जोड्ने अभियानमा सक्रिय रहेको यस प्रतिष्ठानको व्यवस्थापन र संयोजन सधैँ प्रसंशनीय छ ।
यस वर्षको कलासाहित्य यात्रा २०८१ को गन्तव्य रुकुम पश्चिम रह्यो । नेपाली कला साहित्य डटकम प्रतिष्ठान काठमाडौँको आयोजना र राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको सहआयोजना एवम् त्रिवेणी गाउँपालिका, मुसीकोट नगरपालिका रूकुम पश्चिम र विभिन्न स्थानीय समाजसेवी व्यक्तिहरूको सहयोग एवम् समाजसेवी स्रष्टा पूर्ण ओलीको संयोजनमा सृजना उत्सव २०८१ गरिएको हो ।
गत चैत्र २२ गते सिर्जना उत्सवको पहिलो सत्र त्रिवेणी गाउँपालिकाको शहीद स्मृति भवनमा विभिन्न सांस्कृतिक प्रस्तुतीसहित ठाडी भाकाको प्रतियोगीता र कविता वाचन भयो भने दोस्रो दिन चैत्र २३ गते मुसीकोटमा विभिन्न सांस्कृतिक झॅाकीसहित कविता प्रतियोगिता, दृश्यमा देश दर्शन, कवितावाचन, कवि डा अमर शाहको पुस्तक लोकार्पण, योगेश्वर वाङ्मय पुरस्कार र ग्रेगरी कलासंस्कृति पुरस्कार समर्पणका कार्यक्रमसहित सम्पन्न भयो । त्यसका लागि लेखककविहरुको टोली नेपाली कलासाहित्य डट कम प्रतिष्ठानका अध्यक्ष मोमिलाको नेतृत्वमा चैत २० गते काठमाडैबाट प्रस्थान गरेको हो ।
सिर्जना उत्सवमा नेपालका प्राय सबै प्रदेशबाट जम्मा भई काठमाडौंबाट यात्रा प्रारम्भ गरी रुकुम पश्चिम पुगेका २० जना स्रष्टाहरूमा नेपाली कलासाहित्य डट कम प्रतिष्ठानका प्रमुख संरक्षक, नेपाल सरकारका पूर्वमुख्यसचिव डा. बिमल कोइराला, कवि गीतकार दिनेश अधिकारी, कवि मुक्तककार उषा शेरचन, निवन्धकार र प्रतिष्ठानका अध्यक्ष मोमिला, कवि तथा उपाध्यक्ष राजेश्वर कार्की, कवि कथाकार डा. अमर शाह, कलाकार फोटोग्राफर सुन्दर बस्नेत, स्रष्टा महेश पौड्याल थिए ।
यसैगरि निवन्धकार श्रीओम श्रेष्ठ रोदन, साहित्यिक अन्वेषक जयदेव भट्टराई, कवि लक्ष्मण गाम्नागे, कवि उपन्यासकार सरस्वती प्रतिक्षा, कवि कविता राई, केशव सिग्देल, भागवत खनाल, तारा सनुवार, पत्रकार आस्था के.सी, गजलकार कपिल अञ्जान, कवि रोशन परियार सहित म सहभागी थिए । रुकुमका दुई स्थानमा भएका सृजना उत्सवमा नजिकका जिल्लाहरू जाजरकोट, बॅाके, दाङ, सल्यानबाट आएका स्रष्टाहरूको पनि विशेष सहभागिता रहेको थियो ।
यसमा प्रमुख जिल्ला अधिकारी,जिल्ला समन्वय प्रमुख, त्रिवेणी गाउॅंपालिकाका अध्यक्षलगायत अन्य पदाधिकारीहरू, मुसीकोट नगरपालिकाका प्रमुख, उपप्रमुखहरू, पूर्व राज्य मन्त्रीलगायत प्रमुख प्रशासकीय अधिकृतहरू र सबै उमेर समूहका कलासाहित्यप्रेमीहरूको जमघटले कार्यक्रममा विशेष रौनकता थपिएको थियो ।
