+
+
Shares

अक्कलको सगरमाथा लक्ष्य

‘कर्णालीको पानी सफा छ, सुन्दर छ’ भन्ने सन्देश बोकेर सगरमाथा चुम्ने तयारीमा छन् मुगुका अक्कल बोहोरा । स्वदेशदेखि प्रवाससम्मको संघर्ष र सफलतापछि उनी अब सर्वोच्च शिखरमा मातृभूमिको झण्डा फहराउने अठोटमा छन् । भन्छन्– विदेशमा छु तर माटो बिर्सिएको छैन ।

वसन्त रानाभाट वसन्त रानाभाट
२०८२ वैशाख ७ गते १९:५६
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पूर्व सशस्त्र प्रहरी हवल्दार बोहरालाई सगरमाथा सफल आरोहणको शुभकामनासहित बिदाइ गर्दै ।

७ वैशाख, बार्सिलोना । ६ वर्षको उमेरमै अक्कल बोहरा काठमाडौं पठाइए– पढ्नका लागि । तर राजधानीले उनलाई किताबभन्दा पहिले जुठा भाँडा समाउन लगायो, कलमभन्दा अघि कुचो थमायो । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–१३, थार्प गाउँका अक्कलले सानो उमेरदेखि कठिन परिश्रम गरे । स्कुल कहिलेकाहीँ मात्रै पुग्थे तर सपना भने कहिल्यै टाढा छाडेनन् । उनै अक्कल अहिले सगरमाथा चुम्न तयार छन् ।

४७ वर्षीय अक्कलको बाल्यकाल कुनै कथा होइन– त्यो त कटु यथार्थ हो, जुन हजारौं नेपाली बालबालिकाले पनि भोगिरहेका छन् । तर अक्कलको कथा यहाँ रोकिन्न । उनी जीवनसँग लड्न सिके । आँसुले उनलाई करुणा सिकायो र अपमानले आत्मसम्मान । तर उनी थाकेनन्, झुकेनन्, हार मानेनन् । त्यसैले त उनले सिकेको पाठ विश्वविद्यालयमा सिकेको भन्दा उच्च छ ।

घरको आर्थिक अवस्था कमजोर थियो । परिवारमा ६ दाजुभाइ र ५ दिदीबहिनी–खानलाई पुग्दैनथ्यो । बढ्दो उमेरसँगै अक्कलले आफ्नै अस्तित्व खोज्दै राजधानी छोडेर भारततिरको यात्रा गरे । उनले त्यहाँ पनि खेतमा काम गरे, लोड–अनलोड गरे । पछि उनी भारतीय सेनामा भर्ती भए । तर विदेशी झण्डा बोकेर ‘राष्ट्रियता’ गुमाएको महसुस भयो । ‘मन अमिलो भयो, राष्ट्रगान गाउँदा आफूलाई हराएको जस्तो लाग्थ्यो,’ उनी सम्झन्छन् । त्यसपछि जागिर छाडेर स्वदेश फर्किए ।

म्याराथन धावक बोहरा ।

२०५७ सालमा सशस्त्र प्रहरी बलमा भर्ती भए । यहींबाट अक्कलको अर्को यात्रा सुरु भयो– धावकको रूपमा । सशस्त्र प्रहरीमा रहँदा उनले दौडप्रतिको रूचि बढाउँदै लगे । म्याराथनको मैदानमा उनले आत्मबलको परीक्षण गरे, र निरन्तर जिते । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई नेपालको नाम उच्च बनाए । उनी भन्छन्, ‘धावक बन्नु मेरा लागि खेल हैन, जिन्दगीको बाटो खोज्नु थियो ।’ उनलाई दौड्न प्रेरणा दिने चिज केवल जित होइन–गाउँको याद, अभावका रात र आफूजस्तै पीडामा रहेका अरूका अनुहार थिए ।

मुगुका गाउँमा उनका सफलताका समाचारले गर्व पैदा गर्न थाल्यो । तर जीवनले उनीभित्र जिम्मेवारीको गहिरो अनुभूति दिलायो । उनी भन्छन्, ‘आफूभन्दा अग्रज खेलाडीहरूको आर्थिक अवस्था नाजुक छ । रोगले थला परेपछि उपचार गर्ने पैसा हुँदैन । म त्यो अवस्था हेरेर चुप बस्न सकिनँ । आफैंलाई मात्र होइन, परिवारको अनुहार सम्झिएँ । त्यसैले देश छोडेर पनि केही गर्न सकिन्छ भन्ने विश्वास लिएर स्पेन बस्ने निर्णय गरेँ ।’

अक्कल बोहोरा विगत १८ बर्षदेखि स्पेनमा बसोबास गर्दै आएका छन् । कोष्टाब्लाङ्का क्षेत्रको आल्भिरमा उनको व्यवसाय छ । त्यहाँ उनले सञ्चालन गरिरहेको ‘रारा कफी बार रेस्टुरेन्ट’ नेपालीपनको परिचायक बनेको छ ।

क्याफेमा छिर्दा नै ‘रारा’ को नाम र भित्ताभरि नेपाल झल्कने सजावट छ । भित्तामा आफूले जितेका मेडल र सफलतालाई पनि सँगै झुन्डाएका छन् ।

