+
+
Shares

शैलेन्द्र साकारले बाँचेको रोमाञ्च र दु:ख

शैलेन्द्र साकारले आफ्नो किताबमा कुनै सत्य छिपाएका छैनन्— नेताहरूसँग प्रिय–अप्रिय क्षणहरू बिताएको, लेखक–कलाकारसँग उठबस गरेको, जीवनमा ठूला वियोगान्तहरू भोगेको।

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०८२ वैशाख ६ गते २१:००

हरेक मानिसका मनमा गुम्फनहरू हुन्छन्। ती गुम्फन गुनासाका रूपमा गफमा पोखिन्छन्, आक्रोशका रूपमा छरपस्ट हुन्छन् र चिच्याहटमा कसैको गुम्फनले आँसुको भल बगाउँछ तर एउटा स्रष्टाको मनको गुम्फन अक्षरमा रूपान्तरित हुन्छ र पाठकको मनमनमा पुग्छ। सिर्जनाको सुन्दरता यही हो। यस्ता सिर्जनाहरू नै लेखकका उपलब्धि हुन्। पाठकका पनि उपलब्धि हुन्। मन छुने रचना पाउनु पाठकको पनि उपलब्धि हो।

शैलेन्द्र साकारको नव प्रकाशित कृति “मनको कुनै कुना” (विसं २०८१) उनका मनका गुम्फन हुन्। यस कृतिमा शीर्षकका रूपमा ९ गद्य रचनाहरू समाविष्ट छन्। यी रचनाहरू अलिकति संस्मरण, अलिकति नियात्रा र अलिकति आत्मकथ्य हुन्। समग्रमा यी रचनाहरू शैलेन्द्र साकारका मनका गुम्फनहरू हुन् जसले उनको मनको कुनामा वास बसेको छ।

हुन त साकारले “भोजपुरे हुलाकीका सन्तान” नामक आत्मकथात्मक कृति यसअघि नै प्रकाशित गरिसकेका हुन्। तर तिनमा छुटेका, त्यसपछिका र केही प्रसङ्ग यी रचनाहरूमा दोहोरिएका पनि छन्। तर यो पुस्तकले उनको पारिवारिक अवस्था, पुर्ख्यौली, बालापन, काठमाडौंको जागिरे जीवन, प्रेम र विवाह, साहित्यिक गतिविधिहरूमा उनको संलग्नता, विदेश भ्रमणका अनुभव र उनको जेठा छोराले आत्महत्या गरेपछि उनको जीवनमा गएको भुईंचालोलाई अत्यन्त मार्मिक ढङ्गले पाठकले अनुभूत गर्ने अवसर पाउँछन्।

यो बेग्लै कुरा हो, यी रचनाहरूको कालक्रम सिलसिलाबद्ध छैन। तर यी नमिलेका सिलसिलाहरू उनको जीवनमा ठोक्किएका सुखदुःखका साक्षी हुन्।

भोजपुरबाट भाग्य अजमाउन काठमाडौं छिरेका शङ्करप्रसाद श्रेष्ठ नै नेपाली साहित्यका शैलेन्द्र साकार हुन्, नेपाली आख्यानका एक धरोहर परशु प्रधानका सहोदर भाइ। यो बेग्लै कुरा हो कतिलाई आश्चर्य लाग्न सक्छ, परशु प्रधानका भाइ शङ्करप्रसाद श्रेष्ठ कसरी हुन सक्छन् ? प्रधानका भाइ श्रेष्ठ ? अथवा परशु प्रधान र शैलेन्द्र साकार नाम बीच पनि सहोदर दाजुभाइ हुनुको तादात्म्य नदेखिने हुनाले धेरैलाई यी दुई दाजुभाइ भएको अनुमान हुँदैन। तर यो प्रसङ्गलाई शैलेन्द्र साकारले आफ्नो आत्मकथा “भोजपुरे हुलाकीका सन्तान” मा स्पष्ट पारेका छन्।

यस कृतिमा शैलेन्द्र साकारले आफ्नो जीवनका घटनाक्रम र मनको गुम्फनलाई मात्र समेटेका छैनन्, समकालीन साहित्यिक जगतका घटनाक्रम र साहित्यकारहरूका गतिविधि, तिनका कतिपय नखुलेका पाटाहरू निर्बन्ध रूपमा उद्घाटित गरिदिएका छन्। यसले गर्दा यो कृति उनको जीवनको मात्र नभई उनले भोगेको समकालीन समयको समेत दस्तावेज भएको छ।

