
७ वैशाख, काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रूसले ‘युद्धविरामको नाटक’ मात्र गरिरहेको आरोप लगाएका छन् ।
युक्रेनका केही क्षेत्रहरूमा अझै पनि रूसले सैन्य कारबाही जारी राखेको उनको आरोप छ । तर आदेश लागु भएको केही घण्टापछि किएभ र अन्य धेरै युक्रेनी क्षेत्रमा हवाई–आक्रमणका साइरन बजेका थिए । जेलेन्स्कीले रुसमाथि आफ्नो आक्रमणहरू कायम राखेको आरोप लगाएका हुन् ।
जेलेन्स्कीका अनुसार, रुसी सेनाले ३८७ पटक गोलाबारी, १९ आक्रमण र २९० पटक ड्रोनको प्रयोग गरेको छ।
केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उक्त आरोपको स्वतन्त्र पुष्टि गर्न नसकिएको उल्लेख गरेका छन् ।
यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इस्टर पर्वको अवसरमा युद्धविरामको घोषणा गरेका थिए ।
यो युद्धविराम शनिबार साँझ ६ बजे (मस्को समयअनुसार) सुरु भई आइतबार राती १२ बजे सम्म चल्ने बताइएको छ।
तीस घण्टाको युद्धविराम तीन वर्षको द्वन्द्वमा लडाइँको सबैभन्दा महत्त्वपूर्ण विराम हुनेछ ।
‘समग्रमा इस्टर बिहानसम्म हामी भन्न सक्छौँ कि रुसी सेनाले युद्धविरामको सामान्य छाप सिर्जना गर्न प्रयास गरिरहेको छ, जबकि केही क्षेत्रमा अझै पनि अघि बढ्ने र युक्रेनलाई क्षति पुर्याउने एकल प्रयासहरू जारी राखेको छ’, जेलेन्स्कीको पोस्टमा भनिएको छ ।
इस्टर सप्ताहन्तमा सबै युद्ध रोक्ने पुटिनको आदेश मस्को र किएभलाई युद्धविराममा सहमत गराउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महिनौँको प्रयासपछि आएको हो ।
शुक्रबार वासिङ्टनले कुनै प्रगति नभए वार्ताबाट फिर्ता हुने धम्की समेत दिएको थियो ।
पुटिनले आइतबार मनाइने इस्टर बिदाका लागि गरिएको युद्धविराम ‘मानवीय कारण’ बाट प्रेरित भएको बताएका थिए ।
प्रतिक्रिया 4