त्यस्तै कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा, नेपाल सरकारका पूर्व मुख्य सचिव तथा साहित्यकार डाक्टर विमल कोइराला, जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी लगायतका साहित्यकार, जनप्रतिनिधि, कर्मचारी तथा साहित्य तथा कलाप्रेमीहरु सहभागी थिए ।
दुबै स्थानमा भएका कार्यक्रममा प्रतियोगी स्थानीय कलाकार र कविहरुलाई पुरस्कृत गरिएको थियो भने आमन्त्रित कवि तथा लेखकहरुले पनि आआफ्नो सिर्जना प्रस्तुत गरेका थिए । रुकुम जिल्लाको साहित्यिक ईतिहासमा पहिलोपल्ट यसप्रकारको कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक पुर्ण ओलीले दावी गर्नुभएको छ ।
यात्रामा रमाइलै रमाइलो
यसपटक यात्रामा निस्कदा मसँग सम्झनाहरु थिए ।
फुक्काफाल हुनु मेरो स्वभाव हो । तर यसपाली सोचेजस्तो सहज अवस्था थिएन । वर्षको अन्तिम समय भएर पनि होला सक्नु पर्ने केही कामका सूची थिए । काम सकेर बुझाउनु पर्ने हतारो थियो । लेखन र भिज्युअल सम्बन्धि ती कामका जिम्मेवारीबाट पन्छिएर ६ दिन यात्राका लागि छुट्याउन मलाई हम्मे हम्मे परेको हो ।
तर करिव ४ महिनाअघिदेखिको मोमिला दिदीले मागेको स्वीकृति, भव्य र ऐतिहासिक कार्यक्रममा सहभागी हुने आफ्नो लोभ र कार्यक्रमसँगै देशदर्शनको चाहले म रुकुम जान निक्लिए । र साथमा थिए गर्नुपर्ने काम र भेट्नु पर्ने प्रिय मानिसहरुका सम्झना ।
बिहान पौने ६ बजे म बबरमहलको आर्ट काउन्सिलमा पुग्दा भागवत खनाल आइसक्नु भएको रहेछ । गाडीका चालक राम र सहचालक श्याम तमतयार थिए । त्यसपछि क्रमश यात्रामा सहभागीहरु आउनेक्रम बढ्दै गयो । सुन्दर बस्नेत, जयदेव र श्रीओम दाजुहरु, डा विमल कोइराला र दिनेश अधिकारी ।
सहभागी सबै आएपछि सामान्य नास्ता लिएर हामी हान्नियौं पोखरा बाग्लुङतिर ।
पोखराको बाग्लुङ बसपार्कबाट कवि उपन्यासकार मेरा मित्र सरस्वती प्रतिक्षा गाडीमा थपिनु भयो । नौ डाँडा उक्लिएर लुम्ले पुगेपछि वर्षौं पहिले मुस्ताङमा भएको कलासाहित्य यात्राका क्रममा लुम्लेमा बास बसेको सम्झिएँ । कलाकार राजन काफ्ले र मित्र ठाकुर वेल्वासेलाई सम्झिए । डा ध्रुवेशचन्द्र रेग्मी, शेखर खरेल, प्रमोद उपाध्याय र श्याम नेपालीलाई सम्झिए । उनीहरुसँग यहाँ र मुस्ताङमा बिताएका केही अनौपचारिक निकै प्रिय पलहरु सम्झिएँ ।
डा विमल कोइरालाको सत्य घट्नामा आधारित धाराप्रवाह हँस्यौली सुन्दै बाग्लुङ कालिका पुग्दा साँझ झमक्क परिसकेको थियो । आज नै देवीको दर्शन गर्ने कुरा भयो ।