प्रथमत: रचना “मनको कुनै कुना” मा उनले मन्त्री रुद्रप्रसाद गिरीको निजी सचिवको रूपमा काम गर्दाको अनुभव र नेपाल टेलिभिजनको स्थापना कालमा उनको संलग्नता उतारेका छन्। मन्त्रीका चर्तिकला, मन्त्री पुत्रको चर्तिकला र नेपाल टेलिभिजनको स्थापनाकालका पृष्ठभूमि बुझ्न यस गद्य पठनले मद्दत पुर्‍याउँछ।

मन्त्री रूद्रप्रसाद गिरीको बारेमा उनको मूल्यांकन छ, “ मन्त्री रुद्रप्रसाद गिरी दिनभर ५५५ चुरोट तानेर प्रधानमन्त्री र दरबारको फोन कुरेर बसिरहन्थे। उनी साहित्यप्रेमी, व्यावहारिक र स्वच्छ दिलका मानिस थिए। मलाई बारम्बार भनिरहन्थे- तिमीले पैसा कमाउने मौका आएको छ बाब, केही बन्दोबस्त गरिहाल।” (पेज ८)

त्यस्तै मन्त्री गिरीको आत्मस्वीकारोक्ति पनि उनले यसरी प्रस्तुत गरेका छन्- “रुद्रप्रसाद साह्रै सोझा कुरा पनि गर्थे कहिलेकाहीं। उनी भनिरहन्थे – के भएको शैलेन्द्र, यो मन्त्रीको कुर्सीमा बस्यो कि चारैतिरबाट झ्वाम्म अँध्यारोले छोप्छ मलाई। कसैलाई पनि चिन्दिनँ। खाली दरबार मात्र देख्छु अरू केही देख्दिनँ।” मलाई उनको यस्तो ‘कन्फेशन’ असाध्यै मन पर्थ्यो र भन्थें – “हजुरले ठीक भन्नुभयो, मन्त्रीको काम नै त्यही त हो। उनी हाँस्थे र मलाई चुरोट खाऊ भनेर दिन्थे।” (पेज ११)

नि:सन्देह पञ्चायतकालीन मन्त्रीको यस्तै मनोदशा हुने कुरा तत्कालीन समयका सबै भुक्तभोगीहरूले भोगेको र अनुभव गरेको तत्कालीन यथार्थ नै हो।

मन्त्री गिरीका छोरासँग साकारको मित्रता र सायंकालीन पेयका लागि पार्टनर हुनुपर्दा उनलाई परेको सकसलाई पनि उनले खुलस्त पारेका छन्- “दिनहुँ जसो भोज, पार्टी भैरहन्थ्यो। खसीको मासुप्रति नै अरुचि हुने गरेर पार्टी भैरहन्थ्यो। म त्यसैमा अल्झेको थिएँ। खास गरेर मन्त्री पुत्र राकेश गिरी रक्सी भनेपछि हुरुक्क हुन्थे। उनलाई मैले नै रक्सी पार्टीमा बढी सामेल गराएँ कि भन्ने मन्त्रीलाई श‌ङ्का थियो। त्यसैले उनी मलाई राकेशसँग नलाग्न सल्लाह दिइरहन्थे। तर राकेशले मलाई छाड्दै नछाड्ने, जुनसुकै पार्टीमा पनि मलाई सँगै लिएर जाने। उनकी पत्नी त्यसैले मसँग क्रुद्ध थिइन्।” (पेज ८)

अझ एकपल्ट त मन्त्री पुत्रले एभरेष्ट सेराटनको माथिल्लो तलामा लगेर एक वोतल रेड लेवल उदरस्त गरेपछि उनले भनेको, “ यो रक्सी सिद्धिएपछि म यहाँबाट हाम्फालेर आत्महत्या गर्छु। त्यसको अवगाल तपाईंलाई पर्छ। म हाम्फाल्नु भन्दा अगाडि नै भाग्ने भए भागिहाल्नु होस्” (पेज ९) भनेपछि उनी आतंकित भएको अवस्थाको वर्णन रोचक, रोमाञ्चकारी मात्र नभएर भयभीत अवस्था समेत अनुभव गर्न सकिन्छ।

