+
+
Shares
नियात्रा :

सिर्जनानगर : जहाँबाट उद्घोष भयो पुष्पलाल मार्क्सवादी विश्वविद्यालय

यात्रामा हामी ११ वटा कम्युनिस्ट घटकका सदस्यहरू रहेछौँ । मजस्ता सामान्य पात्र त गाउँसहरमा भेटिन गाह्रो नै रहेछ जस्तो लाग्यो ।

रसुवाली कवि रसुवाली कवि
२०८२ वैशाख ६ गते २१:५७

चैतको उराठलाग्दो महिना उसै पनि उदास हुन्छ । मार्क्सवादी साहित्य र राजनीतिक आन्दोलनमा दसकौँदेखि सक्रिय समालोचक अशोक सुवेदी चिया गफहरूमा भनिरहनुहुन्छ– चैतका तीन दिनचाहिँ सिर्जनानगरलाई है । यसपटक पनि मलाई रामेछापको त्यही यात्राका लागि निमन्त्रणा भयो उनै सुवेदीबाट ।

रामेछाप सदरमुकाम मन्थलीसँगै जोडिएको पुरानो सानीमदौ अर्थात् सिर्जनानगरका बारेमा मैले केहीपटक लेखिसकेको छु । यो पानीको अभावमा बाँचिरहेको श्रमजीवीहरूको गाउँ गोर्कीको गाउँजस्तो लाग्छ । यही माटोमा जन्मिएका ससाना बालबालिकासमेत कविता लिएर मञ्चमा उक्लिन्छन् र निर्धक्क कविता सुनाउँछन् । पुराना कम्युनिस्ट नेताहरू ती बालबालिकाको कविता सुनेर प्रफुल्ल हुन्छन् र ताली बजाउँछन् ।

दर्शनशास्त्रका असजिला अध्यायहरू छोडेर कवितामा ताली बजाउन आइपुग्नु स्वयम् ताली बजाउनेहरूका लागि पनि सुखद क्षण बन्छ सिर्जनानगरमा । कविता सुन्नु, कविता बुझ्नु, कविताजस्तै बाँच्न सक्नुलाई कम्युनिस्ट आचरणसँग जोडेर पनि हेर्न सकिन्छ । भलै त्यो कुरा छ सिर्जनानगरमा । त्यसैले यो गाउँ सुवेटार र सानीमदौबाट दुई दशकअघिदेखि सिर्जनानगर बनेको छ र हरेक वर्ष चैतमा देशभरका विभिन्न विधाका बौद्धिकहरूसहित राजनीतिज्ञहरूलाई स्वागत गर्न तत्पर रहन्छ । राजनीति आफैँ काव्यविहीन हुनु देश उराठ शासकहरूको पोल्टामा पर्नु हो । यसबाट बचेर सिर्जनानगरले आफ्नो अस्तित्व धानेको छ ।

कमरेड अशोकले यो यात्रालाई अभियात्रा नाम दिएका छन् । अभियान र यात्रालाई जोडेर अभियात्रा बनाइएको हो भनेर सीधा बुझ्न सकिन्छ । हिजोआज अभियान शब्द बदनाम भइसक्यो । राजनीतिक र सामाजिक वृत्तमा अभिन्यता शब्द काँचो पिँडालुजस्तो भइसक्यो । यसैले म अभियन्ता शब्दप्रति उति विश्वास गर्दिनँ । अभियात्री शब्द आफैँमा श्रुतिमधुरचाहिँ छ । यसमा मेरो असहमति भने छैन किनकि दलाल पुँजीवादमा शासकहरूजस्तै शब्दहरू बदनाम हुनलाई कुनै आइतबार पर्खिनु पर्दैन ।

यसपटक यात्रामा म जागा नै रहेँ । यसपटक रोशीका ती गहिरा खोँचहरू मज्जाले नियालेँ । युगकवि सिद्धिचरण श्रेष्ठले लेखेको कविताको अंशमा छ– त्यो गिरि फोरी बहने रोशी… । पक्कै पनि रोशी पहाडका गहिरा खोँचहरू छिचोल्दै बग्छ । थुम्कीको तल थोरै पानी बगे पनि रोशीको आफ्नै लय छ, आफ्नै गति छ ।

हामी सिर्जनानगरको वैचारिक यात्रामा छौँ । सदाझैँ हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठान र पुष्पलाल जन्मशताब्दी कृष्णलाल बलिदान शताब्दी समारोह समितिका अध्यक्ष अशोक सुवेदीले आयोजना गरेको यसपटकको यात्रा झनै भव्यझैँ लाग्छ किनकि यस वर्ष कृष्णलाल अधिकारीलाई प्रथम साहित्यिक सहिद र पुष्पलाल मार्क्सवादी विश्वविद्यालय घोषणा गरिँदैछ । मालेमासँगै नेकपाका संस्थापक महासचिव पुष्पलालका विचारहरूको सम्मान, रक्षा र विकासको समेत उद्देश्य राखेर मार्क्सवादी विश्वविद्यालय घोषणा हुनु र त्यसका लागि ११ वटा कम्युनिस्ट, वाम पार्टीका नेताहरू, वामपन्थी बौद्धिक र स्रष्टाहरूको जमघट गराउनु रामेछाप जिल्ला वा नेपालका लागि मात्र नभएर विश्वभरका माक्र्सवादका अनुयायीका लागि खुसी र महत्वको कुरा हो । यो विचार, लक्ष्य र योजना पनि निरन्तर साधक उनै सुवेदीले गरेका छन् र त्यही उद्देश्य पूरा गर्न हामी अभियात्रीहरू रामेछापका कठजोर, भँगेरी र सिर्जनानगरको यात्रामा छौँ ।