जंगलै जंगलले घेरिएको बाग्लुङ कालिका पुग्दा साँझको आरती भइरहेको रहेछ । श्रीओम दाइले देशभरका मन्दिरमा पछिल्लो समय आरती संस्कृति कसरी पुनजागृत भयो भन्नेबारे हामी सबैलाई जानकारी दिनुभयो ।
भुँमे गाउँ, गुरासँ र चित्रजस्ता रुखहरु
बाग्लुङ बजारमा बिउँझिएको बिहान जय दाइ र म मर्निङ वाकका लागि तल ओर्लिदा हामी बसेको होटल शितलको ढोका पनि खुलेको थिएन । हाम्रो आवाजपछि सहयोगी भाइले ढोका खोले । हामी हान्निदै बाग्लुङ बजार निक्लियौं ।
बिस्तारी बिउँझिदै थियो बजार । कलेज जाने केटाकेटीहरु, साइकलमा दुध बेच्न हिड्नेहरु र परेड खेलिरहेका सैनिक जवानहरु हेर्दै हामीले करिव आधा घण्टा हिड्यौ । लगभग बजार छ्यान मारियो । फर्किएर होटलमा चिया पिउँदै गर्दा दिनेश दाइ र कवि रोशन पनि थपिए । हामी फेरि बजार हिड्यौ । जय दाइलाई किन्नु थियो – काँइयो । फोटो खिच्नुअघि सधैँ पेन्टको पछाडी गोजीबाट काँइयो निकालेर कपाल कोर्दै तयार हुने जय दाइको चिरपरिचित बानी मलाई सर्वाधिक प्रिय लाग्छ ।
नास्ता लिएर हामी लाग्यौं रुकुमतिर ।
‘हेर त चित्र जस्ता रुखहरु ।’ उषा दिदी चिच्याउनु भो ।’
बाहिर हेर्दा निपुण कलाकारले बनाएको अब्बल कलाकृतिजस्तो एकनाथका रुखहरुले भरिएको हरियो डाँडो । हिजोसम्म प्रदुषणले भरिएको काठमाडौं, पोखरा र बाग्लुङमा बिताएका हामी यतिखेर रुकुम छिरेका थियौं र रुकुम भित्रिएसँगै खुला देखिएको थियो निलो आकाश । थोरै सेता बादल भएको फराकिलो निलो आकाशले हामी दंग थियौं । त्यसमाथि थपिएको थियो हरियो जंगल र एकनाशका रुखहरु ।
‘आहा गुँरास ।’ सरस्वती जीले भनेसँगै सबैका आँखा सडक किनार र वरपरका जंगलतर्फ दौडिए । गुँरासका जंगलले पुरै बन नै राताम्मे ।
भुँमे गाउँ पुगेपछि चाँही हौसिने र बहुलाउने पालो मेरो आउँछ । लुकुम गाउँको माथितिर डाँडामा रहेको एकनाशका ढुंगे घरहरुले भरिएको भुँमे गाउँ निकै आकर्षक देखियो । अग्ला रुखहरु र खुला पाटन जस्ता डाँडाकाँडा । जता आँखा ओच्छायो त्यतै मिल्ने आनन्द । म त के गरौं र कसो गरौं भएँ – खुशीले । तर रोकिने समय थिएन । त्यसो त चाहेर पनि कहाँ रोकिन सकिन्छ र – यात्रामा होस् या जीवनमा, रोकिने छुट हामीलाई छैन ।
रोकिनु भनेको सकिनु पनि हो । गतिशीलता जीवनको शौन्दर्य हो ।
पर देखिने डाँडाहरुको श्रृंखलाको अन्तिम चुचुरोमा पुगेर सूर्य डुब्यो ।
त्यसको निकैबेर पछि अर्थात साढे सात बजेतिर हामी पुग्यौ – रुकुम पश्चिमको मुसिकोट ।
मुसिकोटको एशियन होटलमा हाम्रो स्वागतमा थिए – पूर्ण ओली सर र मित्र महेश केसी लगायतको एउटा ठूलो टोली ।
शहीदको समाधिमाथि ठाडी भाकाका लय
