+
+
Shares

पहिलो पटक मनाइयो ‘राष्ट्रिय याक दिवस’

सरकारले प्रत्येक वर्ष ७ वैशाखलाई ‘राष्ट्रिय याक दिवस’ का रूपमा मनाउने निर्णय असोज २०८१ मा गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते १४:४६

७ वैशाख, काठमाडौं । सरकारले पहिलो पटक ‘राष्ट्रिय याक दिवस’ मनाएको छ ।

सरकारले प्रत्येक वर्ष ७ वैशाखलाई ‘राष्ट्रिय याक दिवस’ का रूपमा मनाउने निर्णय असोज २०८१ मा गरेको थियो । मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार आज आइतबार पहिलो पटक कृषि तथा पशुपन्छी विकास मन्त्रालयले याक दिवस मनाएको हो ।

याक हिमाली जनजीवनको महत्त्वपूर्ण अंग : कृषिमन्त्री

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको बताएका छन् ।

प्रथम राष्ट्रिय याक दिवसका अवसरमा कृषि मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले भौगोलिक चुनौती, युवा पुस्ताको बसाइँसराइ, चरन क्षेत्र अभाव, प्रजनन सम्बन्धी समस्या, जंगली जनावरको आक्रमण, जलवायु परिवर्तन जस्ता कारण नेपालमा याकको संख्या घट्दै गएको बताए ।

उनले याक (चौँरी) पालनको संरक्षण र प्रवद्र्धनका लागि संगठित प्रयास आवश्यक रहेको भन्दै याक संरक्षण र दिगो उपयोग मार्फत हिमाली क्षेत्रको खाद्य सुरक्षा, जलवायु अनुकूलन, जैविक विविधता संरक्षण र ग्रामीण जीवनशैली सशक्तीकरण नै अबकोे साझा लक्ष्य रहेको उल्लेख गरे ।

मन्त्री अधिकारीले हिमाली जनजीवनको अविभाज्य अंग बनेका याकलाई संरक्षण, सुधार र व्यावसायिक रूपान्तरण मार्फत नवजीवन दिनु सबैको साझा उत्तरदायित्व रहेकोमा जोड दिए ।

उनले याक संरक्षण एवं प्रवद्र्धनका लागि सोलुखुम्बु स्याङ्बोचेमा याक आनुवंशिक स्रोत केन्द्र सञ्चालनमा ल्याइएको उल्लेख गरेका थिए । मन्त्रालयका अनुसार उक्त केन्द्रले याकको शुद्ध नश्ल संरक्षण, आनुवंशिक सुधार, प्रविधि विस्तार र प्रसारमा महत्त्वपूर्ण कामको सुरुवात गरिएको बताए ।

किसानलाई सम्मान

‘याक चौँरी प्रवर्द्धन : हिमाली जीवन, संस्कृति र पर्यावरण संरक्षण’ भन्ने मूल नारासाथ पहिलो पटक मनाइएको राष्ट्रिय याक दिवसका अवसरमा याक पालक किसानलाई पनि सम्मान गरिएको छ ।

याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा उल्लेख गरेको छ । नेपालमा मात्र उत्पादन हुने विश्व प्रसिद्ध याक चिज ओमेगा–३ फ्याट्टी एसिडको स्रोत रहेको, याकको दही प्रसिद्ध दुग्ध परिकारका रूपमा रहेको, याकको दूधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानका आम्दानीको प्रमुख स्रोत रहेको र हिमाली क्षेत्रको सभ्यताका रूपमा समेत याक रहेकोमा संरक्षणकर्मीले जोड दिएका छन ।

याकको छाला र पुच्छरबाट बन्ने वस्तु निर्यातको प्रचुर सम्भावना बोकेका उत्पादन हुन् । याक पर्यटन प्रवद्र्धनमा पनि आकर्षणको केन्द्र बन्ने सम्भावना छ । याकमार्फत सामान ढुवानीदेखि खेतबारी जोत्नेसम्मका काम हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?