+
+
Shares

बालबालिकाले सुन्नुपर्ने पाँच नीति कथा, कस्तो छ कथासार ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते १७:४०

बालबालिकाका लागि कथाहरू केवल मनोरञ्जनका साधन मात्र होइनन्, तिनले नैतिक शिक्षा, सांस्कृतिक मूल्य र जीवनका महत्त्वपूर्ण पाठहरू पनि सिकाउँछन् । यहाँ पाँच यस्ता परिकथाहरू छन्, जुन बालबालिकाले सुन्न रुचाउनेछन् ।

१. बुद्धिमान खरायो र मूर्ख सिंह

कथासार

जङ्गलमा सिंहको राज थियो, उसले जुनसुकै बेला जंगलका अन्य जनावरहरूलाई आक्रमण गरेर आफ्नो भोजन बनाउँथ्यो । जनावरहरू डरले त्रसित थिए । उनीहरूले सिंहको भोजनका लागि हरेक दिन एक जनावर पठाउने सहमति गरे ।

एक दिन खरायोको पालो आयो । बुद्धिमान खरायोले सिंहलाई ठग्ने योजना बनायो । उसले ढिलो गरेर सिंहको गुफामा पुग्यो र भन्यो, महान् राजा, मलाई अर्को ठूलो सिंहले रोकेको थियो, जसले आफूलाई जङ्गलको राजा भन्यो । यो सुनेर क्रोधित सिंहले खरायोलाई त्यो ठाउँमा लैजान भन्यो । खरायोले सिंहलाई इनारमा ल्यायो र भन्यो त्यो सिंह त्यहाँ छ ।

इनारमा आफ्नै प्रतिबिम्ब देखेर सिंहले ठूलो गर्जन गर्‍यो र इनारभित्रको सिंहसँग लड्न हाम फाल्यो । अन्ततः सिंहको मृत्यु भयो र खरायोले जङ्गललाई सिंहको अत्याचारबाट मुक्त गरायो ।

के सिक्छन् ?

यो कथाले बुद्धिको प्रयोगले अति बलियोलाई पनि जित्न सकिन्छ भन्ने सिकाउँछ । समस्या पर्दा शान्त मनले सोचेर बुद्धिमानीपूर्वक समाधान खोज्नुपर्छ भन्ने कुरा पनि यसले सिकाउँछ । साथै, यो कथाले आत्मविश्वास र अहङ्कारले हानि पुर्‍याउन सक्छ भन्ने पनि देखाउँछ ।

२. कछुवा र खरायो

कथासार

खरायो र कछुवा जङ्गलका साथी थिए । खरायो सधैँ आफ्नो छिटो दौडन सक्ने क्षमतामा घमण्ड गर्थ्यो र कछुवालाई ढिलो हिँड्ने भनेर जिस्क्याउँथ्यो । एक दिन कछुवाले खरायोलाई दौडमा चुनौती दियो । खरायोले यो चुनौती हाँस्दै स्वीकार गर्‍यो, किनभने उसलाई लाग्थ्यो कि कछुवाले उसलाई कहिल्यै जित्न सक्दैन । दौड सुरु भयो ।

खरायो तीव्र गतिमा दौडियो र अगाडि पुग्यो ।कछुवा निकै पछि थियो . कछुवालाई जित्छु भन्ने कुरामा खरायो पूर्णरुपमा विश्वस्त थियो । दौडकै बीचमा एकछिन सुत्छु भनेर खरायो रुममुनि सुत्यो ।

यता, कछुवा भने बिस्तारै तर निरन्तर अगाडि बढिरह्यो । जब खरायो ब्युँझियो, उसले कछुवा अन्तिम रेखा नजिक पुगेको देख्यो । खरायोले जति कोसिस गरे पनि कछुवाले दौड जित्यो ।

के सिक्छन्  ?