भात खाने काँसैको थाल पानी खाने बेला
ज्यान गया जत्तिकै लाग्छ जोबन जाने बेला
नेपाली कला साहित्य डटकम प्रतिष्ठानको आयोजना र राप्ती साहित्य परिषद् रुकुम पश्चिमको सहआयोजनामा भएको सिर्जना उत्सवको पहिलो सत्रमा त्रिवेणी गाउँपालिकाको शहीद स्मृति भवनमा यसरी मौलिक ठाडीभाका घन्किएको हो ।
ठाडीभाकामा मुसीकोट नगरपालिका –२ का कमल खड्काको समूह प्रथम भयो । त्रिवेणी गाउँपालिका ४ की अस्माली खड्काको समूह द्वितीय, त्रिवेणी १ की तिल्सरी विक तृतीय र मुसिकोट नगरपालिका वडा नम्बर १० का हिरालाल कठायतको समूह तथा त्रिवेणी गाउँपालिका ४ की प्रतिभा खड्का सान्त्वना भएका थिए ।
म तिर्न सक्दिन क्याहो बाउआमाको भारा
अर्गानिक तरकारी फल्ने हाम्रो रुकुम खारा
ठाडीभाकामा प्रथमले २५ हजार, दोस्रो हुनेले १५ हजार, तृतीयले १० हजार र सान्त्वनाले समान पाँच/पाँच हजार नगद र प्रमाणपत्र प्राप्त गरे । ‘ठाडीभाका प्रतियोगीतामा कुल २० टिम दर्ता भएकोमा त्यसबाट मूल्याङकन गरेर पाँच वटामा झारेर पुरस्कार छनौट गरिएको हो,’ संयोजक पूर्ण ओलीले भन्नुभयो । सरल, मृदुभाषी र सहयोगी पूर्ण सरको सरल व्यवहारको म प्रशंशक नै बनेँ ।
सुनारैकी छोरी राम्री मुन्टैमा तिलरी
नसम्झाइदे मैनाचरी बिर्सेका बिलरी
ठाडी भाका तर्फको प्रथम पुरस्कार मुसिकोट ५ को न्यु मुन लाइट बोर्डिङ स्कुल, द्वितीय पुरस्कार भूपेन्द्रा मल्ल, तृतीय पुरस्कार बमकाजी श्रीपालि तथा सान्त्वना पुरस्कार पूर्ण ओली र मनलाल ओलीले प्रायोजन गर्नुभएको थियो । गीतसंगीत र साहित्य संस्कतिका लागि यसरी समुदायस्तरमा नै सहयोग हुनु सुखद कुरा हो ।
सिर्जना उत्सवमा नेपाली कला साहित्य डटकमका अध्यक्ष मोमिला, नेपाल सरकारका पूर्व मुख्य सचिव तथा कवि डा. विमल कोइराला, कवि गीतकार दिनेश अधिकारी, कर्णाली प्रदेशका पूर्व सचिव भरतकुमार शर्मा, जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम, त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश केसी लगायतले व्यक्त गरेका विचार श्रवणीय थिए ।
कविताले सबैलाई रुवाइन्
बाबालाई एक्लै हामीलाई एक्लै कसरी बनायो
हाँसेर लियो निष्ठुरी काल बिपती जनायो
सोचिन मैले यो दिन चाँडै आउला भनेर
आशमा हामी बस्दैछौं आमा भेट्छौं कि भनेर
हिक्क हिक्क गर्दै कविता ओलीले कविता सुनाइन् । मसँगै बसेरहेकी कवि पत्रकार आस्था केसी भक्कानिइन् । उनी पूर्वमाओवादी लडाकु हुन् । यति कमलो मानिसले कसरी सेना प्रहरीमाथि प्रहार गरिन् होलिन् । ‘सर हामी विचारले अभिप्रेरित भएर व्यवस्था बदल्न होमिएका । त्यसबेला हामीलाई डर कम र विश्वास बढी थियो ।’ आस्थाले मेरो मनको भाव बुझे झै गरेर भनिन् ।