रोशीकिनारमा ठाउँठाउँमा मकैबारी देखिन्छ । रोशीको पानी लागेर ती हरिया छन । मकैबारीको बीचमा कुनै बहुराष्ट्रिय कम्पनीको बोर्ड देखिन्छ । कुनै पेय पदार्थ पिएर हिमालय चढिरहेको दृश्य बोर्डमा देखिन्छ । उत्पादन प्रणालीमा आइरहेको त्यो विरोधाभाष आफैँमा साङ्केतिक लाग्छ । एउटा किसानको खेतमा बहुराष्ट्रिय कम्पनीको होर्डिङ बोर्ड उभिनु अनि नाफा कमाउने व्यवसायीहरूले नाफालाई यो ढङ्गले सोच्नु आजको उत्पादन प्रणालीको अन्तरविरोध हो ।

डाँडामा रूखहरू छैनन् । सडक पुगेको छ । एउटा स्काभेटर पहाडका थुम्कीहरू भत्काइरहेको छ । पहाडमा देखिन्छ ससानो एउटा भ्यु टावर । पहाडमा अस्पताल छैन, स्वास्थ्य चौकी छैन । राम्रो शिक्षालय छैन । गाउँ जाने बाटोमा झ्यास पलाएको छ । गाउँपालिकाका अध्यक्ष वा मेयरसाबहरूचाहिँ उभ्याइरहनु भएको छ भ्यु टावर । यी दृश्यले हाम्रो शासकीय पद्धतिको साझा चरित्रलाई उजागर गर्छ ।

गाडीमा काँठे भाका बजिरहेछ– माया नमारे.. । राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसी देशको जल्दोबल्दो विषयमा बोलिरहेका छन् । कलाकार साथी घनश्याम एन्टिना गाडीमा निदाउन खोजिरहेका छन् तर बीपी राजमार्गका घुम्तीहरूमा मोडिइरहँदा उनी झस्किँदै छन् । छेउमा लक्ष्मी पौडेल दिदी हुनुहुन्छ । हाम्रा प्रिय कमरेड, जनक्रान्तिका सहिद कुमार पौडेलकी दिदी । अचानक म कुमार पौडेललाई सम्झन पुग्छु । दुई दशकदेखि आरम्भ भएको सिर्जनानगर सिर्जनायात्राका क्रममा कयौँपटक म सामेल भएको छु र यस्ता महान् मानिसका प्रियजनहरूसँग घुलमिल हुन पाएको छु ।

कुमार हाम्रो आन्दोलनको एकजना जोडदार कमरेड थिए । बौद्धिक योद्धा अनि सङ्गठन गर्न सक्ने जुझारु मान्छे । सर्लाही जिल्लामा मात्र होइन, नेपालमै योद्धा कुमारलाई नचिन्ने को थियो र ? जनताका मुद्दाहरूमा उनी प्रतिबद्धतासहित लडिरहेका थिए । उनी कम्मरमा बन्दुक घुसारेर आन्दोलनलाई निजी मामिलामा समाप्त पार्न हिँडेका कुनै पेटी बुर्जुवा नेता थिएनन् । जनताका झुपडीमा रुखोसुखो खाएर जनताका लागि लडिरहेका कमरेड थिए । गोजीमा कलम बोकिहिँड्ने उनी रातो खबर साप्ताहिकमा धीरगम्भीर लेख लेख्थे । एक दिन राज्यसत्ताले उनलाई निल्यो । यतिखेर म उनै कुमारलाई सम्झिरहेको छु । कुमारलाई सम्झिनु ती सारा प्रतिबद्धताहरूलाई सम्झिनु हो । यो काम कमसेकम नेताहरू गर्दैनन्, दुःख यहीँ छ । जनकम्युन ल्याउन हिँडेका कमरेड सहिदलाई बिर्सिरहेका छन् । कम्युनिस्ट आन्दोलनको दुःख यहीँनेर अभिव्यक्त हुन्छ ।

