
७ वैशाख, काठमाडौं । आफ्नो पतिलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी छन् ।
पौडेलले पेश गरेको निवेदन आईतबार दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अच्यूत कुईंकेलले जानकारी दिए । सर्वोच्च अदालतले निवेदक पौडेललाई प्रारम्भिक सुनुवाइका लागि सोमबारको तारिख दिएको छ ।
कुनै पनि व्यक्ति गैरकानूनी थुनामा परेमा उसलाई छुटाउन माग गरी अदालतमा पेश गरिने निवेदनलाई बन्दी प्रत्यक्षीकरणको निवेदन भनिन्छ । निकिता पौडेलले आफ्ना पति रवि लामिछानेलाई गैरकानूनी रुपमा थुनामा राखिएको जिकिर गरेकी हुन् ।
उनले निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालय सिंहदरवार, रुपन्देही जिल्ला अदालत, उच्च अदालत तुलसीपुरको बुटबल इजलास, जिल्ला प्रहरी परिसर, भद्रकाली, जिल्ला कारागार रुपन्देही र जिल्ला प्रहरी रुपन्देहीलाई विपक्षी बनाएकी छन् ।
बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने विरुद्ध मुद्दा चलेको थियो । जिल्ला अदालत रुपन्देहीबाट धरौटीमा छुटेका उनी उच्च अदालतको बुटबल इजलासको आदेशबाट थुनामा परेका हुन् ।
उच्च अदालतको बुटबल इजलासको आदेशविरुद्ध रवि लामिछाने गतसाता नै सर्वोच्च अदालत गइसकेका छन् । उनको निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले उच्च अदालतको बुटबल इजलासबाट कैफियत प्रतिवेदन मगाउन आदेश गरेको छ भने जिल्ला अदालत रुपन्देहीलाई मुद्दाको सबै मिसिल स्क्यान गरी सफ्टवेयरमा अपलोड गर्न आदेश दिइसकेको छ ।
निकिता पौडेलको निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले विपक्षी बनाइएकाहरूसँग उनलाई थुनामा राख्नुको कारण माग गर्नसक्छ । उनीहरुले जवाफ दिएपछि निवेदनमाथि सुनुवाइ हुनेछ ।
प्रतिक्रिया 4