
विश्वभर नै प्रसिद्ध एक लोकप्रिय मदिराको प्रकार हो वाइन । तर, यही वाइन उद्योगलाई अहिले विश्वव्यापी रुपमा पुस्तागत परिवर्तनको त्रासले सताएको छ । किनकि विश्वका करिब सबैजसो बजारमा वाइनको खपत तथा उत्पादनमा गिरावट आएको छ ।
अहिले वाइन उद्योगले एउटा ठूलो चुनौतीको सामना गरिरहेको छ । उत्पादन र खपतमा गिरावटसँगै अमेरिकी शुल्क र पर्यावरणीय समस्याले पनि वाइन उद्योगमा अतिरिक्त चुनौती सिर्जना गरिरहेका छन् ।
वाइनको खपत र उत्पादनमा गिरावट आउनुको मुख्य कारण चाहिं मदिरापानमा आएको पुस्तागत परिवर्तन ठानिएको छ । अर्थात् अहिलेको नयाँ पुस्ताले वाइन कम पिइरहेको छ ।
वाइन उद्योगमाथिका चुनौती
जलवायु परिवर्तन : वाइन उद्योगमा जलवायु परिवर्तनले प्रभाव पारेको छ, खासगरी अंगुरको उत्पादन र तापक्रमको वृद्धिले वाइनको गुणस्तरमा पार्ने प्रभाव । सन् २०२४ मा विश्वमा २२ करोड ६० लाख हेक्टोलिटर वाइन उत्पादन भएको अनुमान छ । यो भनेको पछिल्लो ६ दशक यताकै सबैभन्दा कम उत्पादन हो ।
सन् २०२३ को तुलनामा सन् २०२४ मा ५ प्रतिशत कम वाइन उत्पादन भयो । जलवायु परिवर्तन र खासगरी उत्तरी र दक्षिणी दुवै गोलर्धमा अप्रत्यासित तथा विषम मौसमी घटनाहरुका कारण वाइन उत्पादनमा कमी आएको बताइएको छ । सन् २०२४ मा सबैभन्दा धेरै वाइन उत्पादन गर्ने देश इटाली हो, जसले ४ करोड ४१ लाख हेक्टोलिटर वाइन उत्पादन गर्यो ।
उपभोक्ताको प्राथमिकतामा आएको परिवर्तन : वाइन पिउने मानिसहरुको प्राथमिकतामा आएको परिवर्तनले यस क्षेत्रमा चुनौतिको सिर्जना गरिरहेको छ ।
भूराजनीतिक अनिश्चितता : भूराजनीतिक अनिश्चितताले पनि वाइन क्षेत्रलाई प्रभावित गरिरहेको छ ।
भिनयार्डको क्षेत्रफलमा कमी : वाइन उत्पादनका लागि चाहिने फल अंगुरको खेती गर्ने ठाउँ अर्थात् भिनयार्डको क्षेत्रफल विश्वव्यापी रुपमा खुम्चिरहेको छ । तथ्यांक अनुसार सन् २०२४ मा भिनयार्डको क्षाेत्रफलमा ०.६प्रतिशतले कमी आएर ७१ लाख हेक्टरमा झरेको छ ।
विश्वमा भिनयार्डको सबैभन्दा धेरै क्षेत्रफल भएको देश स्पेन हो, जसको ९३१ किलोहेक्टर भिनयार्ड छ । त्यस्तै दोश्रोमा फ्रान्स, तेश्रोमा चीन, इटाली चौथो, टर्की पाचौं, अमेरिका छैटौं, अर्जेन्टिना सातौं, रोमानिया आठौं, भारत नबौं र पोर्चुगल दशौं स्थानमा छन् ।
वाइन खपतको नयाँ ढाँचा र बजारको विविधता
सन् २०२४ मा विश्वमा २१ करोड ४० लाख हेक्टोलिटर वाइन खपत भएको अनुमान छ । यो भनेको त्यसको अघिल्लो वर्षको तुलनामा ३.३ प्रतिशतले कम हो । साथै यो खपतको परिमाण सन् १९६१ यताकै सबैभन्दा कम हो । जीवनशैलीका प्राथमिकतामा परिवर्तन हुनु, सामाजिक व्यवहारका साथै उपभोक्ताको व्यवहारमा भएको पुस्तागत परितर्वनले गर्दा वाइनको खपत घटेको बताइएको छ ।
विश्वमा सबैभन्दा बढि वाइन खपत गर्ने देश अमेरिका हो । सन् २०२४ मा अमेरिकामा ३ करोड ३३ लाख हेक्टोलिटर वाइन खपत भयो ।
अमेरिकामा भएको यो खपत सन् २०२३ को तुलनामा ६प्रतिशतले कम हो । सन् २०२४ मा विश्वका अधिकांस देशमा सन् २०२३ को तुलनामा वाइनको खपत घटेको छ । जस अनुसार फ्रान्समा ४ प्रतिशत, जर्मनीमा ३ प्रतिशत तथा चीनमा १९ प्रतिशतले वार्षिक वाइन खपत घटेको छ ।
विश्वमा बढी वाइन खपत गर्ने शीर्ष १० देशमा, अमेरिका, फ्रान्स, इटाली, जर्मनी, बेलायत, स्पेन, रुस, अर्जेन्टिना, पोर्चुगल र चीन हुन् ।
त्यसैगरी विश्वमा सबैभन्दा धेरै वाइन पिउने नागरिकहरू (प्रतिव्यक्ति वाइन खपत) पोर्चुगलका हुन् । तथ्यांक अनुसार हरेक पोर्चुगिसहरुले वर्षमा औसतमा ६१.१ लिटर वाइन पिउँछन् । त्यस्तै जनताहरुले बढी वाइन पिउने अन्य शीर्ष १० भित्र पर्ने देशहरुमा इटाली, फ्रान्स, स्विजरल्याण्ड, अष्ट्रिया, अष्ट्रेलिया, जर्मनी, हंगेरी, स्पेन र बेलायत छन् ।
तथ्यांक अनुसार सन् २०२४ मा विश्व बजारमा ९ करोड ९८ लाख हेक्टोलिटर वाइन निर्यात भयो । यस अवधिमा निर्यात मूल्यमा ०.३ प्रतिशतले गिरावट आएर ३६ अर्ब युरोमा झरेको छ । तर, औसत निर्यात मूल्य चाहिं ३.६ युरोप प्रतिलिटरको ऐतिहासिक विन्दुमा पुगेको छ । मुद्रास्फीति र कम आपूर्तिका कारण वाइनको मूल्य कोभिड महामारी अगाडिका वर्षहरुको तुलनामा उच्च भएको हो ।
विश्वमा सन् २०२४ मा सबैभनदा धेरै वाइन निर्यात गर्ने शीर्ष १० मुलुकहरुमा इटाली, स्पेन, फ्रान्स, चिली, अष्ट्रेलिया, दक्षिण अफ्रिका, पोर्चुगल, जर्मनी, न्युजिल्याण्ड र अमेरिका हुन् ।
त्यसैगरी सबैभन्दा धेरै वाइन आयात गर्ने शीर्ष १० मुलुकहरुमा जर्मनी, बेलायत, अमेरिका, फ्रान्स, नेदरल्याण्ड, रुस, क्यानडा, इटाली, चीन र बेल्जियम हुन् ।
-एजेन्सी
प्रतिक्रिया 4