
७ वैशाख, काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार आइतबार घटेको छ । साताको पहिलो दिन सेयर बजारको परिसूचक नेप्से १६. ६८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २७०६ मा कायम भएको छ ।
बजार खुलेदेखि निरन्तरजसो घटिरह्यो । बैंकहरूले आजै सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण कमजोर देखिएपछि लगानीकर्ता सशंकित बनेका हुन् । बैंकहरूको नाफा सामान्य १.४ प्रतिशत बढेको छ ।
तर त्यो नाफा वृद्धि बिजनेस बढेर नभई राष्ट्र बैंकबाट पाएको सहुलियतका कारण लोन लस प्रोभिजन घट्दा आएको हो । अर्कोतर्फ साँवा, ब्याज असुलमा बैंकहरू अझै कमजोर देखिएका छन् । यसले गर्दा औसत निष्क्रिय कर्जा बढेको छ ।
बैंक तथा वित्तीय संस्थाका सेक्टर नै सेयर बजारमा शक्तिशाली छन् । बैंक तथा वित्तीय संस्थाको वित्तीय रिपोर्ट कमजोर आएपछि अरु सेक्टरका कम्पनीको विवरण पनि खस्किन सक्ने अनुमान लगानीकर्तामा छ । जसले गर्दा बैंक तथा वित्तीय संस्थामा मात्रै नभई अरु सेक्टरमा पनि आज असर देखियो ।
वित्तीय विवरणबाहेक विभिन्न पक्षको आन्दोलनले पनि आइतबारको बजारलाई प्रभाव पार्यो । आज नेप्से परिसूचक मात्रै घटेन, कारोबार रकम पनि घटेको छ । बिहीबार १० अर्ब ७९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ४३ करोडको भयो ।
५३ कम्पनीको मूल्य बढ्दा १९२ को घट्यो भने एउटाको स्थिर रह्यो । बैंकिङ, विकास बैंक, फाइनान्ससहित अधिकांश सेक्टर घटेका छन् । बैंकिङ ०.७०, विकास बैंक ०.७९, फाइनान्स १.२७, होटल तथा पर्यटन १.३६, हाइड्रोपावर १.२२, जीवन बीमा ०.८७, लगानी ०.०६, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.२२ र अन्य १.०३ प्रतिशत घटे ।
व्यापार १.०२ र उत्पादन ०.५२ प्रतिशत बढे । दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको हो । यी दुवै कम्पनी बजारमा हालै सूचीकृत भएर कारोबार भएकाले केही दिनयता मूल्य १० प्रतिशत बढ्ने क्रम जारी छ ।
त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ७.४९, बोटलर्स नेपाल बालाजुको ६.११, राधि विद्युतको मूल्य ५.९३ प्रतिशत बढ्यो । हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ७.३३ प्रतिशत घट्यो । बलेफी हाइड्रोपावरको ७.२७, सप्तकोशी विकास बैंकको ४.९८ प्रतिशत मूल्य घट्यो ।
रकमका आधारमा धेरै कारोबार भएका पाँच कम्पनीमा क्रमशः राधि विद्युत्, बलेफी हाइड्रोपावर, ङादी ग्रुप पावर, निफ्रा र सानिमा माइ हाइड्रोपावर कम्पनी छन् ।
प्रतिक्रिया 4