हेर्दाहेर्दै मूलकोट आइपुग्छ । भोकले पेटका आन्द्राहरू बटारिइरहेका छन् । मूलकोटमा पुराना कम्युनिस्ट नेता असारे काका हामीलाई कुरिरहेका छन् । बौद्धिक नेता लोककृष्ण भट्टराईले यो कुरा अगाडि नै भनेका थिए । गाडी मूलकोटको आमा होटेल अगाडि गएर रोकिन्छ । आमा होटेलको अगाडि रहेका असारे काका जोसिलो अभिवादन गर्छन् । असारेको जोश खासै सेलाएको छैन तर जसै उनले छाता किनिदिएको कमरेडले सुनको छाता किन्ने हैसियत बनाइसकेको उनी गम्भीर छन् । असारे काका आन्दोलनमै छन् । असारे काका सडकमा छन् । असारे काका सडकमा हुनु कमसेकम मुक्ति चाहने मानिसहरूका लागि प्रेरणा हो ।

आमा होटेलले आमाकै झैँ स्नेह दियो हामीलाई । त्यो दिन कुनै प्रतिष्ठान रहेछ र त्यसकै बहानामा हामीले सेलरोटी, अचारसहित उनीहरूले ‘प्रसाद’ भनेर दिएको खाजा खायौँ । भोकको अगाडि कसको के लाग्थ्यो ! त्यो प्रसाद नामको खाजाले हाम्रो भोक मेट्यो । सिर्जनानगरबाट बारम्बार कमरेड अशोकको फोन आइरहेको थियो । एकदम अनुभवी चालक मित्रले गाडी सावधानी साथ हाँकिरहेका थिए । तल सुनकोसी नीलो भएर बगिरहेको थियो । १७ वर्षसम्म कठोर जेलजीवन भोगेका झापा विद्रोहका मुख्य कमान्डर मोहनचन्द्र (एमसी) अधिकारी थिए, सहायक कमान्डर, नख्खु जेल ब्रेकर सीपी मैनाली पनि थिए । कमरेड एमसीले सोधे– यही बाटो झापा जान सकिन्छ नि ! लोककृष्ण भट्टराईले बाटो र समयबारे बताएपछि कमरेड एमसी मुसुक्क हाँसे ।

जनयुद्धकी सहिद परिवार सदस्य, लेखक तथा राजनीतिज्ञ सरला रेग्मी भन्दै थिइन्– तपाईं कविता लेख्नुस् है । हरेक विषयमा कविता लेख्नु जरुरी लाग्दैन । जस्तो कि जेलका छिँडीहरूमा बसेर इच्छुकले लेखे– बन्दी र चन्द्रागिरि । कविताले ओजस्वी आयाम परिवेशको गहनतामा पनि हुन्छ ।

बिस्तार–बिस्तार रामेछापका पाखाहरू देखिन्छन् । पाखामा कुनै हरियो रूख देखिँदैन । पाखामा घरहरू छन् । घरसँगै जोडिएका दुःखहरू छन् । ती दुःख हेर्दै हामी पुग्छौँ सिर्जनानगरको चौतारीसम्म जहाँ छन् कमरेड अशोक सुवेदी, सीता, इन्दिरा दिदीलगायत साथीहरू ।

हामी आज कठजोर जाँदैछौँ । कठजोर प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीको जन्मथलो हो । तत्कालीन राणा शासकहरूलाई बारीको मकै खाने रातो टाउके कीरा, कालो टाउके कीरा, बेलायती कुकुरजस्ता शब्दहरूले सम्बोधन गरेकै कारण कृष्णलाललाई जेल हालियो । त्यही जेलमा उनको सहादत भयो । शासकीय निरङ्कुशताले कृष्णलालको भौतिक देहलाई त चुँड्यो तर उनको अमरता लुछ्न सकेन । बरु राणाशासन खोयाको घरजस्तै भत्कियो । हामी इतिहासमा राणा शासनलाई इतिहासको कुरूपताका रूपमा पढिरहेका छौँ ।

मन्थलीको एउटा पाखामा छ कृष्णलालको गाउँ । बाटो कतै पिच छ, कतै कच्ची । कमरेड अशोक देखाइरहेका छन् पाखा र जङ्गलहरू । अशोक भन्छन्– आजभन्दा ५० वर्ष अगाडि यिनै बुट्ट्यान, जङ्गल, बनपाखा र धुलाम्मे बाटो हिँड्दै कठजोरको पुछार, टेकनपुरको ताम्रकौशी प्राविमा आएर कखरा चिनेको थिएँ… । कयौँपटक मयुर, स्याल र चितुवाहरूसँग जम्काभेट भयो तर आँटले पढियो । जोशले पढियो… ।

साँझपखको यात्रामा जीवन्तताको बोध हुन्छ । काव्य, गीत र आख्यानहरूमा साँझको सौन्दर्य वर्णन गरिरहेका छन् । काव्यिक हृदय भएकाहरूलाई गोधूलि साँझले छुन्छ ।

रामेछापका यी गाउँहरूमा पर्याप्त पानी छैन आज पनि । कठजोर जाँदै गर्दा बाटोमाथि र मुन्तिर गोठहरूमा गाईबस्तु बाँधिरहेका किसानहरू देखिए । गाउँ बोकी हिँडिरहेका युवतीहरू देखिए । घाँस काटिरहेका आमाहरू देखिए । पुराना गाउँहरू देखिए– दही–मही पिएर एक्काईसौँ शताब्दीको कुरूपताविरुद्ध लडिरहेका ।

