
‘म त ढाकातिरै भूमिगत छु । अलिकति सहयोग चाहिएको छ साथी ।’
ह्वाट्स एपमा आउने बल्छी हालेका सन्देश जस्तो लागेर ब्लक गर्ने कि नगर्ने भनेर दोमन थिएँ, अर्को सन्देश आयो– ‘म मानिक हो ।’
इस्लामिक कट्टरपन्थीहरूका बारेमा समाचार लेख्नमा महारथ हासिल गरेका बंगलादेशका खोज पत्रकार जुल्फिकार अलि मानिक विगत सात आठ महिनादेखि सम्पर्कमा थिएनन् । हप्ता दश दिनमा सामाजिक सञ्जालमा हाई हेलो हुने साथीको अचानक अत्तोपत्तो नभएपछि केही सन्देश पठाएको थिएँ । तर जवाफ आएन । बंगलादेशको अगस्त २०२४ को ‘क्रान्ति’ का खबरमा व्यस्त भए होलान् भनेर वास्ता पनि गरिएन् । उनी त नोबेल पुरस्कार प्राप्त युनुसले नेतृत्व गरेको सरकारले प्रेस र पत्रकारमाथि थालेको दमनको सिकार भएका रहेछन् ।
दश बाह्र वर्ष अगाडि ढाकाका युवा पत्रकारहरूलाई दुई साता लामो तालिम दिन जाँदा देखिको दोस्ती हो मानिकसँग । हाम्रो मित्रता अलि गहिरो हुनुको मुख्य कारणचाहिँ उनको नेपाल प्रेम हो । हरेक पटक नेपाल आउँदा ‘पर्यटक नजाने ठाउँमा लैजा है साथी’ भन्थे । नेपाली खानाको खुब मस्तसँग खान्थे र भन्थे, ‘नेपाल त स्वर्ग नै हो यार हामी जस्ता खन्चुवाका लागि ।’ उनलाई सबैभन्दा ईर्ष्या लाग्ने चाहिँ नेपालको स्वतन्त्र समाज हो । मानिक भन्थे, ‘हाम्रोमा कट्टरपन्थीहरूले समाज भाँड्दै छन् । हाम्रो लोकतन्त्र मास्दैछन् ।’
नभन्दै त्यस्तै भयो ।
इस्लामिक कट्टरपन्थीको आडमा युनुसले नेतृत्व गरेको सरकारले बंगलादेशको इतिहासमा कहिल्यै नभएको हिसाबले मिडिया माथि दमन गरेको छ । कैयौँ पत्रकारहरूलाई पक्राउ गरिएको छ, निर्वासित वा भूमिगत हुन बाध्य पारिएको छ, कयौँलाई बेपत्ता पारिएको छ ।
समाचार कक्षहरूमा छापा मारिएको छ, लाइसेन्स खारेज गरिएको छ, प्रकाशनहरू बन्द गरिएका छन् । दमन मात्र होइन त्यहाँ त स्वतन्त्र प्रेसको विचारलाई मेटाउने प्रयास गरिएको छ ।
सन् २०२४ को अक्टोबरमा नै स्विस पब्लिक रेडियोकी वरिष्ठ सम्पादक सार्लोट ज्याकमार्टले डा. युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले पत्रकार माथि अत्याचार गर्न थालेको भनेर आवाज उठाएकी हुन् । त्यस लगत्तै धेरै अन्तर्राष्ट्रिय संघसंस्थाले चासो दिएर बंगलादेशको प्रेसको अवस्था हेरिरहेका छन् । खासमा डा. युनुसको सहयोगीका रूपमा धर्मनिरपेक्षता र लोकतान्त्रिक मूल्यमान्यताका कट्टर शत्रुहरू जम्मा भएका छन् । उनीहरूलाई स्वतन्त्रताका हिमायती पत्रकारहरूलाई दबाउने यस्तै अवसर चाहिएको थियो ।
मिडिया रिपोर्टहरूका अनुसार ३०० भन्दा बढी पत्रकारहरूमाथि भ्रष्टाचार, षड्यन्त्र, हत्यालगायतका नक्कली अपराधको आरोप लगाइएको छ । यी आरोप उनीहरूको प्रतिष्ठा नष्ट गर्न र जेलमा थुन्नका लागि डिजाइन गरिएको हो । यस्तै नक्कली अपराधमा निडर रिपोर्टिङका लागि कहलिएका श्रीमान् श्रीमती शकिल अहमद र फरजाना रूपा थुनिएका छन् । सन् २०२४ को अगस्तमा नै देश छोड्ने प्रयास गर्दा ढाका विमानस्थलमा उनीहरूलाई समातिएको हो । कुनै अभियोग बिना नै हप्तौँसम्म थुनामा राखिएपछि, उनीहरूलाई अन्ततः हत्याको शृङ्खलाको योजना बनाएको आरोप लगाइएको थियो ।
