+
+
Shares

यति धेरै जनप्रतिनिधि देशले थेग्न सक्दैन, संख्या घटाउनुपर्छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ६ गते २०:४६

६ वैशाख, पोखरा । कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकार खर्चिलो भएर थेग्न नसक्ने बताएका छन् । अहिले यति धेरै जनप्रतिनिधि देशले थेग्न सक्दैन बताउँदै उनले संख्या घटाउनुपर्ने बताएका हुन् ।

संघ, प्रदेश र स्थानीय तिनै तहमा जनप्रतिनिधिको संख्या घटाउनुपर्ने थापाको भनाइ थियो । कास्की अन्नपूर्णमा शहीद कृष्णबहादुर गुरुङको स्मृति सभालाई सम्वोधन गर्दै थापाले खर्च कम गर्नका लागि संविधान सच्याउनुपर्ने बताएका हुन् ।

देशको अनुभवले प्रदेशलाई पंगु बनाएको थापाले बताए । ‘हामीले प्रदेशलाई कामै गर्न दिएनौं । प्रदेशलाई हामीले भारीजस्तोमात्रै बनायौं । यसरी चलाउने भनेको होइन हामीले,’ थापाले भने, ‘संघ यति शक्तिशाली बनाएर हुँदैन ।’

थापाले संघले प्रदेशको अधिकार, प्रदेशले स्थानीय तहको अधिकार खोसेर नहुने उनको भनाइ थियो । संघले जे कुरामा हात हाल्ने हो त्यसमा मात्र हात हाल्नुपर्ने बताउँदै संघले चाहिनेभन्दा बढी प्रदेशमा हात हालेको उनको जिकिर थियो ।

‘प्रदेशले चाहिनेभन्दा बढी स्थानीय तहमा हात हालेको छ । यसलाई हामीले बदल्नुपर्ने छ । हामीले सरकार खर्चिलो भएर थेग्न सक्दैनौं । यति धेरै जनप्रतिनिधि देशले थेग्न सक्दैन,’ थापाले भने, ‘हामीले जनप्रतिनिधिको संख्या घटाउनुपर्छ । संघमा पनि घटाउनुपर्छ, प्रदेशमा पनि घटाउनुपर्छ, तल पनि घटाउनुपर्छ र खर्च हामीले कम गराउनुपर्छ ।’

यो कुरा अनुभवले सिकाएको र त्यही अनुभवको आधारमा यसलाई सच्याएर संविधानलाई थप सुदृढ बनाउनुपर्ने थापाको भनाइ थियो । ‘यही संविधान सयौं, दुई सयौं वर्ष चल्न सक्छ, जसरी अमेरिकामा एक पटक बनेको संविधान अहिलेसम्म चलेको छ, भारतमा बनेको संविधान अहिलेसम्म चलेको छ’ थापाले भने, ‘किन चलेको छ भने उनीहरुले अनुभवका आधारमा परिवर्तन गर्दै गएका छन्, बदल्दै गएका छन्, थप्दै गएका छन् ।’

नेपालले पनि थप्दै, घटाउँदै, मिलाउँदै गएमात्र यो व्यवस्था सदृढ हुने थापाले बताए । अब यो विषय अगाडि राजनीतिको छलफलको विषय हुनुपर्ने थापाको भनाइ थियो ।

१० वर्ष माओवादी सशत्र संघर्ष, त्यसपछिको १० वर्ष शान्ति प्रक्रियापछिको संक्रमणकाल र ७० देखि ८० को दश वर्ष संविधान जारी गर्ने र चुनाव गराउनेमा बितेको थापाले बताए । ८० देखि ९० को दशकको अबको ८ वर्ष अरु कुरामा खेरा फाल्न नहुने थापाको भनाइ थियो । ‘यो ८ वर्ष, जसलाई हामी सपना भनेका छौं । हाम्रो बाटोहरु राम्रा बनाउने कुरा, हाम्रा विद्यालय राम्रा बनाउने कुरा, हाम्रो स्वास्थ उपचार राम्रो बनाउने कुरा, हाम्रा केटाहरुलाई मुग्लानमा जान नपर्ने बनाउने कुरा, हाम्रा खेतीपाती राम्रो बनाउने कुरा,’ थापाले भने, ‘यिनै कुराहरु नै अहिलेको राजनीतिको प्रमुख मुद्धा बन्नु पर्दछ ।’ अब दलहरुको बीच पनि त्यही एजेण्डामा प्रतिस्पर्धा हुने उनको भनाइ थियो ।

अलिकतिमात्रै सम्हाल्ने हो भने अबको १० वर्षभित्रमा चमत्कार गरेकोजस्तो विकास गर्न सकिने थापाले बताए । त्यो चमत्कार गर्न सबै कुरा मिलेको मात्र नेतृत्वको काम गर्ने ढंग नमिलेको थापाको भनाइ थियो ।

‘हामी अहिलेको संविधान पनि जोगाउन चाहन्छौं । हाम्रो अहिलेको छटपटी भनेको, हामी कराइरहेको तपाईंहरुले देखिराख्नुभएको छ । देशभर डुलिरहेका छौं । कतिपय ठाउँमा प्रश्न गरिरहेका छौं, कहिले सरकारलाई, कहिले नेतालाई, कहिले आफ्नै पार्टीका नेतालाई । हामी पनि गाली खाइरहेका छौं,’ थापाले भने, ‘यो छटपछी, हुटहुटी केका लागि हो भने हामीले देशको यो समय खेर फाल्नु हुँदैन ।’

हम्रो अनुभवले के कुरा सिकायो भने कुनै पनि सरकारले ५ वर्ष चलाउनै नपाउने भएको उनको भनाइ छ । प्रत्येक दिन सरकार बनाइरहेका मानिसहरु आज सरकार जान्छ कि भोलि जान्छ कि भनेर डराएर बस्नुपर्ने अवस्था बनेको थापाले बताए ।

‘आजै समाचार हेर्‍यो भने पनि ३ ठाउँमा ३ जनाले सरकार जान्छ भनेर बोलेको भेटिन्छ, ३ जनाले सरकार ढल्दैन भनेको भेटिन्छ,’ थापाले भने, ‘दिनमै ६ ठाउँमा एउटाले सरकार ढल्छ भन्छ, अर्काले सरकार ढल्दैन भनेको अवस्था छ । हिजो पनि यस्तै थियो ।’

यसबाट हाम्रो निर्वाचन प्रणाली अझै समावेसी बनाउनुपर्ने र केही कुरामा सच्याउनुपर्नेरहेछ, जसका कारणले गर्दा एउटा पार्टीले राम्रोसँग लोकप्रियता हाँसिल गर्‍यो भने एक्लै ५ वर्ष सरकार चलाउनका निम्ति केही कुरा सच्याउनुपर्ने अनुभवले सिकाएको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?