‘ अनि अहिले ?’ रोइरहेको आस्थालाई मैले सोधेँ ।
‘अहिले नेतृत्वबाट केही गल्तीहरु भएका छन् । तर हाम्रो विश्वास गुमेको छैन ।’ रोइरहँदा मायालाग्दो देखिएको उनको अनुहार एक्कासी कठोर देखियो ।
स्टेजमा बसिरहेका कविताका बाबु मनराज पनि रुन थाल्नु भो । कविताकी आमा मनराजकी श्रीमती बितेको ६ महिनापनि भएको रहेनछ । बाबु छोरीसँगै सिंगो सभाकक्ष भक्कानियो । मनराज हिक्का छाड्दै गलामा पहिरिएको खादाले आँसु पुछ्दै रोएको देखेर मेरो आँखा पनि भरियो ।
यसरी धेरै पछि म रोएँ ।
नेपाली कला साहित्य डट कम प्रतिष्ठानको आयोजना र राप्ती साहित्य परिषद् रुकुम पश्चिमको सह आयोजनामा सिर्जना उत्सव भएको हो । उत्सव अन्तर्गत कविता प्रतियोगितामा कविता ओली दोस्रो भइन् ।
जिएम दीपु दीपेन्द्र प्रथम भए । उनको कवितामा आत्महत्या गरेर मरेको मानिसको प्रलाप थियो र जीवन मास्नु हुँदैन भन्ने सन्देश । जिल्ला स्तरीय कविता प्रतियोगितामा ५४ जनाले नाम दर्ता गराएकामा ३४ वटा कविता प्रतिस्पर्धामा थिए । जसबाट १२ जना वाचनका लागि छनौट गरिएको थियो ।
मुसिकोटमा भएको सृजना उत्सवमा उत्कृष्ट १२ का बिचमा प्रतिस्पर्धा भएकोमा दीपेन्द्र प्रथम र कविता द्वितीय भएका हुन् । हर्कसिंह केसी तृतीय र खीमबहादुर खड्का तथा अर्जुन ओली सान्त्वना भए ।
प्रतियोगिताको निर्णायकमा साहित्यकार श्रीओम श्रेष्ठ रोदन, कवि सरस्वती प्रतिक्षा र रोशन परियार थिए । ‘निर्णय गर्न कुनै गार्हो भएन । हामी तीनै जनाको छनौट मिल्यो ।’ धेरै पुरस्कारका निर्णयकर्ताका रुपमा काम गर्दै आएका साहित्यकार श्रीओम दाजुले भन्नुभयो ।
‘कविताहरु सबै राम्रा थिए । तर केही कविता त निकै लोभलाग्दा सुनिए,’ निर्णायक बनेकी सरस्वतीले भन्नुभयो ।
कविता प्रतियोगिताका प्रथमले २५ हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वनाले समान ५–५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रथम पुरस्कार विजयश्वरी बोर्डिङ स्कुल, द्वितीय पुरस्कार रुकुमेली क्याम्पस, तृतीय पुरस्कार त्रिभुवन जनता मावि तथा सान्त्वना पुरस्कार साधन शर्मा र धनबहादुर खड्का वसन्तले प्रायोजन गरेको अध्यक्ष मनराज ओलीले जानकारी दिनुभयो ।
सिर्जना उत्सवकै कार्यक्रम अन्तर्गत कथाकार एवम् कवि अमर शाहको दोस्रो कवितासंग्रह ‘गाउँ छाडेको मान्छे‘ सार्वजनिक गरियो । त्यसअवसरमा कवि शाहलाई योगेश्वर वाङमय पुरस्कारको सम्मान पनि समर्पण गरियो । भित्ताभरि सयौं शहीदहरुको तस्वीर टांगिएको आधुनिक सभाभवनमा भएको त्यस कार्यक्रममा काठमाडौंबाट गएकी कवि तारा सुनवारले समसामयिक कविता सुनाइन् –