यी यस्ता गाउँहरू थिए जहाँ कृष्णलाल पनि जन्मे र कुनै पोलाहा र दलाल पनि । मूलतः कृष्णलाल नामले चिनिने भूगोल हो यो । गौरवको एउटा नाम हो कृष्णलाल ।

कृष्णलालको गाउँमा एउटा पुरानो स्कुल रहेछ । त्यही स्कुलसँग जोडिएको एउटा चौरमा उनको सालिक बनेको रहेछ । अशोकले बारम्बार प्रस्ताव गरेका थिए कृष्णलाल मार्गको । अहिले यो धुले बाटोको नाम कृष्णलाल मार्ग बनेको रहेछ । त्यहाँ एउटा सङ्क्षिप्त कार्यक्रम बन्यो । अशोक सुवेदीले जोडसित भने– कृष्णलाललाई जनताले सहिद स्वीकार गरे पनि आजसम्म सरकारी स्तरबाट प्रथम साहित्यिक सहिद घोषणा गरिएको छैन । सरकार कम्युनिस्टको भनिएकाहरूको छ वा कम्युनिस्ट भनिन चाहनेहरूको छ । लोककृष्ण भट्टराईले भने– हामी ११ वटै कम्युनिस्ट पार्टी र नागरिक समाजका तर्फबाट प्रधानमन्त्रीलाई तत्काल भेटेर यो कुरा राख्नेछौँ । कृष्णलाललाई औपचारिक रूपमा सहिद घोषणा गराउन पहल गर्नेछौँ । मोहनचन्द्र अधिकारी, सीपी मैनालीलगायत ११ वटै कम्युनिस्ट पार्टीका नेताले अशोकको यो प्रस्तावको समर्थनमा ताली बजाएर । अधिकारीको सालिकमा माल्यार्पण गरे । श्रद्धा व्यक्त गरे ।

सत्तापक्षीय पार्टी नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली पनि यात्रासँगै भएकोले पनि यो कुरा मुखर रूपमा उठेको थियो । उनले पनि यो कुरा सरकारसमक्ष पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

मन्थली नगरपालिकाको वडा नं. २ मा रहेको कठजोरबासी र वडाका पदाधिकारीले अभियात्रीहरूलाई स्वागत गर्‍यो । सङ्क्षिप्त कार्यक्रमसहित परिचय कार्यक्रम पनि भयो । कठजोरबासीले यति धेरै स्थापित व्यक्तित्वलाई कृष्णलालको जन्मथलोमा ल्याएको भनेर हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठान र पुष्पलाल जन्मशताब्दी कृष्णलाल बलिदान शताब्दी समारोह समिति र त्यसका अध्यक्ष अशोक सुवेदीलाई बधाई र धन्यवाद दिए ।

फर्किन बेलामा झमक्क साँझ परेको थियो । स्थानीय बहिनीहरू गीत गाइरहेका थिए । म पनि विद्यालयकालीन दिनहरू सम्झिइरहेको थिएँ ।

झम्के साँझमा हामी सिर्जनानगरस्थित हित–जून साहित्य प्रतिष्ठान प्राङ्गणमा रहेको हित–जून युद्ध–कला सङ्ग्रहालयमा पुग्यौँ । यात्रामा हामी ११ वटा कम्युनिस्ट घटकका सदस्यहरू रहेछौँ । मजस्ता सामान्य पात्र त गाउँसहरमा भेटिन गाह्रो नै रहेछ जस्तो लाग्यो ।

सिर्जनानगरमा अर्गानिक खाना खाएपछि केही राजनीतिक गफगाफ पनि भए । डिजिटल मिडियामा उत्सुक पत्रकार ज्योति किरण झापा विद्रोहका एक कमान्डर सीपी मैनालीसँग केही प्रश्न सोध्दै थिए आँगनमा बसेर । सीपी उत्तर दिँदै थिए । उनका उत्तरमा राष्ट्रवादी आग्रहहरू थिए । केही समय बहसमा सहभागी भएर त्यो दिन निद्रा देवीको शरणमा परियो । देवी वा कमरेड जे भने पनि भो अर्थात् निद्राको शरणमा परियो ।