नाबालिग छोरीसँग भेट्न पनि दिइएको छैन। उनीहरूको एक मात्र अपराध सत्यप्रतिको उनीहरूको प्रतिबद्धता हो ।
यसका अतिरिक्त युनुस सरकारले प्रेस प्रमाणपत्रहरू खारेज गरेको छ, पत्रकारका बैंक खाताहरू फ्रिज गरेको छ, र पूर्व सरकारसँग सहानुभूति राखेको शङ्का लागेका पत्रकारहरूमाथि यात्रा प्रतिबन्ध लगाएको छ । अहिलेसम्म १६७ पत्रकारहरूको सरकारले दिने प्रेस प्रमाणपत्र खोसिएको छ, राष्ट्रिय प्रेस क्लबका २७ सदस्यहरूलाई निष्कासन गरिएको छ ।
महिला पत्रकारहरूलाई अझ कठोर व्यवहार गरिएको छ । यौन उत्पीडन, भीडले आक्रमण र हिंसात्मक धम्कीका रिपोर्टहरू बढ्दै गइरहेका छन् । कट्टरपन्थी भीडले प्रथम आलो ९पहिलो किरण० र द डेली स्टार जस्ता उदारवादी पत्रिकाहरूलाई बन्द गरिनु पर्ने भन्दै आक्रमण गर्दै आएका छन्। एक पटक त ‘भारत समर्थक’ भएको आरोप लगाउँदै प्रथम आलोको कार्यालय बाहिर भीडले गाई काटेर प्रदर्शन गर्यो । यो विरोध केवल राजनीतिक रोष मात्र होइन ( धर्मनिरपेक्षता र स्वतन्त्र विचारको निमिट्यान्न पार्न दृढ गुटहरूद्वारा सञ्चालित भएको अभियानको पाटो हो ।
सरकारका नाम मात्रका नेता डा. युनुसले यस्ता दमन रोक्न केही गरेका छैनन् । उनले पत्रकारहरू विरुद्ध लगाइएका आरोपहरू ‘अन्यायपूर्ण’ र ‘हतारमा’ भएको स्वीकार गरेका छन्, तर उनले कुनै कारबाही गरेका छैनन् । डा. युनिसका नाहिद इस्लाम भन्ने प्रेस सल्लाहकारले ती सबै पत्रकारलाई फासिस्ट भनेर उनीहरूले विगत १५ वर्षमा पत्रकारिताको कामको पूर्ण समीक्षाको गर्ने र उनीहरूको कथित ‘फाँसीवादी कथाहरू’ खोतलेर सजाय दिने बताएका छन् ।
बंगलादेशमा भइरहेको प्रेस दमनका बारेमा आफ्नो लामो लेखमा इस्लामिक मामिलामा विशेषज्ञता हासिल गरेका अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका वरिष्ठ फेलो माइकल रुबिनले मुहम्मद युनुसको नोबेल शान्ति पुरस्कार नरसंहार, प्रेस दमन र मानव अधिकारको हननको आवरण बन्नु हुँदैन भनेका छन् ।
जुनसुकै सरकार आउँदा पनि बङ्गलादेशका पत्रकारहरूले सधैँ धाक धम्कीका बिचमा काम गरेका हुन् । सरकारहरूले उत्पीडन गरेकै हुन, सेन्सर र आक्रमण उनीहरू सिकार भएकै हुन् । तर उनीहरूले आत्मसमर्पण गर्न सधैँ अस्वीकार गरे । उनीहरूले भ्रष्टाचारको पर्दाफास गरेका छन्, मानवअधिकार उल्लङ्घनहरू उजागर गरेका छन्, र शासनमा रहेका अभिजात वर्गले बेवास्ता आवाज विहीनहरूलाई आवाज दिएका हुन् । तर अहिले त्यहाँ प्रेस माथिको उत्पीडन अलि फरक छ । अहिले डा. युनुसको नेतृत्वमा इस्लामिक कट्टरपन्थीहरू पत्रकारिताको समग्र विनाश गर्न चाहिरहेका छन् ।
अहिले भूमिगत रहेका खोजी पत्रकार जुलफिकार अलि मानिकले २०१९ तिर नै यो स्थिति आउँछ भनेर सावधान गराएका थिए । मानिकले त्यति बेला स्विडेनको नोर्डिकम गोथेनबर्ग विश्वविद्यालयको नर्डिक मिडिया अनुसन्धान केन्द्रले निकालेको जर्नलमा लेखेका छन्, ‘धर्मनिरपेक्ष लोकतान्त्रिक बंगलादेशलाई कट्टरपन्थी र अतिवादी आश्रय स्थलमा परिणत गर्न इस्लामिक अतिवादीहरूले आफ्नो आतंकवादी काममा ग्रिनेड, बम, बन्दुकलगायतका हतियार मात्र प्रयोग गरिरहेका छैनन्, उनीहरूले रणनीतिक र व्यवस्थित रूपमा सामाजिक र सांस्कृतिक परिवर्तनको काममा हात हालेका छन् । उनीहरूले प्रारम्भिक शिक्षामा कट्टरपन्थीको बीउ रोपेर समग्र शिक्षा परिवर्तन गर्ने प्रयास गरिरहेका छन् । यसले अन्ततः धर्मनिरपेक्ष मूल्यमान्यता र अभ्यासहरूमा परिवर्तन ल्याउँछ । उनीहरूले आफूले चाहेको परिवर्तनका लागि सबैभन्दा महत्त्वपूर्ण समूहको रूपमा युवाहरूलाई लक्षित गरेका छन् ।’