९ वर्षदेखि व्यवसायमा लागेका उनी सफल पनि छन् । तर उनी भन्छन् ‘साँचो सफलता तब हो, जब समाजसँग केही फर्काउन सकिन्छ ।’

भूकम्पपीडित, मिर्गौला पीडित, दीर्घरोगी, गरिब विद्यार्थी, बाढी–आगलागी पीडित– कसैको पीडामा पनि उनी चुप लागेर बस्दैनन् । ‘अक्कल कोपिला फाउन्डेसनमार्फत झण्डै दुई करोड रुपैयाँ खर्च भइसकेको होला,’ उनी भन्छन्, ‘तर मैले कहिल्यै हिसाब राखिनँ । म आफैंले पीडा देखेको छु, त्यसैले म देखेको पीडा मेट्ने प्रयास गर्छु ।’

थार्प गाउँ–जुन ठाउँमा उनले बाल्यकाल बिताए– त्यही गाउँको धुलोमै उनको सपना अंकित थियो । त्यही सपना पूरा गर्न उनी अघि सरे । गाउँको धुलाम्य बाटोलाई हिँड्न सजिलो बनाए । गाउँलेलाई सहज बनाइदिए ।

मुगु जिल्लाका विद्यालयहरुमा पुगेर विद्यार्थीहरुलाई उनले शैक्षिक सामग्री वितरण गरेका छन् । आज ती बाटोमा गाउँलेको खुसी दौडिन्छ । जनप्रतिनिधिले वर्षौं नसकेको काम अक्कलले गरेका छन् । उनी बिदेशमा बसे तापनि गाउँलेका लागि प्रतिनिधि मात्रै होइनन्, उनी अभिभावक समेत बनेका छन् ।

अब लक्ष्य सगरमाथा

अहिले अक्कल बोहोरा जीवनको अर्को अध्यायमा छन् । त्यो यात्रा व्यक्तिगतभन्दा ठूलो– राष्ट्रिय, भावनात्मक र सन्देशमूलक छ । उनी सगरमाथा आरोहणको तयारीमा छन् । ‘विदेशमा छु तर माटो बिर्सिएको छैन । मलाई कर्णालीको माया विशेष लाग्छ । त्यहाँको पानी सफा छ, मनजस्तै । म सगरमाथाबाट यही सन्देश दिन चाहन्छु, ‘कर्णालीको पानी सफा छ, सुन्दर छ । विदेशमा रहेका मेरा साथीहरूलाई पनि त्यो देखाउन चाहन्छु,’ उनी भन्छन् ।

मेरापिक हिमाल आरोहणका लागि बेसक्याम्प पुगेका पूर्व राष्ट्रिय म्याराथन धावक बोहोरा ।

सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले चैत २८ गते स्वयम्भुस्थित मुख्यालयमा उनलाई सशस्त्र प्रहरी बल नेपालको झण्डा हस्तान्तरण गर्दै बिदाई समेत गरे । सम्भवतः अब त्यो झण्डा, सशस्त्र प्रहरीकै पूर्वहबल्दारको हातबाट, संसारको सर्वोच्च शिखरमा फर्फराउनेछ ।

सगरमाथा चढ्ने कुरा केवल सपना देखेर मात्र सम्भव हुँदैन । त्यसका लागि शारीरिक, मानसिक र आर्थिक रुपमा ठुलो तयारी चाहिन्छ । लाखौँ रुपैयाँ खर्च हुन्छ, जोखिम पनि उत्तिकै हुन्छ । तर अक्कल भन्छन्, ‘सपना ठूलो भएपछि चुनौतीहरू पनि साना लाग्दारहेछन् ।’

उनको सगरमाथा यात्रामा केवल व्यक्तिगत गौरव छैन त्यहाँ छ कर्णालीको स्वर, जन्मभूमिको आशा र देशप्रेमको शिखर छुने तीव्र आकांक्षा । अक्कल भन्छन्, ‘सगरमाथा केवल हिमाल होइन, यो मेरो सपना, मेरो गाउँ र मेरो पहिचानको प्रतिनिधि हो ।’ यिनै भावना, संकल्प र स्वाभिमानको उज्यालो बोकेर अक्कल बोहरा अगाडि बढिरहेका छन् धर्तीको सर्वोच्च बिन्दुतर्फ, जहाँबाट उनले रारा र कर्णालीको सुन्दरतालाई विश्वसामु उजागर गर्ने अठोट लिएका छन् ।

हाल अक्कल बोहोरा सोलुखुम्बु जिल्लाको मेरापिक हिमाल आरोहणका लागि बेसक्याम्पमा छन्, जहाँ उनी मौसमको अनुकूलताको पर्खाइमा छन् । उनका अनुसार अबको तीन दिनभित्र ६ हजार ४७६ मिटर अग्लो मेरापिकको शिखरमा उक्लने योजना छ । यो सफल भएपछि उनको यात्रा सिधै सगरमाथा बेसक्याम्पतर्फ मोडिनेछ ।

सगरमाथा अक्कलका लागि केवल आरोहणको गन्तव्य होइन यो त जीवनभर बोकेको सपना, जन्मभूमिप्रतिको अपार प्रेम र कर्णालीको सन्देश बोकेको राष्ट्रिय यात्राको उच्चतम शिखर हो ।

लेखक
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?