
७ वैशाख, जनकपुरधाम । धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदीको बगरमा बिहीबार दिउँसो २ बजे लहरै ट्याक्टरहरु थिए । ती ट्याक्टरहरुमा मजदुरहरुले ढुंगागिट्टी र बालुवा भरिरहेका थिए ।
कमलापुलदेखि करिब तीन किलोमिटर क्षेत्रसम्मको बगरमा करिब २ सयदेखि ३ सयको संख्यामा ट्याक्टरहरु देखिन्थे । कमला नदीको बगरबाट उत्खनन गरिएका नदीजन्य पदार्थहरु पश्चिमी किनारका दुई ठाउँमा जम्मा गर्ने र स्थानीय क्रसर उद्योगहरुमा लग्ने गरेको प्रत्यक्ष देखिन्थो ।
यसरी कमला नदीबाट उत्खनन गर्ने जिम्मा लिने ठेकेदार कम्पनी हो कमलेश्वरी निर्माण सेवा एण्ड सप्लायर्स प्रा.लि. काठमाडौं । त्यसको ठेकेदार हुन् गणेशमान चारनाथ नगरपालिका ८ का ३९ वर्षीय नागेन्द्र प्रसैला यादव ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका र कर्जन्हा नगरपालिकाको संयुक्त स्वामित्वमा पर्ने कमला नदीमा गणेशमानको वडा नम्बर ८ र कर्जन्हाको वडा नम्बर ३ क्षेत्रमा २८ हजार घनमिटर उत्खननका लागि मूल्य अभिवृद्धि करबाहेक १ करोड ५१ लखमा ठेक्का पाएका छन् ।
गणेशमान चारनाथ नगरपालिका र कर्जन्हा नगरपालिकाको १३ चैत २०८१ को नगरस्तरीय बैठकबाट प्रसैलाले १४ चैत २०८१ देखि जेठ मसान्त २०८२ सम्मका लागि बोलपत्र मार्फत ठेक्का पाएका हुन् ।
जसको १३ चैतमा दुबै नगरपालिकाले संयुक्त रुपमा ठेकेदार कम्पनी कमलेश्वरी निर्माण सेवा एण्ड सप्लायर्स प्रा.लि. का प्रतिनिधि ठेकेदार प्रसैलासँग ३२ बुँदे सम्झौता गरेको छ । तर नदीमा उत्खननको क्रममा सम्झौताको बुँदाहरुको पालना भएको देखिँदैन । बिहान सूर्योदयदेखि साँझ सूर्यास्तसम्म मात्र उत्खनन गर्न पाउने सम्झौतामा उल्लेख छ । तर बिहानदेखि अबेर रातिसम्म उत्खनन गर्ने गरेको स्थानीयले बताएका छन् ।
‘बिहान ५–६ बजेदेखि रातिसम्म खन्छ । केहीदिन अघिसम्म त मध्यराति पनि नदीको बगर खनेको देखिएको थियो’ कमला बगरमा खेती गर्ने एक किसानले भने ।
सम्झौता अनुसार वातावरणमा असर नपर्ने गरी बगर क्षेत्रमा तोकिएको ठाउँमा मात्र उत्खनन गर्ने उल्लेख छ । तर ठेकेदारले पानी बगिरहेको ठाउँबाट समेत उत्खनन गरेको पाइएको छ । यसबाट नदीले धार परिवर्तन गरी क्षति पुर्याउन सक्ने जोखिम पनि बढाएको छ ।
दैनिक ३ सय घनमिटर मात्र तोकिएको ठाउँबाट उत्खनन गर्न पाउने आईईई रिपोर्टमा उल्लेख छ । तर ठेकेदारले सम्झौता भन्दा कयौं गुणा बढी परिमाणमा जथाभावी उत्खनन गर्ने गरेको स्थानीयको भनाइ छ ।
एकजना ट्याक्टर चालकले नाम उल्लेख नगर्ने सर्तमा आफूले एक दिनमा २५ देखि ४० टिपसम्म ओसार्ने गरेको बताए । ‘कहिलेकाहीँ बिहानदेखि अबेर रातिसम्म पनि काम गर्दा ४० टिपभन्दा बढी लोड–अनलोड गर्छौं । हामीलाई टिप अनुसारको रकम तोकिएको छ । त्यसकारण सकेसम्म धेरै टिप लोड–अनलोड गर्न ट्याक्टरहरुबीच प्रतिस्पर्धा हुन्छ’ उनले भने ।
