+
+
Shares

२० वर्षपछि बल्ल हट्यो निरयघाटको सास्ती, सडक स्तरोन्नति गरिँदै

आर्थिक वर्ष २०६०/६१ मा खुलेको सोही सडक दुई दशकपछि स्तरोन्नति हुँदैछ । विश्व बैंकको लगानीमा ‘सहरी शासकीय पूर्वधार विकास कार्यक्रम’अन्तर्गत गत असारदेखि उक्त सडकको स्तरोन्नति गर्न थालिएको हो ।

रासस रासस
२०८२ वैशाख ७ गते १८:४३

७ वैशाख, ढोरपाटन । निरयघाट, तीन दशक अघिसम्म बागलुङ प्रवेश गर्ने एकमात्र नाका थियो । विसं २०१३ अगाडिसम्म बागलुङवासी डुङ्गामा कालीगण्डकी तरेर पर्वतको खनियाघाट हुँदै पोखरा, काठमाडौँलगायत ठाउँमा आवतजावत गर्थे । त्यसबेला सडकले बागलुङ जोडिएको थिएन । पोखरा–बागलुङ राजमार्ग निर्माण भएपछि २०५१ सालमा मालढुङ्गामा मोटरेबल पुल बन्यो । त्यसपछि बागलुङवासी खनियाघाटमा पुगेर काली तर्ने बाध्यता हटेको हो ।

मालढुङ्गामा बनेको पुलबाट यात्रा गर्न थालेपछि निरयघाट ओझेलमा पर्‍यो। तत्कालीन जिल्ला विकास समितिले रु १२ लाख विनियोजन गरेर गणेश घुम्तीबाट सडक निर्माण गर्यो र ओझेलमा परेको नियरघाटलाई जोड्यो ।

आर्थिक वर्ष २०६०/६१ मा खुलेको सोही सडक दुई दशकपछि स्तरोन्नति हुँदैछ । विश्व बैंकको लगानीमा ‘सहरी शासकीय पूर्वधार विकास कार्यक्रम’अन्तर्गत गत असारदेखि उक्त सडकको स्तरोन्नति गर्न थालिएको हो ।

कालीगण्डकी नदीको तटमा रहेको निरयघाट बागलुङवासीको दाहसंस्कार गर्ने मुख्य घाट अर्थात् दाहस्थल पनि हो । दैनिकजसो सयौँ नागरिक कालीगण्डकीमा स्नान गर्न पुग्छन् । सडक खुलेको दुई दशकसम्म स्तरोन्नति नहुँदा सबैभन्दा बढी सास्ती मलामीले भोग्नुपरेको स्थानीयको गुनासो छ । अप्ठ्यारो सडकमा शव बोकेर हिँडेका कति मलामी घाइते भए, त्यसको लेखाजोखा छैन ।

अहिले भने त्यसरी सास्ती र सकस खेपेका मलामीमात्र होइन, साँघुरो सडक त्यसमाथि खाल्डाखुल्डी, हिलो र धुलोले वर्षौँदेखि आजित बनेका निरयघाट र माझी बस्तीका स्थानीय खुसी छन् । पोहोर सालसम्म सडकको धुलोले घरको छानो र पिँढी ढपक्क ढाकिने गरेको बागलुङ नगरपालिका–१ माझी बस्तीका ७५ वर्षीय बलबहादुर माझी बताउँछन् ।

उनले भने, ‘अहिले पैदल हिँड्ने सडक पनि सहज हुँदै गएको छ, सडक विस्तार हुँदै गएपछि अन्त्येष्टिका लागि धेरै त सिधैँ गाडीमा घाटमै पुग्न थालेका छन्।’

निरयघाट पहिलेको तुलनामा सडक सुविधाले फराकिलो र विस्तारित छ । तर, यस क्षेत्रको विकासका नाममा गरिएको जथाभावी डोजर प्रयोग र पूर्वाधारले कुरुप तथा जोखिम बढाएको छ ।

