
७ वैशाख, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न अघिल्लो बिहीबार बुढानीलकण्ठ जाँदा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र केही मन्त्रीसँग केही गुनासा र जिज्ञासा थिए ।
उनीहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गर्दाका सजिला–अप्ठेरा सुनाए । पछिल्ला दिनमा गठबन्धनभित्रबाट हुने नियुक्ति, सरुवा, बढुवा आदिमा ओली एकछत्र हाबी भइरहेको भन्दै कांग्रेसजस्तो संसदको पहिलो पार्टीले साझेदारीलाई कसरी अगाडि बढाउँछ भनेर सोधे ।
अनि नेताहरूले एमालेसँग सत्ता–गठबन्धन कत्तिको सहज जाला भनेर उठेका आशंकाबारे देउवाको धारणा चाहे । खासगरी पछिल्ला दिनमा विपक्षी नेता पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको तर्फबाट देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्दा आपत्ति नहुने भन्दै दिइरहेका संकेत र त्यसपछिका पृष्ठभूमि के हुन सक्छन् भनेर उनीहरूले पार्टी सभापतिको राय जान्न चाहे ।
देउवाले थुम्थुम्याउँदै भने, ‘एउटै पार्टीभित्र त नियुक्ति, बढुवा आदिमा कत्रो लफडा पार्छन्, यो त गठबन्धन हो । धेरै यताउता हुँदैन, अलिअलि चित्त बुझाउनुपर्छ । ओलीजीको शैली पनि त छ आफ्नै खालको ।’
उपचारपछि घरैमा विश्राम गरिरहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का त्यस दिन भने बुढानीलकण्ठस्थित देउवा निवास पुगेका थिए । उनले एमालेसँगको साझेदारी शैलीलाई समीक्षा गर्नुपर्ने बताइरहँदा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले समर्थन जनाएका थिए । अरु नेताहरूले पनि गभर्नर, पुलिसका उच्च अधिकारीलगायत नियुक्तिदेखि अब छिट्टै हुने निर्वाचन आयोगको प्रमुख आयुक्तसम्मै ओलीका रुचिले बढ्ता काम गरेको गुनासो गरेका थिए ।
देउवाले त्यसै बीचमा आफू एकपल्ट बैंकक गएर फर्किने, बाँकी सल्लाह त्यसपछि गरे पनि हुने भन्दै प्रतीक्षा गर्न आग्रह गरे । पूर्वी एशियाली देश थाइल्याण्डको राजधानी शहर बैंकक ओखती उपचार र आरामका लागि चर्चित छ जहाँ देउवाले १२ वैशाखसम्म अर्थात् झण्डै एक साता बिताउने छन् ।
त्यसै क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवालाई सोधे, ‘सभापतिज्यू, तपाईंले सरकारको आयुबारे जति ढुक्क पार्न खोजे पनि यो बीचमा काठमाडौंमा भइरहेका विभिन्न खालका भेटवार्ता, उठबसबारे तपाईंलाई जानकारी नहुने कुरै भएन । यही बेला तपाईं बैंकक जाँदै हुनुहुँदो रहेछ । के छ बैंककमा ?’
‘केही छैन यार । स्वास्थ्यको फलोअप । त्यत्ति हो ।’
शर्माले अरु कोट्याए, ‘यसअघि त तपाईं सिंगापुरमा उपचार गराउन जानुभएको थियो, अनि फलोअप चाहिँ बैंककमा ?’