भोलिपल्ट बिहान उठ्दा सिर्जनानगरसँग ब्युँझिएर चराहरू चिरबिराउन सुरु गरिरहेका थिए । अभियात्रीको स्वागत र सम्मानमा आज मन्थलीमा एमालेलगायत वामपन्थी पार्टीहरूले चियापान राखेका थिए । हामी सिर्जनानगरबाट पुष्पलाल मार्क्सवादी विश्वविद्यालय–कृष्णलाललाई प्रथम साहित्यिक सहिद घोषणा, बृहत् विचारगोष्ठी लगायत ब्यानरहरूसहित झन्डै दुई किलोमिटर प्रभातफेरी गर्दै मन्थली पुग्यौँ । एमालेका प्रदेश सांसद आनन्द श्रेष्ठ, मन्थली नगरपालिका मेयर लव श्रेष्ठलगायत व्यक्तित्व हाम्रो यात्रालाई सार्थक बनाउन आआफ्ना ठाउँबाट सार्थक पहल पनि गरिरहेका थिए । चिया पिएपछि हामी प्रत्येक वर्ष जस्तै यसपटक पनि पुष्पलालको जन्मथलो भँगेरीमा जाने कार्यक्रम थियो । हामी हिँड्यौ पनि भँगेरीतिर । कमरेड एमसीलगायतलाई मन्थली नगरपालिकाले नै सवारीसाधन व्यवस्थापन गर्‍यो । हामी भने आयोजकको रिजर्भ बसमै भँगेरीतर्फ लाग्यौँ ।

हामी केही बेरमा पुग्यौँ भँगेरीमा । एउटा सानो तुलमा पुष्पलाल मार्क्सवादी विश्वविद्यालय देखिएको थियो । भँगेरी आउनु पुष्पलाल–गङ्गालाललाई सम्झिनु मात्र थिएन । पुष्पलालसँग जोडिएर मार्क्सवादी विश्वविद्यालय बनाउनुपर्छ भन्ने आयोजकको प्रस्तावमा हामी सबै अभियात्री सहमत थियौँ । भँगेरीमा २०७० सालमा उनै आयोजक अशोक सुवेदीले मुक्ति सेनाका योद्धा एवम् कवि हितप्रसाद उपाध्याय र आमा जूनमाया सुवेदीका नाममा स्थापना गरेको हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले बनाएको पुष्पलाल–गङ्गालालको सालिक अनावरण, ताम्रशिला उद्घाटन, पुष्पलाल मार्क्सवादी विश्वविद्यालय प्रस्ताव प्रस्तुत गरे । एमसी, लोककृष्ण र सबै कम्युनिस्ट पार्टीका प्रतिनिधि र वक्ताहरूले पुष्पलालको सालिकनेर उभिएर प्रस्ताव अनुमोदन गर्दै त्यही प्रतिबद्धता व्यक्त गरे । पुष्पलाललाई आदर्शको एउटा बिम्बका रूपमा स्मरण गर्ने काम भयो । छोटो कार्यक्रम सिद्धाएर हामी सिर्जनानगर फर्कियौँ । अर्गानिक खाना खायौँ र लाग्यौ मन्थली नगरपालिकाको हलसम्म्म जहाँ नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल–गङ्गालाल र कृष्णलालका योगदानहरू विषयमा बृहत् विचारगोष्ठी आयोजना हुँदै थियो । त्यति बेलासम्म समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव कमरेड पूर्णबहादुर सिंह ‘समरजङ्ग’ को नेतृत्वमा माधव गौतम, विनोद थापा, रमण घिमिरे लगायतको टोली काठमाडौँबाट सिर्जनानगर आइसकेको थियो । पार्टीका मञ्जित र अर्जुन हिजो सँगै यात्रामा आउनुभएको थियो ।

त्यहाँ दुईवटा कार्यपत्र प्रस्तुत हुँदै थिए– अशोक सुवेदीको नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल–गङ्गालाल र कृष्णलालका योगदानहरू र विमल फुयालको शिक्षा र पुष्पलालसम्बन्धी । दुवै कार्यपत्रले बौद्धिक बहसको माग गरेका थिए ।

कार्यपत्रका मुख्य बुँदाहरूमा दुवै वक्ताले सङ्क्षिप्त धारणा राखेपछि कार्यक्रममा बहस सुरु भयो ।

कम्युनिस्ट आन्दोलनका इतिहासकार डा. सुरेन्द्र केसीले समाज परिवर्तनको जुन विधि हुन्छ त्यो प्रगतिशीलहरूले अपनाउन नसकेकोमा दुःख व्यक्त गरे । उनले पुष्पलाललाई युग बुझ्न सक्ने नेताका रूपमा अथ्र्याए ।

फुयालले एउटा महत्वपूर्ण बुँदा भनेका थिए जुन शिक्षासम्बन्धी थियो । फुयालका अनुसार सिक्ने र सिकाउने काम गुरुबाट चेलामा, नेताबाट कार्यकर्तामा मात्र सीमित गर्नु हुन्न । माओले जनतासँग गएर सिक भन्नुभएको छ ।

जस्तो सिक्ने तरिका आन्दोलन पनि हुन सक्छ र स्वअध्ययन पनि हुन सक्छ । पुष्पलालले जनतामार्फत नै सिकेका थिए । उनको स्वअध्ययन ठूलो सम्पत्ति थियो । पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको घोषणामा बहस हुँदै गर्दा फुयालले उठाएको यो सन्दर्भ निकै महत्वपूर्ण लाग्यो ।