साकारले यस गद्यमा मन्त्री रुद्रप्रसाद गिरीको इच्छामा नवस्थापित नेपाल टेलिभिजनमा गएको र प्रकारान्तरले उनलाई त्यहाँ टिक्न कसरी मुस्किल भयो भन्ने यथार्थ खुलाएका छन्। उनले नेपाल टेलिभिजनका प्रमुख नीर शाहबारे आफ्नो धारणा यसरी व्यक्त गरेका छन्, “नीर विक्रम शाहको एउटा बानी के थियो भने उनी ५ बजेपछि पनि मुख्य कर्मचारीहरूलाई राखेर मिटिङ गर्नु छ भनेर कार्यालयमै ८/९ बजेसम्म बसिरहन्थे। त्यसपछि गाडी आफैंले हाँकेर डुल्न निस्कन्थे। ट्राफिक कम भएर हाँक्न सजिलो हुन्छ भन्थे। पछि पछि उनी ड्राइभरलाई पनि ओभर टाइममा कार्यालयमै राख्थे र काठमाडौंका प्रख्यात होटलहरूमा रक्सी खाँदै, गफ गर्दै व्यस्त रहन्थे। उनी यस्तो बेला जहिले पनि मलाई सँगै जाऊँ भन्थे। खास गरेर लाजिम्पाटको होटल शङ्कर र छेउकै शरदचन्द्र शाहले खोलेको चिटिक्क परेको होटलमा खान उनी मन पराउँथे। शरदचन्द्र शाहले खोलेको त्यो रेष्टुराँ निकै सफा र राम्रो पनि थियो। त्यहाँको खाना नीर शाहलाई विशेष मन पर्थ्यो। रातको १/२ बजेसम्म उनी होटल र रेष्टुराँहरूमा डुलिरहन्थे। यस्तो बेला विशेष गरेर म र तपनाथ शुक्ला साथै हुन्थ्यौं।” (पेज १२)

उनले नेपाल टेलिभिजनमा रहँदाको उनको दैनिकी बारेमा पनि खुल्ला रूपले उल्लेख गरेका छन्, “ रातभरि रक्सी खानुपर्ने मेरो बाध्यता जस्तै भयो। पारिवारिक जीवन नै अव्यवस्थित र असामान्य हुन लाग्यो। मलाई त्यो रात्रि-जीवन अरुचिकर लाग्दै गएको थियो।” (पेज १२)

नीर शाहले डायमन शमशेरको उपन्यास “वसन्ती” र बालकृष्ण समको नाटक “प्रेमपिण्ड” माथि फिल्म बनाउन संवाद र पटकथा लेखनको तालीम लिन पर्‍यो भन्दै उत्साहित गरेको तर कहिल्यै त्यसका लागि अग्रसरता नदेखाएको बताएका छन्। साथै नीर शाहले घुमाई फिराई “कि बैंकको जागीर छाड्नु कि टेलिभिजनको जागीर छाड्नु” भनेर टेलिभिजन छाड्न परेको अवस्थाको समेत वर्णन गरेका छन्।

त्यति हुँदाहुँदै पनि नीर शाहले लगाएको गुन पनि उल्लेख गर्न कन्जुस्याईं गरेका छैनन्। नीर शाहले भारतको नयाँदिल्लीमा नेपाल टेलिभिजनको सेमिनारमा पठाएको र पहिलोपल्ट जेट विमान चढ्नुको अनुभव लिन पाएको, टेलिभिजन भारतमा हेर्न पाएको वर्णन गरेका छन्। त्यस्तै बानेश्वरमा जग्गा किन्न नीर शाहले आर्थिक सहयोग गरेको समेत लेख्न छुटाएका छैनन्।

त्यस्तै दिल्लीमा रहँदा उनले लेखेको एक कविता पनि यस गद्यमा समावेश छ जसमा “आशिका हेलेन” नाउँ प्रयोग भएको छ। यो साकारले दिल्लीमा भेटेकी २५ वर्षीया पंजावी युवती हुन् जो साकारसँग बिहे गरेर नेपाल आउन तम्तयार थिइन् तर साकारले बिहा भएको बताएपछि उनले नेपाल आउने विचार त्यागेकी थिइन्। यो रोमाञ्चक घटनाले यस गद्यलाई आख्यानात्मक रोचकता प्रदान गरेको छ।

यस गद्यमा लेखिएका कतिपय कुरा भने झस्काउने खालका छन्। उनले लेखेका छन्, “ ध्रुवचन्द्रले आफ्नो एउटा छेउ टुप्पा नभएको उपन्यास “अन्त्यपछि” रूपरेखाको एक अंकमा सिंगै छापे।” (पेज २६)

गोविन्द गिरी प्रेरणा

त्यस्तै ध्रुवचन्द्रको “बालुवामाथि” उपन्यासको बारेको गसिप पनि यो गद्यमा उल्लेख हुनु कति उपयुक्त थियो सोचनीय नै लाग्छ। उनले लेखेका छन्- “त्यसपछि उनले ‘बालुवा माथि’ नामक दोस्रो उपन्यास लेखे। त्यो त्यस्तै पढ्न नसकिने मानसिक उथलपुथलको जीवित नमूना थियो। जे लेखे पनि त्यो उपन्यास मोटो थियो करिब ३/४ सय पृष्ठको।