जसको नाममा शासनसत्ता फेरिए
उसैको अवस्था कहिल्यै फेरिएन
जहाँ जसरी थिए उसै गरि रहिरहे
फेरि कसरी विश्वास गरौं म
शासन सत्ता फेरिदैमा सबथोक फेरिन्छ भनेर ।
कमल दह घुमेर नाइट बसमा दिउँसो यात्रा
मुसिकोट छाड्दै थियौं हामी ।
हामीलाई बिदा गर्न बिहान पाँचै बजे पूर्ण सर र साथीहरु हामी बसेको होटलमा आइपुग्नु भयो । स्थानीय सबै साथीहरुसँग औपचारिक बिदाबारी भएर हामी हतार हतार बसमा चढ्यौं ।
बिहान गुडेदेखि नै गाडीले अलिअलि धोका दिदै आएको हो । प्राविधिक समस्या देखिएपछि राम र श्यामलाई मात्र होइन हामीहरु पनि पटक पटक हैरानीमा पर्यौं – विशेष गरि सुन्दर, म, तारा र सरस्वती पानी ओसार्ने र राम/ श्यामलाई सहयोग गर्न तल्लिन भयौं । क
सोचेभन्दा ढिला गरि हामी कमल दह पुग्यौं ।
अस्ती जाँदा गाडीबाट मात्र देखेको कमल दह ओर्लेर घुम्दा निकै आनन्द आयो । भटाभट फोटो खिच्न थाल्यौं ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ रुकुमकोटमा रहेको कमल दह निकै आकर्षक लाग्यो । यो दह १६ सय मिटर क्षेत्रफलमा फैलिएको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण दह ऐतिहासिक पनि रहेछ ।
मध्यपहाडी लोकमार्गको छेउमै रहेको कमलदहमा पुग्न अहिले सजिलो पनि भएको छ । अहिले तीनै तहका सरकारले कमलदह परिसरमा भौतिक संरचना पनि निर्माण गरेका रहेछन् । दहको वरिपरि धार्मिक मठमन्दिरहरू पनि छन् । यस दहको मुख्य विशेषता भनेकै कमलको फूल रहेछ ।
अहिले कमल फुलेको त थिएन । तर हामी जे जति यात्रामा थियौं ती सबै कमलभन्दा कम उज्याला र आकर्षक पनि थिएनौं ।
लकुम भुँमे गाउँ पुगेपछि हामी चढेको गाडी तत्काल अघि नबढ्ने भो ।
यहिनेर देखियो मित्र तारा सुनुवारको सक्रियता र अवस्थाप्रतिको संवेदनशीलता ।
प्रहरीको सहयोगमा हामी बाग्लुङसम्म पब्लिक बसमा जाने भयौं । उतै हामीलाई लिन नयाँ गाडी पोखराबाट आउने तय भयो । यसका लागि मोमिला दिदी, राजेश्वर दाइ र सुन्दरले गाडी कम्पनीसँग पटक पटक सम्वाद गरेर अवस्थालाई सहज बनाउनुभएको थियो ।
‘कलासाहित्य यात्रामा कहिल्यै यस्तो भएको थिएन ।’ मोमिला दिदीले भन्नुभयो । उहाँको सबैलाई मिलाउन सक्ने उर्जा र उच्चस्तरको व्यवस्थापकीय क्षमताले नै १८ वर्षदेखि नियरन्तर कलासाहित्य यात्रा र सृजना उत्सव सफल हुँदै आइरहेको हो ।