यो कथाले निरन्तरता र लगनशीलताको महत्त्व सिकाउँछ । घमण्डले हार निम्त्याउँछ, र बिस्तारै भए पनि निरन्तर प्रयासले सफलता प्राप्त हुन्छ भन्ने ज्ञान सिकाउँछ । बालबालिकालाई यो कथाले धैर्य र मेहनतको मूल्य बुझाउँछ ।

३. काग र घैँटो

कथासार

तातो गर्मीको दिन, एउटा कागलाई धेरै तिर्खा लाग्यो । उसले पानी खोज्दै जाँदा एउटा घैँटो भेट्टायो, तर घैँटोमा पानी धेरै तल थियो र उसको चुच्चोले भेट्टाउन सकेन । तर, काग निराश भएन । उसले वरपर ढुङ्गाहरू देख्यो र ती ढुङ्गाहरूलाई ल्याएर घैँटोमा हाल्न थाल्यो । जति धेरै ढुङ्गा हाल्यो, त्यति नै पानीको सतह माथि आयो । अन्ततः कागले पानी पिउन सक्यो ।

के सिक्छन्  ?

यो कथाले रचनात्मक सोच र समस्याको समाधान खोज्ने बुद्धिको महत्त्व सिकाउँछ । कठिन परिस्थितिमा पनि हार नमानी समाधानको बाटो खोज्नुपर्छ भन्ने कुराको ज्ञान दिन्छ । यो कथाले बालबालिकालाई नयाँ तरिकाले सोच्न प्रेरित गर्छ ।

४. स्याल र अङ्गुर

कथासार

एक भोको स्यालले रुखमा झुन्डिएको अङ्गुरको गुच्छा देख्यो । उसलाई अङ्गुर खाने ठूलो रहर भयो । उसले उफ्रेर अङ्गुर टिप्न धेरै कोसिस गर्‍यो, तर अङ्गुर धेरै माथि थियो।

त्यसैले धेरै कोसिस गर्दा पनि स्यालले अङ्गुर टिप्न सकेन । अन्ततः उसले हार मान्यो र रिसाउँदै भन्यो, यी अङ्गुर त अमिला छन्, मलाई खानु नै छैन । यथार्थमा, स्यालले आफ्नो असफलतालाई लुकाउन यस्तो बहाना बनायो ।

के सिक्छन्  ?

यो कथाले आफ्नो कमजोरी वा असफलतालाई स्वीकार गर्नुपर्ने सिकाउँछ । बहाना बनाएर वा अरूलाई दोष दिएर समस्याबाट भाग्नु हुँदैन । बालबालिकालाई यो कथाले आत्म स्वीकृतिको पाठ सिकाउँछ ।

५. चतुर बाँदर र गोही

कथासार

एउटा बाँदर र गोही नदी किनारमा साथी बने । बाँदर रुखमा बस्थ्यो र गोहीलाई मीठा फलहरू दिन्थ्यो । गोहीले ती फलहरू लगेर आफ्नी श्रीमतीलाई पनि दिन्थ्यो । एक दिन गोहीकी श्रीमतीले बाँदरको मुटु खाने इच्छा व्यक्त गरिन् र भनिन् ‘यी फलहरू यति मिठा छन् दिनकै यी फल खाने बाँदरको मुटु कति मिठो होला’। गोहीले बाँदरलाई फकाएर नदी पार गराउने बहानामा आफ्नो पिठ्युँमा चढायो । बीच नदीमा गोहीले बाँदरलाई आफ्नो योजना बतायो ।

बुद्धिमान बाँदरले तुरुन्तै भन्यो, मेरो मुटु त रुखमा छ, मलाई फर्काएर लैजाऊ, म ल्याउँछु । गोहीले बाँदरलाई रुखमा फर्कायो रुखमा चढेपछि बाँदरले गोहीलाई हाँस्दै भन्यो धोका दिने साथीको विश्वास गर्दिन ।

के सिक्छन् ?

यो कथाले मित्रतामा विश्वास र इमानदारीको महत्त्व सिकाउँछ । साथै, यो कथाले कठिन परिस्थितिमा चतुरतापूर्वक सोचेर आफूलाई बचाउन सकिन्छ भन्ने पनि देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?