त्यो उपन्यासको विषयमा एउटा रोचक प्रसङ्ग साहित्यिक जगतमा चर्चित थियो। एक जना व्यक्ति निद्रा नपर्ने रोगले ग्रस्त भएर डाक्टर कहाँ गएछन्। डाक्टरले निद्रा लाग्ने पिल्सको साथै ‘बालुवा माथि’ उपन्यास राति सुत्ने बेलामा ३ पृष्ठ पढ्ने भनेर ‘प्रेसक्रिप्सन’ लेखेछन्। त्यो रोगी प्रेसक्रिप्सन देखेर थर्रर काम्यो रे! उसले डाक्टरलाई विनित भएर अनुरोध गर्‍यो रे- बरू म अरू २/४ वटा ट्याब्लेट जे पनि खाउँला तर त्यो उपन्यास त म एक पृष्ठ पनि पढ्न सक्दिनँ। यो चाहिं ‘प्रेसक्रिप्सन’ बाट हटाइदिनु पर्‍यो। डाक्टरले पनि उनको कुरा मानेर त्यो हटाइ दिएपछि रोगी खुसी भएर फर्केको थियो रे!”( पेज २६-२७)

त्यस्तै डा. धुवचन्द्रले “वीरगञ्जमा गीत गाएर राजा महेन्द्रलाई प्रभाव पारेपछि त्रिचन्द्र कलेजमा एमए सम्म पढ्ने हुकुम प्रमांगी पाएका” (पेज २५) भनेर उल्लेख गरेका छन्। यो कतिपय पाठकका लागि यो नयाँ जानकारी हुनसक्छ तर यस तथ्यलाई मैले कवि गीतकार भीम विरागको अन्तर्वार्तामा र डा. ध्रुवचन्द्र गौतमको बारेमा लेखेको आलेखमा उल्लेख भैसकेको तथ्य हो।

यो गद्यमा एक तथ्यगत त्रुटि रहेको छ। उनले तत्कालीन समयमा दिल्लीबाट प्रकाशित हुने “वामा” पत्रिकाको प्रधान सम्पादक “प्रख्यात भारतीय उपन्यासकार शिवानीकी छोरी मृदुला गर्ग रहिछिन्” (पेज २२) भनेर उल्लेख गरेका छन्। यो गलत हो। महिलाप्रधान पत्रिका “वामा” को सम्पादक शिवानीकी छोरी मृणाल पाण्डे थिइन्। मृदुला गर्ग होइनन् र मृदुला गर्ग शिवानीकी छोरी होइनन्।

२१ पृष्ठको यो गद्यले निकै सूचना, घटनाक्रम र साकारको जीवनका घुम्तीहरू र साहित्यिक क्रियाकलाप समेतलाई समेटेको छ।

“बैंकक-सुन्दरीहरूको स्वर्ग” तथा “जापानमा केही दिन” साकार साझा प्रकाशनको सञ्चालकका रूपमा रहँदा छोटो तालिमको लागि जापान जाने क्रममा बैंककमा केही दिन बसेर घुमेको तथा जापानको टोकियोको सेरोफेरोको नियात्रा हो। यी दुवै नियात्राहरू रोचक, रोमाञ्चक मात्र नभएर उदात्त र निर्बन्ध समेत छन्।

बैंकक उनको भारतपछि पहिलो विदेश यात्रा थियो। जापान जाने क्रममा भोजपुरकै कवि तथा समालोचक रमेश श्रेष्ठको सौजन्य र आतिथ्यमा बैंककका विभिन्न ठाउँमा घुमेर सँगालेका यात्रानुभूतिहरूलाई निकै रोचक ढंगले प्रस्तुत गरेका छन्।

रमेश र साकार दुवै भोजपुरे। रमेश श्रेष्ठ काठमाडौं छँदाका साहित्यिक सहयात्रीहरू। यी दुई साहित्यकारले रमेशको घरको बगैंचामा बसेर बैंककमा पाइने मेकंग ह्विस्की खाँदै, भोजपुरमा बिताएको बाल्यकालको सम्झना गर्दै छर्लंग रात बिताउँछन्।

साकारले बैंककमा वेश्यागमन गरेका तथ्यलाई समेत नहिच्किचाई वर्णन गरेका छन्। कतिपय स्वनामधन्य लेखकहरूले वेश्यालयको ढोकामा पुगेर फर्किएको, वेश्यालयको ढोकामा ताला देखेर फर्किनुपरेको जस्तो अभिव्यक्ति दिएर आफ्नो चरित्र शुद्ध भएको देखाउने कृतिहरू नेपाली साहित्यमा छन्। तर शैलेन्द्र साकारले त्यस्तो पाखण्ड नगरी यथार्थ पस्केका छन्। त्यस्तै बैंककका रात्रि जीवनका अनेक दृश्य र पाटाहरू पनि उनले खुलस्त वर्णन गरेका छन्।