स्थानीय महेन्द्र आचार्य सडक विस्तारलगायत पूर्वाधार विकासमा स्थानीयसँग कुनै पनि समन्वय नगरी निर्माण कम्पनीले सडक फारिकलो र नाली बनाउँदा खुला चौर मासिएको बताउँछन् । अव्यवस्थित रूपमा नाली निर्माण गर्दा निरयघाट कुरुप बनेको उनको भनाइ छ । सडक स्तरोन्नतिपश्चात खनियाघाटवासीको जीवनशैलीमा परिवर्तन आउने आचार्य बताउँछन् ।

‘अहिले पैदल हिँड्ने सडक पनि सहज हुँदै गएको छ, सडक विस्तार हुँदै गएपछि अन्त्येष्टिका लागि धेरै त सिधैँ गाडीमा घाटमै पुग्न थालेका छन्।’-बलबहादुर माझी, स्थानीयबासी

माझीबस्तीकी ७५ वर्षीया फूलमाया माझीले सडक व्यवस्थित बन्न थालेपछि धुलो र हिलो कम भएको बताए । पुस/माघमा घाम ताप्न आँगनमा बस्दा धुलो उडेर एकैछिनमा फोहर बनाइदिने गरेको उनको भनाइ छ । सरकारले सडक स्तरोन्नति गर्न धेरै ढिला गरेको माझीले बताए ।

उक्त सडक स्तरोन्नति गर्न गत वर्ष जेठमा फेवा÷आशिष जेभीले जिम्मा पाएको थियो। सात करोड ५० लाखमा आगामी असार ३० गतेसम्म उक्त सडक कालोपत्र गर्ने योजना रहेको निर्माण कम्पनीका इन्जिनियर मनोज शर्माले जानकारी दिए । हालसम्म ६० प्रतिशत काम सकिएको उनको दाबी छ ।

‘काम तीव्रगतिमा भएको छ, हामीहरूले योसँगै ढोडेनी र मूलपानी सडकको एकमुष्ट जिम्मा पाएका हौँ, जसका लागि रु ४९ करोड २१ लाखमा सम्झौता भएको छ, अहिले नाली निर्माण गर्ने, सडक फराकिलो बनाउने काम गरिरहेका छौँ’, इन्जिनियर शर्माले भने, ‘मौसमले साथ दिए यो महिनाभित्रमा निरयघाट सडक कालोपत्र गरिसक्ने छौँ।’

सडकको सहजतापछि निरयघाटमा फेरि एकपटक चहलपहल बढ्ने देखिन्छ । शान्त वातावरण र स्वच्छ हावापानी रहेको निरयघाटमा मानव सेवा आश्रमको भवन निर्माणाधीन छ भने वृद्धाश्रम बनिसकेको छ । यस ठाउँलाई ध्यान केन्द्रका रूपमा विकास गर्न सके निरयघाट क्षेत्र सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेकाले पर्यटन प्रवद्धन गर्न सडकले महत्त्वपूर्ण भूमिका खेल्ने बागलुङ नगरपालिकाका प्रमुख बुसन्तकुमार श्रेष्ठले बताए । निरयघाटलाई ‘इको टुरिजम’का रुपमा विकास गर्न सकिने उनको भनाइ छ ।

पर्वतको खनियाघाट, बागलुङको निरयघाट र माझीबस्तीलाई बागलुङ बजारसँग सिधा जोड्नका लागि पक्की सडक बनाउन थालेको उनको भनाइ छ । कृषि उत्पादनका हिसाबले निरयघाट उर्वर रहेकाले किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरण गर्न बढी सघाउ पुग्ने उनी बताउँछन् ।

‘नदी छेउमा रहेको हुँदा निरयघाटमा मत्स्यपालनको सम्भावना छ, तरकारीखेती, एग्रो टुरिजम पनि राम्रो हुने सम्भावना देखेका छौँ, धार्मिक उद्यान बनाउने योजना छ’, प्रमुख श्रेष्ठले भने ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?