७ वैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को एलिमिनेटरमा आज एफसी चितवन र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।
लिग चरणमा चितवन तेस्रो र पोखरा चौथो हुँदै प्लेअफमा प्रवेश गरेका थिए । एलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ । त्यसैले दुवै टोली आगाको खेल जित्दै एनएसएल यात्रा कायम राख्ने योजनामा हुनेछ ।
आजको खेल दुवैको लागि महत्वपूर्ण हुनेछ । चितवन एनएसएलमा पहिलोपटक प्लेअफमा पुगेको हो र यो पहिलो नकआउट खेल हुनेछ । यसपटक स्वदेशी र विदेशी खेलाडी मिलाएर सन्तुलित टिम बनाएको चितवन एनएसएलमा अझ अघि बढ्ने लक्ष्यमा छ ।
उता पोखरा भने लगातार दोस्रोपटक प्लेअफ खेल्न लागेको हो । दोस्रो संस्करणमा लिगमा शीर्ष स्थानमा रहे पनि पोखरा दुवै क्वालिफायर हार्दै बाहिरिएको थियो । यसपटक त्यो खराब लयलाई तोड्ने लयमा पोखरा छ ।
लिग चरणको खेलपछि चितवनका प्रशिक्षक नवीन न्यौपाने र पोखराका प्रशिक्षक सुमन श्रेष्ठले अबको लक्ष्य फाइनल पुग्ने रहेको बताएका थिए ।
चितवनका प्रशिक्षक नवीन न्यौपानेका लागि आफ्नो पूर्व टिमविरुद्ध यो दोस्रो भिडन्त हुनेछ । यसअघि लिग चरणमा चितवनले पोखरालाई २-० ले पराजित गरेको थियो । चितवन त्यही प्रदर्शनलाई कायम राख्न चाहन्छ भने पोखरा बदला लिने योजनामा छ ।
प्रतिक्रिया 4