त्यस्तै बैंककमा एक पत्रिकामा बुद्ध भारतमा जन्मिएका हुन् भनेर छापिएको देखेर उनलाई “बुद्धको देशको मान्छे म भनेर चिच्याउन मन” (पेज ३३) लाग्छ।

बैंककमा पनि उनको कवित्व बिउँझेको छ र उनले कविता पनि पस्केका छन्। “ जापानमा केही दिन” पनि निकै रोचक छ। तर उनले चुरोटको तलतल मेटाउन लाइटर किन्न ३३ अमेरिकी डलर तिरेको चाहिं अलि अविश्वसनीय नै लाग्छ, यो बेग्लै कुरा हो; खासमा त्यो ३३ हङकङ डलर हो भन्ने थाहा पाएपछि उनी ठगिएको महसुस गर्छन्।

जापानमा उनी बसेको होटलमा एउटी केटीले कुनै बेला आत्महत्या गरेको प्रसंग भने निकै रोचक र अविस्मरणीय लाग्छ, “दिउँसो आयोजक संस्थाका कर्मचारी ताजिमाले मलाई भने- गत साल यही होटलको तिमी बस्ने कोठामा केटीले आत्महत्या गरेकी थिई। तिमीलाई राति डर लाग्छ भने म कोठा बदल्न होटलको कर्मचारीलाई भनिदिउँला। तर मलाई डर लाग्छ भन्न लाज लाग्यो। त्यसैले कोठा छाड्ने विचार गरिनँ। बरू ताजिमालाई भनिदिएँ- आत्महत्या गरेकी केटी राति आए पनि म डराउँदिनँ। तर म बस्ने कोठामा आत्महत्या गरेको कुराले मलाई सात दिन बिताउन गाह्रो भयो। डरले गर्दा केही समय कोठा र केही रात करिडोरमा बिताएँ।” (पेज ४४)

जापान घुमाइका प्रसंगहरू रोचक छन्। विदेश यात्रामा पहिलोपल्ट निस्केको नेपाली लेखकको मनोदशा, कल्पना र यथार्थ बीचको खाडल, उत्सुकता र जिज्ञासाहरू यस नियात्रामा सजिव देख्न पाइन्छ।

एउटा सम्पन्न मुलुककी नारीको उदार र फरासिलो व्यवहार अविकसित मुलुकका पुरुषले कति गलत ढंगले बुझ्दछन् भन्ने यथार्थको दृष्टान्त पनि यस नियात्रामा पढ्न पाइन्छ। श्रीलंकाका सहभागी जयकोडीले कुनै समस्या परे सम्पर्क गर्नू भनेर चिनाइदिएकी सुन्दर जापानी युवतीलाई “म यति नम्बर रूममा छु, आऊ हामी तिमीलाई सेक्स गर्न चाहन्छौं” भनेर फोन गरेपछि ती जयकोडीलाई आयोजकले होटलको कोठाबाटै निकालिदिएको घटना निकै उदेकलाग्दो छ। त्यस्तै सहभागीहरूको साथमा रेष्टुराँमा खान जाँदा कुखुरा अर्थात् चिकेन भन्ने बुझाउन मरिगए नसकेपछि एक सहभागीले कुखुरा नै बनेर अभिनय गरेपछि कुखुराको मासु खान पाएको घटना मनोरञ्जक छ। यो परदेशमा भाषाको ज्ञानको अभावमा भोगिने एक समस्या नै हो।

धनसम्पत्ति, इज्जत पढाइ सबै कमाएर अमेरिका पुगेका सम्पूर्ण नेपालीहरूका लागि एउटा ज्वलन्त उदाहरण बनेका एडीबीका सिनियर इन्जिनियर मेरो जेठो छोराले त्यही देशमा आत्महत्या गर्‍यो। मेरा सारा सपनाहरू एकैपल्ट पछारिए, म पछारिएँ विपनामा। जीवनमा यस्तो पनि भोग्न लेखेको रहेछ। यो पीडा मेरो शरीरमा यस्तरी बसेको छ कि, मेरा प्रत्येक रक्तकणमा यसरी भिजेको छ कि, त्यसबाट म मुक्त नै हुन सक्तिनँ।

यस पुस्तकमा रहेका “पहिलोपल्ट प्रथम विश्व”, “कुन कुनामा थन्क्याउँ सपना” र “आसभिलमा कार्ल स्याण्डवर्ग” अमेरिका भ्रमणका सम्झना, नियात्रा र निबन्धका मिश्रित रूपका गद्य रचना हुन्।