क्रुप्सकायालाई लेनिनकी जीवनसँगिनीका रूपमा धेरैले चिनेका छन् । क्रुप्सकाया एक विश्वस्तरीय शिक्षाविद् थिइन् । समाजवादी शिक्षा कस्तो हुनुपर्छ भन्नेमा उनलाई भरपूर ज्ञान थियो । हामीले क्रुप्सकायाबाट सिक्न सक्छौँ, पुष्पलालबाट सिक्न सक्छौँ । उनीहरूका दर्शन, विचार विश्वविद्यालय लायकका छन् ।

२०२१ सालमा भूमिसुधार कार्यक्रम घोषणा गरियो । पुष्पलाल नेपालको भूमि व्यवस्थालाई बुझ्नसक्ने दार्शनिक पनि थिए । उनले नेपाल झुपडीहरूको देश भएको र झुपडीहरूलाई राहत दिने तवरको भूमि व्यवस्थाको कुरा गरेका थिए । शोषक वर्गको हातमा रहेकोे भूमि शासित वर्गसम्म आउनु वास्तविक भूमिसुधार हो । पुष्पलाललाई नेपालका आधारभूत तहका जनताको पिरमर्का थाहा थियो । कार्यपत्रहरूको व्याख्या मौलिक थियो ।

पुष्पलालले नै नेपाली समाजलाई ऐतिहासिक भौतिकवादी कोणबाट व्याख्या गर्न र बदल्न सुरुआत गरेका थिए । मार्क्स–एङ्गेल्स लिखित कम्युनिस्ट घोषणापत्रको अनुवादक, माओ त्सेतुङको नयाँ जनवादी क्रान्तिको कार्यदिशाको अनुवादक, प्रचारक, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक र नेकपाको घोषणापत्रका लेखक, विचारक थिए पुष्पलाल । मलाई लाग्छ, पुष्पलालको हाराहारीको दार्शनिक, बौद्धिक नेता नेपाली कम्युनिस्ट आन्दोलनमा जन्मेकै छैन । त्यसैले पनि आयोजकको पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको प्रस्ताव अत्यन्त उचित छ ।

मुकुन्द आचार्यले भने– पुष्पलाल अध्येता मात्र नभएर खोजकर्ता पनि थिए ।

असारे काकाले खु्रस्चेवको सन्दर्भ झिके । रामेछापमा एउटा कम्युनिस्ट पार्टी निर्माण गर्दाका सुखदुःख पनि उनले सुनाए ।

त्यसपछि पालो आयो– झापा विद्रोहका मुख्य वैचारिक कमान्डर मोहनचन्द्र अधिकारीको । उनले कम्युनिस्ट हुन वर्गपक्षधरता अनिवार्य छ भन्दा हलमा परर ताली बजेको थियो । उनले झापामा आधारभूत तहका जनतालाई कसरी कम्युनिस्ट आन्दोलनमा जोडियो भनेर सुनाए । सर्वहारा र मजदुर वर्गको सेवा गर्नुपर्नेमा उनले जोड दिए ।

जनताको सेवा गर्ने कुरा अहिले पनि महत्वपूर्ण रहेकोेमा अधिकारीको जोड थियो । कम्युनिस्ट आन्दोलनमा मौलाएको गुटबन्दीलाई छोएर उनले धारणा राखे ।

यस्तै पालो आयो देवशङ्करको । रसिक पौडेल यात्राभरि पनि रमाइलो यात्रीका रूपमा चिनिएका थिए । उनले मोहनचन्द्र अधिकारीको रिहाइसम्बन्धी प्रसङ्ग झिके । नेपालमा वैध र अवैध सङ्घर्षका वाहक दुईटा मात्र कम्युनिस्ट पार्टी चाहिएको उनको धारणा थियो । त्यस्तो पार्टी एउटा सत्तामा रहनेहरूको अनि अर्को बाहिर सङ्घर्षरतहरूको हुनुपर्ने मनसाय पौडेलले व्यक्त गरेका थिए । उनले आयोजक संस्थालाई हृदयैदेखि धन्यवाद पनि दिए ।

कार्यक्रम आयोजकले सबै वक्तालाई समय तोकेका थिए जसका कारण वक्ताहरूले समयमा नै बोलिसकेका थिए । कार्यक्रममा लम्बेतानमा बहस फसेको थिएन ।

समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव समरजङ्गले कम्युनिस्टहरूको व्याख्याले पुँजीवाद बहुरङ्गी भएको धारणा व्यक्त गरे । उनले कसरी छोटकरीमा बोल्ने भन्ने सन्दर्भमा गिरिजाको सन्दर्भ जोडे । गिरिजाले भनेका रहेछन्– चुनाव हुन्छ । गाउँ जानुस् । हामीले जित्नुपर्छ । समरजङ्गले वैज्ञानिक समाजवादी जनक्रान्ति सम्पन्न गर्ने विषयमा एकदमै सङ्क्षिप्त धारणा राखेका थिए ।
सीपी मैनालीको धारणा थियो– हामी मनोगतवादी हुनु हुन्न । इतिहासलाई व्यक्तिको कोणबाट मात्र नहेरी परिवेशको कोणबाट हेर्नुपर्छ ।