देउवा हाँसे । कुनै ठोस जवाफ दिएनन् । ‘स्वास्थ्यको कुरा हो, डाक्टरको कुरा हो । यस्तो भइहाल्छ नि । तपाईंहरू पनि बुढो भएपछि थाहा पाउनुहुन्छ,’ देउवाले ठट्टा गर्दै भने ।
देउवाले यति बेला जनता राजनीतिक अस्थिरता र अव्यवस्थाले दिक्क बनेका बेला थप अस्थिरता सिर्जना गर्न नहुने भन्दै पार्टीपंक्तिलाई जिम्मेवार भएर सोच्न सम्झाइरहेका पनि थिए । तर स्वास्थ्यको विलकुल मानवीय संवेदनासँग जोडिने चासोलाई चिकित्साशास्त्र भन्दा राजनीतिशास्त्रसँग जोडेर शंका गर्ने आधार भने अरु कोही नभई उनै देउवाले दिइरहेका छन्, जसबारे कांग्रेसभित्र पनि चासो छ ।
एमाले लगायत इतर–कांग्रेसवृत्तमा पनि कम्ति चासो छैन । हुन पनि जहाँ उपचार हुनेगर्थ्यो, फलोअप हुने त्यहीँ हो । तर यहाँ अस्पतालमात्र होइन देशकै फरक परिदियो जसबारे देउवाले पार्टीभित्र–बाहिर प्रष्ट पारेका छैनन् ।
खासमा देउवा आफ्नी पत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा, जो अहिलेको कांग्रेस–एमाले गठबन्धनको एक मुख्य डिजाइनर हुन्, उनी एउटा कार्यक्रमका सिलसिलामा आइतबारै बैंकक उड्नुपर्ने थियो ।
उनीसँगै बैंकक जाने समय मिलाएर देउवा छोरा जयवीरसिंहलाई समेत लिएर उडेका हुन् । पारिवारिक समय तथा आराममात्रै मान्न सकिने अवस्था किन छैन भने बुहारी शिवाना लगायत सदस्य त्यहाँ गएका छैनन् । भ्रमणलाई मूलतः राजनीतिक र अनौपचारिक प्रयोजनसँग जोड्न खोजिएको छ ।
यसरी देउवा दम्पत्ती र छोरा जयवीर आइतबार बैंकक गएका छन् । यो यात्रालाई कांग्रेसले सामान्य र नियमित भ्रमणका रुपमा अर्थ्याउन खोजेको छ । यद्यपि पार्टीभित्रका केही उच्च अधिकारी र पूर्वपदाधिकारीले भने देउवाको यात्रालाई स्वास्थ्य भन्दा अरु नै केही प्रयोजनसँग जोड्न खोजिरहेका छन् । खासगरी काठमाडौंमा सत्ता ढलपल हुने हो कि भन्ने आशंकाबीच यो भ्रमण हुन गइरहेको छ ।
परराष्ट्रमन्त्री राणा सोमबार बैंककमा एक कार्यक्रममा सहभागी हुनेछिन् । वैशाख १२ सम्म बैंककमा चल्ने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (युएनस्केप) को ८१ औँ सत्रमा राणा सहभागी हुनेछिन् ।
नेपाल हाल यूएनस्केपको अध्यक्ष रहेकाले मन्त्री राणाले नै आयोगको ८१ औँ सत्रको अध्यक्षता गर्ने कार्यक्रम छ । उनी एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग भन्ने विषयक संवादमा भाग पनि लिनेछिन् । यो औपचारिक कार्यक्रम कांग्रेस सभापति देउवाको कुनै भूमिका छैन, न त उनी अरु औपचारिक समारोहमा भुल्नेछन् ।
उसोभए देउवाको समय केमा बित्ला त ? वृद्ध देउवाले परिवार वा आफैंलाई समय दिने सम्भावना खासै नभएको, यस्तोमा उनलाई चासो पनि नहुने निकटस्थ बताउँछन् ।
‘ओलीको कार्यशैलीले उहाँलाई पनि इरिटेट नगरेको होइन, तर अहिले उहाँले कुनै नयाँ मनस्थिति बनाइराख्नुभएको छ भन्ने लाग्दैन,’ कांग्रेसका एक उच्च नेताले भने, ‘देउवाको शैली तुरुन्तै पासा पल्टाउने खालको होइन, उहाँले कुनै कुरालाई रोकिएर राम्रोसँग प्रयोग गर्न दिनुहुन्छ । पल्टनै पर्यो भने धेरै समय लगाउने बानी छ । हेरौं न, राजनीति हो ।’