‘यो पनि एउटा फरक अनुभव बन्ने भयो,’ डा विमल कोइरालाले भन्नुभयो । सरल र निकै सौम्य व्यक्तित्व विमल कोइराला नेपाली प्रशासनिक क्षेत्रका प्रतिष्ठित हुनुहुन्छ । उच्च बौद्धिक र सत्य घट्नासँग जोडिएका उहाँका अनुभवले यो सिंगो यात्रा सहज बनेको हो ।
र रुकुम मैकोटबाट काठमाडौंका लागि हिँडेको नाइटबसमा अपरान्हको १२ बजे चढ्यौं । बसको नाम थियो काँक्री डिलक्स । लगभग खाली गाडीभित्र हाम्रो टोली चढेपछि बसमात्र भरिएन, हाम्रो मन पनि डरले भरियो … ढक्क । किशोर चालक र सहचालकको हतारो र अधैर्यताले मैले यात्राभरी हाम्रा चालक दलका सदस्यहरु राम र श्यामलाई सम्झिरहेँ ।
गाडीको अन्तिम सिटमा थिएँ म । मेरो अगलबगलमा थिए – प्रिय लेखक सरस्वती प्रतिक्षा र कवि रोशन परियार ।
सरस्वतीको गुँरास मोहले मेरो डर त कम गर्यौ तर झण्डै उहाँले झ्यालबाट आफ्नो मोबाइल खसालेको । बाहिर हात निकाली निकाली उहाँ गुँरासको फोटो खिच्दै हुनुहुन्थ्यो – अप्ठेरो बाटो र गाडीको गतिबीच सन्तुलन नमिल्दा पटक पटक गाडी उफ्रिन्थ्यो ।
काठमाडौं हिँडेको नाइट बसमा दिउँसो गुड्दै सरस्वती र मैले केही साथीहरुको कुरा काट्यौं । देश विदेशका लेखनको चर्चा गर्यौं । उहाँले भनेको केही वाक्यचाँही मनमा गहिरोसँग बस्यो – ‘मानिसले प्रेम गर्नुपर्छ । प्रेम नगरि मानिसले झुक्न जान्दैन र जिन्दगीका हरेक मोडमा दुःख पाउँछ । दु:ख उसले मात्र पाउँदैन । उसले समाजलाई पनि दु:ख दिन्छ ।’
निकै अबेला हामी बाग्लुङ पुग्यौं – पोखराबाट हामीलाई लिन आएको सुविधासम्पन्न गाडी चढेर पोखरा हान्नियौं ।
फेवा किनारमा सरुभक्तको प्रेम
‘सुन्नु न’ हामी बसेको होटलकी साहुनीले मलाई भन्नुभयो । म उहाँतिर फर्किए । पाको उमेरकी उहाँ अनुभवले खारिएकी र उज्याली हुनुहुन्थ्यो ।
बिहानबिहानै फेवाताल घुमेर हामी होटल आइपुगेका थियौं । खाजा खाएर काठमाडौं हिड्ने तयारी हुँदै थियो ।
‘उहाँसँग तपाईँहरु सबैले पालैपालो फोटो खिच्नु भयो । सबैले निकै महत्व दिनुभयो । को हुनुहुन्छ उहाँ ?’ उहाँले सरुभक्तलाई देखाउनुभयो ।
‘ उहाँ त सरुभक्त । राम्रा लेखक ।’ मैले भनेँ ।
‘ ओहो, म चिन्छु नि । कत्ति पढेकी छु उहाँलाई । लौन मेरो पनि फोटो खिचिदिनु ।’ उहाँले लगाइरहेको कुर्ता सरवार अलि तन्काउनुभयो । कपाललाई दुबै हातले मिलाउनुभयो र मलाई मोबाइल थमाइदिनुभयो । सरुभक्त दाइ पनि सहज रुपमा उहाँसँग फोटो खिच्न उभिनु भयो ।
पछि गफ गर्दै जाँदा थाहा भयो । होटल सञ्चालक सीता पौडेल अधिकारी पहिले कविता र नाटकहरु लेख्ने र खेल्ने गर्नुहुँदो रहेछ । साहित्यको पारखी हुनुहुँदो रहेछ ।
एउटा साहित्य प्रेमीकै होटलमा हामीले रात बिताएका रहेछौं ।
प्रतिक्रिया 4