नारायण शर्मा ‘कमलप्रसाद’ ले तीन लालको योगदानको स्मरण गर्दै कम्युनिस्ट आन्दोलन टुटफुट र विभाजनमा गएकोमा दुःख व्यक्त गर्दै क्रान्तिकारी ध्रुवीकरणमा जोड दिए ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले समाजमा जहिल्यै पनि सकारात्मक र नकारात्मक दुईवटा पक्ष हुने र यिनीहरूबीच द्वन्द्व हुने हुनाले कुनै पनि कुरालाई एकाकी ढङ्गले व्याख्या गर्नु नहुने बताए । उनले आयोजकको प्रस्ताव महत्वपूर्ण हुनाले यसमा राष्ट्रिय बहस गरी पारित गर्न पहल हुने बताए ।

नकारात्मक कुरा आलोचना र सकारात्मक कुराको समर्थन सही अर्थमा द्वन्द्ववाद हो भन्ने ज्ञवालीको आसय थियो । नेत्री सरला रेग्मीले जनयुद्ध र जनक्रान्तिका सहिद परिवारलाई राज्यले मृतकका परिवार भनी होच्याएकोमा दुःख र आक्रोश व्यक्त गर्र्दै त्याग, शौर्य र बलिदानको अपमान नगर्न र इतिहासका कडीहरूलाई आन्दोलनमा जोड्न आग्रह गरिन् ।

मन्थली नगरपालिका हलमा भएको बहस कार्यक्रममा स्थानीय उपस्थिति कम भए पनि बौद्धिक छलफल घनीभूत भएको थियो । नगरपालिकाले अभियात्रीहरूलाई स्वागत तथा सम्मान गरेको थियो ।

चैत २५ गते यात्राको तेस्रो दिन । हितप्रसाद उपाध्याय र जूनमाया सुवेदीको स्मृतिको दिन पनि हो यो दिन । अशोक कमरेडले श्रममा जोडिन कम्युनिस्ट पार्टीका नेताहरू र सबै अभियात्रीलाई अनुरोध गर्नुभयो । यही जिल्लाको कठजोरमा जन्मेका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी मकैको खेती पुस्तक लेखेबापत राज्यसत्ताको निशानीमा परेका थिए । हामी मकैको खेतीलाई गोडमेल गर्न ठूलो खेतको गरामा छिर्‍यौँ । समाजका काला टाउके र राता टाउके कीराहरू पन्छाउने अभियानको यो नयाँ शृङ्खला थियो ।

यात्रीहरू कोदोलो लिएर मकै गोड्न थाले । यस अभियानका अभियन्ता अशोक कमरेड सम्बद्ध समाजवादी कम्युनिस्ट पार्टी नेपाल पनि जनतामा जाऊँ, जनताको सेवा गरौँ भन्ने अभियानका साथ श्रममा जोडिएकै थियो । माओले पनि जनताको सेवा गर भनेको कुरा हामी उल्लेख गरिरहन्छौँ । मकै गोड्न सबैभन्दा अगाडि सरे माओवादी केन्द्रका नेता पेशल खतिवडा र र वयोवृद्ध असारे काका । श्रमिक कम्युनिस्ट पार्टी नेपालका महासचिव समरजङ्ग लगायत कमरेडहरू पनि मकैबारीमा देखिए । कमरेड सीपीले पनि मकै गोडे । थुप्रै कमरेडहरू बारीमा देखापरे । कम्युनिस्टहरूले श्रम गर्नुपर्छ भन्ने कुरालाई जोड दिनु सकारात्मक कुरा नै हो जुन आजको बिहान मूर्त भएको थियो ।

मकै गोड्ने कार्यक्रम चलिरहँदा अचानक पत्रकार ज्योति किरणलाई मन्थलीको कडा दूध चिया पिउने रहर भो । कलाकार घनश्याम एन्टिना र कम्युनिस्ट इतिहासका जानकार डा. सुरेन्द्र केसीसहित लाग्यौँ मन्थली क्याम्पसनेरको चिया दोकानमा । पहिलो लटमा मिसिए लोककृष्ण भट्टराई र पेशल खतिवडा । क्रमशः कमलप्रसाद, विनयराज र विनोद थापाहरू पनि मिसिनुभो । दर्जन मान्छे दर्जन कप चियामा चुस्की लगाउन थाल्यौँ ।

सामाजिक सञ्जालमा सबैभन्दा धेरै खोजिने पात्रमध्ये एक थिए डा. सुरेन्द्र केसी । एकाध मानिसहरूले उनीसँग सेल्फी खिचे । यसरी सेल्फी खिच्नेमा जेनजी (अहिलेको नयाँ पुस्ता) पनि थिए । नयाँ पुस्तामा राजनीतिक चेत पुगेको थियो तर दलाल व्यवस्थाको वैचारिकीले उनीहरूलाई धमिलो पानीमा माछा टिप्न सिकाइरहेको थियो । हामीले नयाँ पुस्ताको कुरा पनि गर्‍यौँ । नारायण शर्मा ‘कमलप्रसाद’ ले कम्युनिस्ट नैतिकताको सवाल पनि झिके । लोककृष्ण भट्टराईले झापा विद्रोहको कुरा कोट्ट्याए । बहस केहीबेर चल्यो । लाग्यौँ चौतारी हुँदै हित–जून भवनतिर ।