पछिल्लो एमाले बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड कुनै पनि हालतमा एमालेलाई सत्ताबाहिर राख्न प्रयत्नरत रहे पनि कांग्रेस सभापति देउवाको अडानका कारण त्यो सम्भव नहुने भन्दै पार्टी पंक्तिलाई ढुक्क राख्न खोजिरहेका थिए । अघिल्लो साता च्यासलमा ओलीले कांग्रेस र एमालेबीचको सहकार्य चुनावसम्मै, उस्तै परे चुनावपछि समेत जानसक्ने भन्दै पार्टी नेताहरूलाई आश्वस्त गर्न खोजेका थिए ।
तर स्वयं ओली भने आफ्नो बिमस्टेक सम्मेलन क्रममा भएको बैंकक यात्राबाट उत्साहित देखिँदैनन् । खासगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले गरेको ३५ मिनेट लामो एक्लाएक्लै संवादलाई सरकारी नेतृत्वले सकारात्मक र परिणाममुखी भनी दाबी गरे पनि सारमा त्यो नतिजामुखी हुन नसकेको सूचना बाहिर आउन थालेका छन् । भारतीय पक्षले अहिले पनि ओलीको विकल्पमा के हुन सक्छ भनेर सोचिरहेको, त्यस क्रममा दुईपक्षीय हित सम्बोधन हुन सक्ने नेतृत्व कसरी चाँडो नेपालमा आउन सक्छ भनेर गृहकार्य गरिरहेको काठमाडौंमा चर्चा भइरहेको छ ।
‘यति बेला भारतीय संस्थापनका विभिन्न पक्षहरू काठमाडौंमा एकै साथ छलफलमा छन्, तिनीहरूले देउवालाई तपाईंको प्रधानमन्त्री बन्ने पालो आउँदैन, किनकि भित्रभित्रै वाम एकता वा सहकार्यका लागि फेरि पनि भित्री–बाहिरी पक्षहरूले कोसिस गर्न सक्छन् भनेर पत्यार गराउन खोजेका छन्,’ कांग्रेसका एक उच्च नेताले भने, ‘देउवाले पूरा पत्याउनुभएको त नहोला, तर झस्किनुभएको चाहिँ हुन सक्छ । किनभने सामान्य जस्तो देखिने अवस्थामै विगतमा एमाले र माओवादी मिलेका हुन् । बीआरआई फ्रेमवर्कमा ओलीले गरेको अनुमोदनबाट भारत अझै बढ्ता झस्केको छ । अब ऊ धेरै पर्खिन चाहँदैन ।’
देउवा आफैं चाहिँ बीआरआई वा अर्को एजेन्डा देखाएर गठबन्धन बदल्ने ठाउँमा पुगिसकेका छैनन् । किनकि बीआरआई फ्रेमवर्कका नाममा चीनसँग जे सम्झौता भएको छ, त्यो आधारभूत रुपमा देउवाले सोच्ने लाइनभन्दा बाहिर छैन । अनि, उनी भारतलाई आँखा चिम्लेर विश्वास गरिहाल्ने ठाउँमा छैनन् । ०८४ को चुनावसम्मै यो गठबन्धन कायम रहन्छ भनेर उनले दोहोर्याइराख्ने वाक्य पनि त्यसैको परिचायक हो ।
कांग्रेसका दुई महामन्त्री थापा र शर्माको शृंखलाबद्ध असहमति, अनि शेखर कोइराला, कृष्णप्रसाद सिटौलालगायत नेताहरूले प्रधानमन्त्री ओलीको नामै लिएर गर्ने आलोचना आदिका कारण देउवा दबाबमा पर्दै गएका छन् । यद्यपि महामन्त्री थापा र शर्माले ओलीमाथि दबाब बढाउँदै लगे पनि अस्थिरताको कारक आफूहरु बन्न नहुनेमा भने पार्टीमा बलियो मत राख्दै आएका छन् । अझ आफूलाई सहमतिबमोजिम सत्ता हस्तान्तरण नहुने संशयमा अरुले तेल हाल्दै जाँदा, अनि प्रधानमन्त्री ओलीले समेत त्यसलाई शंका पुग्ने गरी बोली व्यवहार गर्दै जाँदा झस्केका देउवाको आगामी कदम के होला भन्ने जिज्ञासा भने सुरु भएको छ ।
महामन्त्री शर्मा लगायत नेताहरूले देउवालाई पार्टीको कोर बैठकमा सोधेको ‘सिंगापुरको उपचार, बैंककको फलोअप किन’ भन्ने प्रश्नको जवाफ सम्भवतः देउवाले चित्तबुझ्दो गरी परिणाममा दिन बाँकी छ ।
प्रतिक्रिया 4