पहिलो “कुन कुनामा थन्क्याउँ सपना” मा पहिलोपल्ट अमेरिका पुग्दाको अनुभूति छ जसको बिम्व हो उनका जेठा छोरा अनुरक्त। यसमा छोरा अनुरक्तले विद्यार्थी भिसामा अमेरिका आएको प्रसंगदेखि छोराले आत्महत्या गरेको सम्मका प्रसंगहरू छन्। छोरालाई छात्रवृत्तिको लागि आफूले राम्रो चिनेका, तनहुँमा अधिकृत भएर बस्दा मित्रवत् संगत गरेका मन्त्री गोविन्दराज जोशीलाई भन्न जाँदा इशाराले ५ लाख घुस मागेको प्रसंग पनि यसमा उल्लेख छ।

त्यस्तै तनहुँमा बसाइका क्रममा एक ब्राह्मण कन्यासँग प्रेममा परेको तिनलाई तनहुँमै छाडेर काठमाडौं आएपछि हालकी श्रीमतीसँग बिहे गरेको आत्मस्वीकृतिका प्रसंगहरू पूर्वस्मृतिका रूपमा आएका छन्। उनको पहिलो अमेरिका भ्रमणको बेला साकार, उनका छोरा अनुरक्त र बुहारी वाशिंटन डिसी घुम्न आउँदा घर नं १५०० को अपार्टमेन्ट जहाँ म बस्थें त्यहीं एक रात उनी सुतेको सम्झना पनि मेरो मानसपटलमा ताजा नै छ। उनले यस गद्यमा दुई कविता पनि समावेश गरेका छन्। त्यसो त साकारले अमेरिकाको पहिलो भ्रमणपछि “अमेरिका” शीर्षकमा एक कविताको पुस्तक नै प्रकाशित गरेका थिए। त्यस संग्रहमा उनले अमेरिकामा रहँदा र अमेरिकी अनुभूतिलाई व्यक्त गरिएका कविताहरू समावेश गरेका थिए।

साकारले यस गद्यमा आफ्नो होनहार छोराले गरेको आत्महत्याको प्रसंगलाई यसरी मार्मिक ढंगले व्यक्त गरेका छन्- “…छोरालाई पढ्न पठाएर मैले आफ्नो नाक निकै उठाएको थिएँ आफन्तहरूका बीच। त्यो उँचो नाक पनि एक दिन चक्कुले काटियो। त्यस्तो देशमा धनसम्पत्ति, इज्जत पढाइ सबै कमाएर अमेरिका पुगेका सम्पूर्ण नेपालीहरूका लागि एउटा ज्वलन्त उदाहरण बनेका एडीबीका सिनियर इन्जिनियर मेरो जेठो छोराले त्यही देशमा आत्महत्या गर्‍यो। मेरा सारा सपनाहरू एकैपल्ट पछारिए, म पछारिएँ विपनामा। जीवनमा यस्तो पनि भोग्न लेखेको रहेछ। यो पीडा मेरो शरीरमा यस्तरी बसेको छ कि, मेरा प्रत्येक रक्तकणमा यसरी भिजेको छ कि, त्यसबाट म मुक्त नै हुन सक्तिनँ।” (पेज ७२)

छोराको आत्महत्याको प्रसंग “कुन कुनामा थन्क्याउँ सम्झना ?” मा पनि आएको छ। नि:सन्देह त्यो निर्दयी सत्य, अकल्पनीय दुर्घटना र असह्य वेदनाबाट पार पाउन सम्भवतः आजीवन नै सम्भव छैन। गीतकार नगेन्द्र थापाको “मेरो गीत कसैले सुनेन भने यहाँको चुपचापले सुनोस्”  को सम्झना गर्दै साकार लेख्छन्- “अन्त्यमा, यही गीतलाई सुन्दर लय हाल्दै, गुन्गुनाउँदै मेरो छोराले बिरानो मुलुक अमेरिकामा आत्महत्या गरेछ। आफ्नो घर र कार्यालयको बीच एउटा सानो खोला र पुरानो-पुरानो खालको ओत लाग्ने जस्तो ठाउँमा आफ्नो प्राणलाई रिवल्भरले उडाएछ।

आफू चढेर आइरहेको ठूलो गाडी र मोबाइललाई अलि बाहिरै एकलासमा छाडेर उसले आफू जन्मेको देश, हुर्केको माटो, आमाबुबा र साथीभाइलाई अलबिदा भनेछ। ‘सुसाइड नोट’ (जसलाई मैले आजसम्म पढ्न सकेको छैन) कम्प्युटरमा दिउँसै पठाएर अचूक गोली प्रहार गरेछ कञ्चटमा। सबै कुरा भेटियो यथावत्। गीत पनि भेटियो। मोटर, मोबाइल पनि। उसको शरीर पनि। खालि प्राण भेटाउन सकिएन।” (पेज ७४)