हामी सिर्जनानगर पुग्दा अर्गानिक खाना तयार भइसकेको थियो । यात्रीहरू थालमा खाना लिएर खान थालिसकेका थिए । कतिपय कमरेडहरू खाना खाएर थाल माझ्न थालिसकेका थिए ।

कमसेकम आफूले खाना खाएको थाल आफैँ माझ्नुपर्छ भन्ने मैले माओवादी आन्दोलनमा लागेर सिकेको हुँ । कयौँपटक आफ्नो थाल आफैँ माझिएको छ । कमरेड अशोक सुवेदी ‘विप्लव’ र म एकै आन्दोलनको उत्पादन भएको कारण थाल माझ्ने कुरा हामीलाई नौलो थिएन । झापा विद्रोहमार्फत फैलिएका माले र एमालेमा यस्तो संस्कृति हराइसके पनि कमरेडहरू थाल माझिरहेका थिए ।

विश्वविद्यालयका डाक्टरले आफ्नो थाल आफैँ माझेका थिए । सांसदहरूले आफ्नो थाल माझेका थिए । नेता–कार्यकर्ताहरू थाल मस्काइरहेका थिए । सिर्जनानगरमा थाल माझ्ने चलन पनि सिर्जनात्मक थिति नै बनेको थियो र जारी छ ।

केहीबेरमा आजको महत्वपूर्ण कार्यक्रम सुरुआत हुँदै थियो । राज्यव्यवस्थाले रोजगार दिन नसकेको दुर्गम गाउँहरूमध्ये मन्थली क्षेत्र पनि एक हो । मानिसहरूलाई उपभोक्तावादी संस्कृतिले निल्दैछ । यो अर्थमा अशोक सुवेदीले असल बुहारी–छोरा सम्मान, अन्तरजातीय वैवाहिक जोडी, श्रमिक, अग्रज, स्रष्टालगायत सम्मानलाई जोड दिएका छन् । सासू–ससुराका सहारा बनेका असल बुहारीहरूलाई सुवेदीले प्रत्येक वर्ष नगदसहित दोसल्ला ओढाएर सम्मान गर्दै आएका छन् । हित–जून साहित्य प्रतिष्ठानले गर्दै आएको छ पनि भन्न सकियो । यसपटक पनि यस्ता सम्मानहरू भए । गीता भुजेल–तिलक भुजेल यस वर्षका असल छोरा–बुहारी घोषित भए । असल छोरा–बुहारीका बाबु–ससुरा लालबहादुर भुजेलसमेत सम्मानित भए ।

केहीबेर कविता प्रतियोगिता हुँदै थियो । मलाई अगाडि नै अशोक सुवेदीले भन्नुभएको थियो– यसको निर्णायक तपाईं हुनुपर्छ है भनेर । उहाँले केही बेरमा नै कवि तथा लेखक नीलकमल, कलाकार एन्टिना र म रहेको तीन सदस्यीय निर्णायकमण्डल घोषणा गर्नुभो । कविता वाचन सुरु भयो । मलाई कविताको मूल्याङ्कन गर्न खासै आउँदैन तर कहिलेकहीँ यस्ता बाध्यताहरू आइपर्छन् ।

कविता वाचन सुरु भयो । अतिथिहरूले पनि कविता वाचन गरे । आमासँग जोडिएको संस्थाले राखेको कार्यक्रम भएकाले पनि धेरैजसोले आमाकै विषयलाई जोडेर कविता वाचन गरे । त्यसमध्ये सान्त्वनासहित नगद पुरस्कार घोषणा भयो जसमा हामीले ५० पूर्णाङ्कमा कवितामा मूल्याङ्कन गरेका थियौँ– प्रस्तुति, विषयवस्तु र शैलीलाई आधार बनाएर । त्यसमा सुप्रिया कार्कीको ‘भेदभाव नगरौँ’ शीर्षकको कविता प्रथम भएको थियो । यस्तै दिया सुवेदीको ‘मेरी आमा’ शीर्षकको कविता द्वितीय, निशिका सुवेदीको ‘मेरो प्यारो गाउँ’ शीर्षकको कविता तृतीय र असीम दाहालको ‘आमा’ शीर्षकको कविताले सान्त्वना पुरस्कार पाएको थियोे । अरू पनि धेरै अब्बल कविताहरू थिए ।

सङ्क्षिप्त बनेको कार्यक्रम सकिएसँगै बिदा भएर हामी सबै गाडीमा चढेका थियौँ । फर्कंदा पनि मूलकोटको आमा होटेलमा चिया पियौँ र लाग्यौँ राजधानीतर्फ । राजधानी आइपुग्दा साँझ छिप्पिन खोज्दै थियो तर सिर्जनागरको यात्राको स्मृति भने हृदयभरि झलमल्ल थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?