+
+
Shares

शिक्षक आन्दोलनप्रति रामकुमारी झाँक्रीको टिप्पणी– रमिता बढी भयो

शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक तथा कर्मचारीहरुलाई झाँक्रीले प्रश्न गरेकी छन्, ‘के ऐन सडकबाट पास हुने हो र ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ६ गते १०:३३

६ वैशाख, काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले शिक्षक तथा कर्मचारीहरुले सडकमा रमिता देखाएको टिप्पणी गरेकी छन् ।

शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक तथा कर्मचारीहरुलाई झाँक्रीले प्रश्न गरेकी छन्, ‘के ऐन सडकबाट पास हुने हो र ?

शिक्षक, सरकार र संसदको बिचमा समन्वय र संवाद गराउन आफूले प्रयास गरेको तर शिक्षकहरुले संवाद नै नगर्ने भनेको झाँक्रीको भनाइ छ ।

‘उहाँहरू त संवाद नै नगर्ने रे ? शिक्षा ऐन अहिले नै पास हुनुपर्छ अन्यथा हामी विधालय फर्कदैनौं भन्नुहुन्छ । के ऐन सडकबाट पास हुने हो र ?’ उनले फेसबुकमार्फत् सोधेकी छन्, ‘विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुँदैन ? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रम र नेताहरुले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछ ? समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौ भन्न मिल्छ ? राज्यको तलव खाएका शिक्षक कर्मचारीले ?’

भर्नाको बेला विद्यालय बन्द गरेर लाखौं विधार्थीको भविश्य अन्यौल बनाउन नमिल्ने उनले बताएकी छन् । निजी स्कूलले धमाधम भर्ना  गरेर  कक्षा चलाउन लागिसकेको भन्दै उनले प्रश्न गरेकी छन्,  ‘यहाँहरूले  पढाएका कयौं विद्यालयको बीएलईको रिजल्ट शून्य छ । के यो विषयमा चिन्तित हुनहुन्छ ? आगामी दिनमा सुधार्न के गर्नुपर्छ भनेर कतै छलफलमा रूचि देखाउनु भएको छ ?’

उनले शिक्षा विधेयक संसदीय समितिमा छलफलमा भएको भन्दै उनले समितिले पास गरेपछि संसदमा जाने र पास हुने फेसबुकमा उल्लेख गरेकी छन् । त्यसैले विद्यालयमा फर्किन उनले शिक्षकहरुलाई अनुरोध गरेकी छन् ।

उनले लेखेकी छन्, ‘ऐन आउँछ भनेर सरकारले प्रतिबद्धता जनाएको छ । सरोकारवाला सबैको चासो पनि छ । शिक्षकहरूले यतिसम्म ध्यानाकर्षण गराउनु ठिकै हो । किनभने ऐन पहिले नै आउनुपर्ने थियो, आउन सकेन । अब आउँछ, ।’

झाँक्रीले थप लेखेकी छन्, ‘विधेयक समितिमा दफावार छलफलमा छ । विधेयक संशोधन सहित पास हुने भएकोले पनि छलफलले समय लिएको हो । अब भने विधेयक समितिबाट पास हुने प्रक्रिया छ । समितिले पास गरेपछि हाउसमा जान्छ । सरकारको प्रतिबद्धता छ, यो अधिवेशनमा ऐन आउँछ । सर/मेडमहरू अब विधालयमा फर्कनुस् । आफ्नो जिम्मेवारी बहन गर्नुस् । सरकार र संसदलाई विश्वास गर्नुस् ।’

उनले दलका अन्य नेताहरुलाई शिक्षक तथा कर्मचारीहरुको आन्दोलनमा ऐक्यबद्धताको रमिता नगर्न समेत भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?