यी गद्यहरूको शीर्षक र मूल विषय जे भए पनि साकारले आफ्नो वेगवान् कलममा छङछङाएको स्वतस्फूर्त अभिव्यक्तिमा नेपालको राजनीति, भेटेका संगत गरेका नेता र तिनका आनीबानी र चरित्र लगायत अनेक प्रसंगहरू निर्वाध रूपले आइरहन्छ। यी प्रसंगहरू नि:सन्देह रोचक, नयाँ सूचनापरक र कतिपय अवस्थामा आश्चर्यलाग्दा पनि देखिन्छन्।

उनले चक्रप्रसाद बास्तोला भारतको राजदूत हुँदा सांस्कृतिक सहचारीका रूपमा जान चाहेर प्रयास गरेको त्यसका लागि सुशील कोइरालालाई भन्न गएको तथ्यलाई पनि खुलस्त गरेका छन्। नेपाली कांग्रेसका नेता भीमबहादुर तामाङले “कोइराला परिवारका स्त्री सदस्यहरूको साडी धोएका थिए भनेर भन्ने मान्छेहरू पनि छ्याप्छ्याप्ती भेटिन्थे” (पेज १०४) भनेर उल्लेख गरेका छन्। त्यस्तै पटक पटक प्रधानमन्त्री भइसकेका र बूढानीलकण्ठमा वैभवशाली महलमा सम्पन्नताको साम्राज्यमा हिजोआज देखिने शेरबहादुर देउवाको विसं २०२४/२५ सालतिरको प्रसंग पनि उनले सहजतापूर्वक उल्लेख गरेका छन्- “गिरिजाप्रसाद प्रधानमन्त्री भएकै बेला शेरबहादुर देउवा गृहमन्त्री बनाइए।

पञ्चायतकालमा पनि पूर्वी नेपालबाट प्रधानमन्त्री भएको बेला पश्चिमतिरका गृहमन्त्री बनाइन्थे। त्यसकै निरन्तरता हो भन्ने मलाई लाग्यो। उनीसँग मेरो राम्रै चिनजान थियो।

वि.सं. २०२४/२५ सालतिर उनी डिल्लीबजार पीपलबोट नेर अलि खाल्डोमा पुरानो बानेश्वरबाट त्यता लाग्दा दायाँपट्टिको पुरानो घरको ठूलो कसाइनीको खसी पसल नेर हरदम भेटिन्थे। कसाइनीको पसल खसीको मासु र नेवारी वासाको लागि प्रसिद्ध थियो। साथीहरू भन्थे- त्यो बाटो नहिंड्नु है साकार, देउवाले रक्सी र मासु ख्वा भनेर समाइहाल्छ। मलाई त समाउने डर त्यति थिएन। किन भने मेरो गोजीमा अरूलाई रक्सी ख्वाउने पैसा नै हुँदैनथ्यो।” (पेज ९५-९६)

साकारले अमेरिका भ्रमण पटक पटक गरेका छन्। “आसभिलमा कार्ल स्याण्डवर्ग” उनको पहिलो भन्दा अलिपछिको भ्रमणको हो। नर्थ क्यारोलाइनामा भएकी छोरी र उनको परिवारसँग समय बिताउने क्रममा प्रख्यात अमेरिकी कवि कार्ल स्याण्डवर्गले आफ्नो जीवनको पछिल्लो समय बिताएको आसभिल भ्रमणको गद्य हो यो। यसमा एक तथ्यगत त्रुटि छ। उनले आसभिललाई कार्ल स्याण्डवर्गको जन्मभूमि उल्लेख गरेका छन् जुन सही होइन। उनी ईलिनोय राज्यको गार्ल्सवर्गमा सन् १८७८ मा जन्मेका थिए र सन् १९४५ मा नर्थ क्यारोलाइना बसाइँ सरेका थिए।

उनले यस गद्यमा एलेन गिन्सवर्गको “हाउल एण्ड अदर पोयम्स” खोजेर कतै नपाएको उल्लेख गरेका छन्। दोहोर्‍याएरै उल्लेख गरेका छन् ! तर अमेरिकामा उनको किताब नपाइने देखिन्न। शायद सो पुस्तक पाउने पसल उनले नभेटेको हुनसक्छ। पुस्तक पसल र अनलाइनमा उनको यो पुस्तक छ्यास्छ्यास्ती उपलब्ध छन्।

