
७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश सभापति देवराज पाठकले आफ्नो स्टाटसबारे प्रष्टीकरण दिएका छन् । राजतन्त्र पक्षधरलाई सहयोग पुग्नेगरी उनले यही वैशाख ५ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए । उक्त स्टाटसका सम्बन्धमा आइतबार प्रष्टीकरण दिएका हुन् ।
‘…पोस्ट गरेको स्टाटस का सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएको समाचार प्रति मेरो ध्यानाकर्षण भएको छ,’ पाठकले लेखेका छन् ।
सामाजिक सञ्जालबाट प्रष्टीकरण दिँदै गर्दा उनले पूरानो स्ट्याटस भने हटाएका छैनन् ।
पार्टीको जलेश्वर बैठकले बहुलवादमा आधारित संघीय गणतान्त्रिक शासन व्यवस्थाको राजनीतिक प्रतिवेदन स्वीकृत गरेको स्मरण गर्दै उनले आफूहरूले संवैधानिक समाजवादमा विश्वास राख्ने बताए ।
उनी अगाडि लेख्छन्, ‘संविधान परिवर्तनशील दस्तावेज हो । देश र जनताको सर्वोत्तर हितका लागि संविधानमा समयानुकूल परिमार्जन गर्दै संविधानको अक्षरसः पालना नै संवैधानिक समाजवाद हो ।’
आफूले पार्टीको विधानको अनुसरण र पार्टीको नीति स्थापित गराउने जिम्मेवारी लिएको उल्लेख गर्दै उनी अगाडि लेख्छन्, ‘म एक जिम्मेवार कार्यकर्ताको हैसियतले पार्टीले लिएको नीति र विधिविरुद्ध फरक कित्तामा उभिने कुरै हुँदैन । उभिएको पनि छैन ।’
आफूले यसअघि स्टाटसमार्फत सत्ताको दुरुपयोग भएको विषय उठाउन खोजेको बताए ।
‘विषय के हो भने भ्रष्टाचार र राज्य सत्ताको दुरुपयोग मै लिप्त गणतन्त्रका ठेकेदारहरूले गणतन्त्र पूर्णत असफल बनाए । गणतन्त्रलाई गन्तव्यमा पुर्याउन सकेनन्,’ उनी लेख्छन्, ‘राष्ट्रपति एउटा दल विशेषको बन्यो । आम जनताको अभिभावक बन्न सकेन । जसको फलस्वरूप आज सडकमा राजतन्त्रको चर्चा सुरु भयो ।’
अब दल र नेतृत्व छनौट गर्दा जनताले विवेक पुर्याउनुपर्छ भन्ने आफ्नो आशय रहेको पनि प्रदेश सभापति पाठकको प्रष्टीकरण छ ।
साथै त्रिभुवनको वंशबाट राजतन्त्रको निरन्तरता हुनुपर्छ भनेर दिएको अभिव्यक्तिमा पनि उनले प्रष्टीकरण दिएका छन् ।
अगाडि भन्छन्, ‘उता राजतन्त्रवादीहरूले वंशीय राजा नै खोजेका हुन् भने मुद्दा मै न्याय गरेनन् भन्ने मेरो प्रश्न हो ।’
प्रतिक्रिया 4