+
+
Shares

‘सेन्सरी समस्या भएकालाई सामान्य गतिविधि गर्न पनि कठिन हुन्छ’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते १७:२३

सेन्सरी समस्या भनेको के हो, यस्तो समस्या भएका व्यक्तिहरूले कस्तो लक्षण देखाउँछन् ? अहिलेको अवस्थामा आम प्रश्न हुन् यी । यससँगै अर्को प्रश्न पनि जोडिएर आउँछ, सेन्सरी समस्या भएका व्यक्तिहरूलाई सहयोग गर्न के कस्तो पहल गर्न सकिन्छ ?

यावत् विषयमा अटिजम केयर नेपाल सोसाइटीमा वितेको वर्षदेखि सेन्सरी इन्टिग्रेसन थेरापिस्ट रोजिना बज्राचार्यसँग सरिता सापकोटाले कुराकानी गरेकी छिन् ।

सेन्सरी समस्या भनेको के हो ?

सेन्सरी भनेको हाम्रा इन्द्रियहरूले वरपरको वातावरणबाट प्राप्त हुने संवेदना कसरी अनुभव गर्छन् भन्ने हो । जस्तै कि आवाज, गन्ध, प्रकाश, स्पर्श आदि । केही व्यक्तिहरू यस्ता संवेदनाहरूलाई सामान्य व्यक्तिभन्दा बढी वा कम रूपमा अनुभव गर्छन् । यसलाई नै सेन्सरी समस्या भनिन्छ । यस्तो समस्या प्रायः अटिजम भएका व्यक्तिहरूमा देखिन्छ ।

सेन्सरी समस्या हाम्रा पाँच इन्द्रीयहरूमा मात्र हुने हो ? अलि सरल भाषामा भनिदिनुस् न ।

सामान्यतया मानिसले पाँचवटा इन्द्रीयहरू मात्र हुन्छन् भन्ने बुझाइ राखेका हुन्छन् । तर सेन्सरी समस्यालाई बुझ्दा हामीले सातवटा इन्द्रीय प्रणालीलाई ध्यानमा राख्नुपर्छ । पाँच इन्द्रीय–हेर्ने, सुन्ने, सुँघ्ने, चाख्ने, र छुने त प्रस्टै छन् । थप दुई सेन्सरी प्रणाली भनेको प्रोप्रियोसेप्टिभ र भेस्टिबुलर सेन्सोरी सिस्टम हुन् ।

भेस्टिबुलर प्रणाली हाम्रो कानको भित्र हुन्छ, जसले शरीरको सन्तुलन, स्थिति र गति अनुभव गर्न मद्दत गर्छ । जस्तै, सतह स्थिर छ वा हल्लिएको छ भन्ने थाहा पाउने ।

प्रोप्रियोसेप्टिभ प्रणाली भनेको मांसपेशी, हड्डी र स्नायु प्रणालीमा आधारित हुन्छ । यसले शरीरका अंगहरूको स्थिति र गति अनुभव गराउँछ — जस्तै कति बल प्रयोग गरेर कुनै वस्तु समात्ने ।

यी दुई अतिरिक्त सेन्सरी प्रणालीहरूले वातावरणसँग शरीरलाई समायोजन गर्न, सन्तुलन राख्न र दैनिक गतिविधिहरू सहज रूपमा गर्न मद्दत गर्छन् ।

सेन्सरी समस्याका कस्ता प्रकारका हुन्छन् ?

मुख्यत: सेन्सरी समस्याका दुई प्रकार देखिन्छन् ।

एक, अत्याधिक संवेदनशीलता । दुई, न्यून संवेदनशीलता ।

अत्याधिक संवेदनशीलता भएका व्यक्तिहरू सामान्यभन्दा धेरै संवेदना अनुभव गर्छन् । जस्तै, तेज आवाज सहन नसक्ने, प्रकाशले असहज महसुस गराउने ।

न्युन संवेदनशीलता व्यक्तिहरू चाहिँ संवेदनालाई कम महसुस गर्छन् । जस्तै, कडा आवाजले असर नगर्ने, तापक्रम वा पीडालाई सामान्यभन्दा कम अनुभव गर्ने ।

सेन्सरी समस्याले व्यक्तिको दैनिकीमा असर गर्छ कि गर्दैन ?

पक्कै गर्छ । हामी सामान्य मानिसको हकमा इन्द्रीयहरू स्वतः काम गर्छन् र हामीले त्यसलाई सामान्य रूपमा लिन्छौं । तर यिनै इन्द्रीय प्रणालीले दैनिक जीवन सहज बनाएको हुन्छ । जस्तै, पानीको बोतल उठाउनेजस्तो सामान्य कार्यमा पनि मोटर स्किल मात्र होइन, सेन्सरी इनपुटको भूमिका हुन्छ । बोतल उठाउँदा कति बल प्रयोग गर्ने भन्ने कुरामा प्रोप्रियोसेप्टिभ सिस्टमले महत्त्वपूर्ण काम गर्छ ।

सेन्सरी समस्या भएका व्यक्तिहरूलाई उपयुक्त संवेदनात्मक जानकारी नपुग्दा यस्ता सामान्य कार्यहरूमा पनि अप्ठ्यारो हुन्छ ।

कसरी थाहा पाउने कि कसैलाई सेन्सरी समस्या छ ?

सेन्सरी समस्या भएका व्यक्तिहरू वरपरको संवेदनालाई सामान्यभन्दा फरक ढंगले प्रतिक्रिया दिइरहेका हुन्छन् । जस्तै, सामान्य आवाजमा पनि कान थुन्ने । सधैं कुनै गन्ध सुँघिरहने वा गन्धबाट झर्को मान्ने ।

यसरी व्यवहार हेरेर उनीहरूमा सेन्सरी प्रोसेसिङमा समस्या छ भन्ने अनुमान गर्न सकिन्छ ।

सेन्सरी समस्या भएका व्यक्तिलाई कसरी सहयोग गर्न सकिन्छ ?

व्यवसायिक अकुपेसनल थेरापिस्टको सहयोगमा पहिले समस्या पहिचान गर्नुपर्छ । सेन्सरी समस्या व्यक्तिपिच्छे फरक हुन्छ, त्यसैले उनीहरूको व्यक्तिगत आवश्यकताअनुसार सहयोगका उपायहरू अपनाउनु आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?