
काठमाडौं । वरिष्ठ गायक दीप श्रेष्ठ भक्तपुरमा आयोजना हुने एकल सांगीतिक साँझमा गुञ्जिने भएका छन् । बैशाख २० गते भक्तपुर सांगीतिक समाज र चेम्बर अफ कमर्सले ‘दीप श्रेष्ठ सांगीतिक साँझ’ आयोजना गरेका छन् ।
सल्लाघारीस्थित इम्पेरियल बैंक्वेटमा हुने कार्यक्रम जिल्लामै गायक श्रेष्ठको पहिलो एकल प्रस्तुति हुनेछ । आयोजकले कार्यक्रममा हजारभन्दा धेरै दर्शक सहभागी हुने आंकलन गरेको छ ।
सहभागिताका लागि १ हजार, १५ सय र २५ सयको टिकट शुल्क तोकिएको छ । कार्यक्रम स्थलमा विभिन्न उत्पादन एवं विभिन्न परिकारका खानाका स्टलसमेत हुने जनाइएको छ ।
भक्तपुरमा पराम्परागत बाजागाजा, नाचगान एवं मौलिक सांस्कृतिक गतिविधि निरन्तर हुदै आएपनि यस्ता किसिमका सांगीतिक कार्यक्रम कमै आयोजना हुने गर्दछ । ‘वरिष्ठ गायक दीप श्रेष्ठको कालजयी संगीतले युवादेखि वृद्धसम्मलाई मनोरञ्जन प्रदान गर्ने विश्वास लिइएको छ’ समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले बताए ।
आयोजकले यसअघि अरुण थापा स्मृति साँझ, नारायणगोपाल स्मृति साँझ, दीपक खरेल साँझ लगायत भक्तपुर सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवजस्ता ठूला कार्यक्रम संचालन गरिसकेका छन् ।
कार्यक्रममा भक्तपुर सांगीतिक सामाज अन्तर्गतका कलाकारको समेत प्रस्तुति हुने जनाइएको छ । कार्यक्रमको संयाजकको रुपमा समाजका कार्यसमिति सदस्य रोशन धौभडेल हुनेछन् ।
प्रतिक्रिया 4