तर प्रकाशन-मुद्रणमा त्रुटि भएर होला यसै रचनाभित्र “फेरि सम्झना साझा प्रकाशनको” गाभिएको छ। यसमा उनले केशरबहादुर विष्टको सदाशयले प्राप्त साझा प्रकाशनको अध्यक्षको रूपमा विताएको अल्प समय ४ महिनाको चर्चा छ र अलिकति साझा प्रकाशनको इतिवृत्त पनि।

साथै आफ्नो साझा प्रकाशनको सञ्चालक हुँदाका सन्दर्भहरू समेत समेटेका छन्। साझा प्रकाशनबाट सञ्चालकको हैसियतले जापान जान पाइने अवसर झण्डै जनक शिक्षा सामग्री केन्द्रका विश्वनाथ अधिकारीलाई पठाउने प्रक्रिया हुँदै गर्दा मन्त्री केशरबहादुर विष्टले साकारलाई नै पठाउने निर्णय गरेर गुन लगाएको घटना पनि नहिच्किचाई प्रस्तुत गरेका छन्।

“वाचाल ढुंगाहरूसँग दिनभर” अमेरिकाको भर्जिनिया राज्यमा भएको लुरे गुफा भ्रमणको छोटो वर्णन हो। तर यहाँ पनि साकारको कवित्व बढी जागृत भएको अनुभव पाठकले गर्न सक्छन्। कविको भावुकता यसरी छचल्किएको छ, “जब म त्यो उपत्यकामा पुगें, मलाई सम्पूर्ण ढुङ्गाहरू गफ गरेर बसिरहेका रहेछन् जस्तो लाग्यो। यी प्रत्येक दिन अरू बढी मायालु हुँदै गएका हुन् कि जस्तो लाग्यो। म तिनीहरूलाई गहिरो प्रेमको अङ्गालोमा बाँधु र तिनीहरूसँगै दिनभर यो क्षणिक संसारबारे रमाइलो गफ, सुखदुःखका कुराहरू गरेर बिताउँ जस्तो लागिरह्यो।” (पेज १३४)

यो पुस्तकको सबैभन्दा छोटो र अन्तिम गद्य हो, “किलागलको तिमी हामी रेष्टुराँ र उत्तम नेपाली दाइ”। यसमा कवि एवम् कलाकार उत्तम नेपालीले सञ्चालन गरेको रेष्टुराँको चर्चा छ र चर्चा छ त्यस रेष्टुराँमा खान जाने स्वनामधन्य नेपाली साहित्यकारहरूको। त्यहाँ खान पिउन जाने हरिभक्त कटुवाल, कृष्णभक्त श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, द्वारिका श्रेष्ठ, पोषण पाण्डे, भूपि शेरचनहरूको उल्लेख छ।

“वाचाल ढुंगाहरूसँग दिनभर” र “किलागलको तिमी हामी रेष्टुराँ र उत्तम नेपाली दाइ” यी दुई त्यस्ता गद्य रचना हुन् जुन मूल शीर्षक र विषय बाहिर उदात्त रूपमा गएर अन्य प्रसंग र पूर्व स्मृतिहरू ल्याउँदैनन्। त्यसैले यी दुई गद्य छोटा छोटा छन्।

यसरी साकारले यस पुस्तकमा उनले भोगेको र महसुस गरेको समकालीन समयलाई आफ्नो जीवन र भोगाइ, अनि गरेका यात्राहरूसँग अन्तरघुलित गरेर अनौपचारिक इतिहास समेत प्रस्तुत गरेका छन्।

यो पुस्तकको सबैभन्दा खट्किने पक्ष प्रकाशन व्यवस्था हो। यो पुस्तक लेखकले स्वसम्पादन गरेको देखिंदैन जसले गर्दा कतिपय प्रसंग दोहोरिएका छन्, जसलाई सच्याउन सकिन्थ्यो।

पुस्तकमा विषय सूची समेत छैन। अझ पहिलो गद्य “मनको कुनै कुना” को शीर्षक समेत भेटिंदैन। त्यस्तै अंग्रेजी अक्षरमा लेखिएका हरफ र अनुच्छेद नेपाली अक्षरमा जताततै मुद्रण भएको छ जुन के लेखिएको हो बुझ्न सकिंदैन।

यति लापरबाही ढंगले पुस्तक प्रकाशन गर्नु प्रकाशकको अक्षम्य गल्ती हो। यो पुस्तकलाई सामान्य भाषा सम्पादन गरेर अंग्रेजी भाषामा लेखिएका तर नेपाली अक्षरमा मुद्रण गरिएका कुरा सच्याउने हो भने यो उम्दा कृतिको महत्ता पाठकले महसुस गर्न सक्थे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?