
सिड्नी (अस्ट्रेलिया) । नेपाली कलाकारले पूवीय र पश्चिमी संगीतलाई संयोजन गर्दै सिड्नीस्थित ओपेरा हाउसमा प्रस्तुति दिने भएका छन् । ‘हरि महर्जन प्रोजेक्ट’ले ओपेरा हाउसको मञ्चमा ‘कल्चर इन सिन्क’ प्रस्तुत गर्ने भएको छ ।
संगम प्रोडक्सनको प्रस्तुति रहने उक्त कन्सर्टमा काठमाडौं उपत्यकाको जीवन्त नेवा संगीत र समसामयिक ज्याज संगीतको सिर्जनात्मक फ्युजन प्रस्तुत गर्ने जनाइएको छ ।
विश्वकै प्रतिष्ठित सांगीतिक स्थलमध्ये एक मानिने ओपेरा हाउसमा जुन १९ मा साँझ ८ बजे आयोजना हुने यस कार्यक्रममा पूर्वीय संस्कृति र पश्चिमी ज्याजको अद्वितीय संयोजन प्रस्तुत गरिने भएको हो ।
यसवर्षको सुरुवातमा काठमाडौंमा पहिलोपटक प्रस्तुत गरिएको ‘कल्चर इन सिङ्क’ अब विश्वकै प्रतिष्ठित मञ्चमध्ये एकमा पस्कन लागिएको हो ।
परम्परागत धिमे र ख्ये ढोल, आधुनिक ज्याज गिटार, रंगीन पुलुकीशी नाच र नेवार पहिरन यो सांगीतिक यात्राको केन्द्रमा रहने जनाइएको छ । ‘नेवारी सांस्कृतिक धरोहरलाई ओपेरा हाउसको मञ्चमा पुर्याउनु मेरो सपना साकार हुनु हो’ कार्यक्रमका प्रमुख कलाकार हरि महर्जन भन्छन्, ‘कल्चर इन सिन्कले विभिन्न महादेशमा छरिएर रहेका संगितप्रेमी व्यक्ति र समुदाय र यात्रीलाई एकछत्र गर्न सक्छ ।’
संगम प्रोडक्सनद्वारा प्रस्तुत हुने उक्त कन्सर्ट जाज संगीतका प्रेमीलाई मात्र नभई विश्व संगीत र सांस्कृतिक खोजमा रुचि राख्नेहरूको लागि पनि आकर्षक बन्ने अपेक्षा गरिएको छ ।
यो कार्यक्रमको लागि ओपेरा हाउसले आफ्नो वेबसाइटमा टिकट पनि बिक्री थालेको छ । टिकटको मूल्य ८६ अस्ट्रेलियन डलर र ९८ डलर शुल्क तोकिएको छ ।
प्रतिक्रिया 4