एउटा ट्याक्टरको ट्रलीमा एकपटकमा अढाई घनमिटर लोड हुन्छ । दैनिक २५ ट्रलीको दरले नदी दोहन गर्दा ६२.२ घनमिटर हुन्छ । यसरी दैनिक न्यूनतम २ सय ट्याक्टरको हिसाब जोड्ने हो भने १२ हजार ५ सय घनमिटर उत्खनन भइरहेको सोझो हिसाब निस्किन्छ ।
तर ठेकेदार नागेन्द्र प्रसैलाले २५/३० वटा ट्याक्टर मात्र प्रयोग गरेर दैनिक ६ सय घनमिटर उत्खनन गरेको दावी गरे । ‘दैनिक २५/३० वटा ट्याक्टर मात्र प्रयोग गरेको छु । दैनिक ६ सय मिटर जति मात्र उत्खनन गरेर स्टक गर्छु’ ठेकेदार प्रसैलाले भने ।
कमला नदी किनारमै कमलेश्वरी माई क्रसर सञ्चालन गरेका उनले खोलामा बाढी आउँदा उत्खनन बन्द हुने भएकाले कहिलेकाहीँ अलि बढी खन्ने गरेको तर्क गरे ।
गणेशमान चारनाथ नगरपालिकाका मेयर जीतनारायण यादवले भने ठेक्का सम्झौता अनुसार नै ठेकेदारले उत्खनन र स्टक गरेको दावी गर्छन् । ‘हामीले दुईपटक अनुगमन गर्यौं । नियम र सम्झौता बमोजिम नै खन्ने र स्टोर गर्ने गरेको पाइयो’ मेयर यादवले भने ।
तर स्थानीय बली शर्मा भने स्थानीय सरकार र प्रहरी प्रशासनले मोटो कमिसनको सेटिङमा सम्झौता विपरीत उत्खनन गराइरहेको दावी गर्छन् । ‘दैनिक तीन सय घनमिटर मात्र खन्ने सम्झौता छ । तर पाँच सय सम्म ट्याक्टर लगाएर बिहानदेखि रातिसम्म कमला नदी दोहन गर्ने गरेका छन् । दिउँसोको समय भएकाले तपाईंले आधा मात्र देख्नुभयो होला’ अनलाइनखबरकर्मीलाई शर्माले भने, ‘दुबै पालिका, प्रहरी प्रशासन सबैको मिलेमतो छ । त्यसैले पटक–पटक जानकारी गराउँदा पनि कसैले केही भन्दैन ।’
उनले यस विषयमा पटक–पटक जानकारी गराउँदा पनि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले आफ्नो मोबाइल नम्बर ब्लक लिस्टमा राखेको आरोप लगाए ।
‘कमला नदी दोहन रोक्न हामी स्थानीयले धेरैपटक प्रयास गर्यौं । सीडीओ एसपी, इलाका प्रहरी सबैलाई हारगुहार गर्यौं’ नदीनाला अवैध उत्खननविरुद्ध अभियानका संयोजक समेत रहेका शर्माले आक्रोश पोखे ‘तर कसैले केही गर्दैन । सीडीओ र एसपीले त मेरो फोन नम्बर ब्लक लिस्टमा राख्नुभएको छ । गलत कामको सूचना दिँदा नम्बर ब्लक लिस्टमा राख्नुको उद्देश्य के हो ?’
धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले भने आफूले कसैको नम्बर ब्लक लिस्टमा नराखेको दाबी गरे । उनले कमला नदी दोहनबारे बुझ्ने बताए । ‘मैले कसैको नम्बर ब्लक लिस्टमा राखेको छैन । कमला नदीमा भइरहेको सम्झौता विपरीत उत्खनन बारे बुझेर अगाडि बढ्छु’ उनले भने ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले नगरपालिकाले नदी ठेक्का लगाएको विषयमा अहिलेसम्म आफूलाई जानकारी नभएको दाबी गरे ।
प्रतिक्रिया 4