मानिकले लेखेका छन्, ‘बङ्गलादेशमा, इस्लामिक अतिवादीहरूले मध्यम र उदार मुस्लिमहरू र धर्मनिरपेक्ष राजनीतिज्ञ, सामाजिक र सांस्कृतिक संस्थाहरूलाई दबाउनका लागि स्कुलको पाठ्यपुस्तकबाट प्रगतिशील, धर्मनिरपेक्ष र हिन्दु लेखकहरूको कामलाई हटाउने प्रयास गरेका छन्। इस्लामिक अतिवादीहरूले हिन्दु पौराणिक कथाबाट देवता, पात्रहरू र पवित्र स्थानहरू चित्रण गरेको आधारमा ती आपत्तिजनक भएको भन्दै केही साहित्यिक लेखहरू बालबालिकाका पाठ्यपुस्तकहरूबाट पहिले नै हटाइसकिएका छन् ।’
इस्लामी कट्टरपन्थीहरूको बढ्दो शक्तिले बङ्गलादेशको दैनिक जीवन फेरिएको छ । महिलाहरूको लागि सार्वजनिक रूपमा हिँड्ने ठाउँहरू साँघुरिँदै गएका छन् । रिपोर्टहरूले ढाकाका सडकहरूबाट महिला र किशोरीहरू देखिन छाडेको उल्लेख गरेका छन्, उत्पीडन र हिंसाको बढ्दो खतराले उनीहरूको आवागमनलाई सीमित पारेको छ । बङ्गलादेश केवल तानासाहीमा फसिरहेको छैन, अझ अँध्यारोमा तिर लाग्दै गएको देखिएको छ । एक पटक अभिव्यक्ति स्वतन्त्रता दबाइ दिएपछि, अन्य सबै स्वतन्त्रताहरूलाई दबाउन सजिलो हुन्छ ।
नेपालका आभिजात्य वर्ग र सधैँ सत्तामा रमाउनेहरूले गरेका भ्रष्टाचार र निम्ताएका बेथितिका लागि मिडियालाई दोष दिन खोजे जसरी नै बंगलादेशमा विरोध प्रदर्शनमा मारिएका छात्रहरूको हत्याका लागि पत्रकारहरूलाई बलिको बोको बनाउन खोजिएको हो । त्यसैले उनीहरू माथि हत्याजस्ता अभियोग लगाएर थुनिएको हो ।
बंगलादेशमा के भइरहेको छ यो केवल त्यहाँ सङ्कट मात्र होइन (यो हाम्रा लागि पनि चेतावनी हो । नेपालमा पनि भारततिरबाट चलेको दक्षिणपन्थी हावामा मिसिएर आएको छ कट्टर पन्थ । सामाजिक सञ्जालमा सक्रिय कथित “इन्फ्लुएन्सर” आफ्नो स्वार्थ अनुरूप त्यही कट्टर पन्थका आडमा युवाहरूलाई नेपालका आमसञ्चार माध्यमसहित लोकतान्त्रिक संस्थाविरुद्ध भड्काउन व्यस्त छन् । अभिव्यक्ति स्वतन्त्रता र त्यसका लागि काम गर्ने संस्थाहरूलाई सिलसिलाबद्ध रूपमा कमजोर बनाएमा सामन्ती र तानासाही व्यवस्था ल्याएर आफ्नो दुनो सोझ्याउनेहरू सक्रिय भएका छन् अनेक नाममा ।
रिपोर्टर्स विदआउट बोर्डर्स र कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स जस्ता संस्थाहरूले बङ्गलादेशमा मिडिया माथिको दमनको निन्दा गरेका छन्, तर तिनका शब्दहरूले मात्र दमनको मेसिनरीलाई रोक्न सक्दैन । खोजी पत्रकार जुलफिकार अलि मानिक वा शकिल अहमद वा फरजाना रूपा वा त्यहाँका पत्रकारलाई हामीले गर्ने सहयोग भनेको बंगलादेशमा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्र, धर्मनिरपेक्ष मूल्यमान्यता र अभ्यासहरूलाई जोगाउनका लागि नेपालमा जनस्तरबाट नै आवाज उठाउने हो र त्यो बेला आइसकेको छ ।
प्रतिक्रिया 4