
फिनल्यान्डको शिक्षा प्रणालीलाई विश्वकै उत्कृष्ट मानिन्छ । किन त ?
यसको एउटा मात्र जवाफ छैन ।
एक, फिनल्यान्डले शिक्षालाई हरेक नागरिकको अधिकार मान्छ र सबैलाई समान रुपले शिक्षा प्रदान गर्छ । धनी वा गरिब सबैले एकै खालको शिक्षालय र शिक्षा प्राप्त गर्छन् ।
दुई, फिनल्यान्डमा शिक्षक हुन सानो योग्यताले पुग्दैन । उनीहरू आफ्नो पेशामा लगाव राख्ने र दक्ष मात्र हुँदैनन्, उत्तिकै सम्मानित पनि हुन्छन् ।
तीन, यहाँको पाठ्यक्रम लचिलो छ । यहाँ विद्यार्थीलाई होडबाजी गराउने परिपाटी छैन । बरु, उनीहरूलाई सहकार्यमा जोड दिइन्छ ।
७ वर्षदेखि मात्र स्कुल
फिनल्यान्डको शिक्षा प्रणालीलाई मूख्य चार चरणमा बाँडिएको छ । प्रारम्भिक बाल्यकाल शिक्षा, आधारभूत शिक्षा, माध्यामिक शिक्षा र उच्च शिक्षा । फिनल्यान्डमा औपचारिक शिक्षा ७ वर्षको उमेरबाट मात्र सुरु हुन्छ ।
यद्यपि त्यसअघि बालबालिकालाई प्रारम्भिक बाल्यकाल शिक्षामा सहभागी गराइन्छ । यस चरणमा उनीहरूलाई खेल, मनोरञ्जनबाट अन्तर्क्रियात्मक सहभागिताको अभ्यास गराइन्छ । बालबालिकालाई पढ्न र लेख्न दबाब दिइँदैन । बरु रचनात्मक खेलकुदमा प्रेरित गरिन्छ । यहाँको मान्यता के छ भने बालबालिकाले स्वच्छन्द खेल्न पाउनुपर्छ ।
विद्यार्थी फेल हुँदैनन्
आधारभूत शिक्षा ७ देखि १६ वर्षसम्मका बालबालिकाहरूका लागि अनिवार्य हुन्छ । यहाँको उल्लेखनीय पक्ष भनेको कुनै पनि विद्यार्थीले कक्षा दोहोर्याउनु पर्दैन । किनकी सिकाइलाई व्यक्तिगत रुपमा समायोजन गरिन्छ । यदि कुनै विद्यार्थीलाई कठिनाइ भयो भने उनीहरूलाई विशेष सहयोग प्रदान गरिन्छ ।
कक्षाकोठामा थोरै विद्यार्थी
फिनल्यान्डमा कक्षा कोठाहरू सामान्यत साना हुन्छन्, जहाँ १५–२० जना विद्यार्थी हुन्छन् । यसले गर्दा शिक्षकलाई प्रत्येक विद्यार्थीको आवश्यकता ख्याल गर्न सजिलो हुन्छ ।
गृहकार्य र परीक्षा हुँदैन
नेपालमा जस्तो विद्यार्थीलाई गृहकार्यको बोझ बोकाइँदैन । साथै बारम्बार वा वर्षैपिच्छे परीक्षा लिने गरिँदैन । बालबालिकाहरू १६ वर्षको उमेर पुगेपछि एकै पटक उनीहरूलाई राष्ट्रिय परीक्षामा सहभागी गराइन्छ । यो भनेको माध्यामिक शिक्षाको अन्तिम वर्ष हो ।
घोकाउने होइन अनुभवमा आधारित सिकाइ
हामीकहाँ जस्तो फिनल्यान्डमा पाठ घोकाउने प्रवृत्ति छैन । त्यहाँ व्यवहारिक र अनुभवमा आधारित सिकाइलाई प्राथमिकता दिइन्छ । उनीहरूको रुचि, क्षमता अनुसार सहज र सरल भाषामा कुनै पनि कुरा सिकाउने गरिन्छ ।
सीप सिक्ने कि पढ्ने ?
१६ वर्षको उमेरमा आधारभूत शिक्षा पूरा गरेपछि उनीहरूलाई सामान्य माध्यामिक शिक्षा पढ्ने वा व्यवसायिक शिक्षा लिने ? छनौट गर्न दिइन्छ । व्यवसायिक शिक्षा अन्तर्गत उनीहरूले कुनै पनि सीपमूलक शिक्षा आर्जन गर्न सक्छन् ।
निःशुल्क शिक्षा
फिनल्यान्डमा पठनपाठनका लागि अभिभावकले ढाड सेक्ने गरी खर्च जुटाउनु पर्दैन । त्यहाँ भर्ना, पाठ्यपुस्तक, वार्षिक शुल्क जस्ता अनेक नाममा शुल्क उठाइँदैन । बरु प्राथमिक तहदेखि स्नातकोत्तरसम्म निःशुल्क पढ्न पाउँछन् ।
सार्वजनिक स्कुलमा गुणस्तरीय शिक्षा
फिनल्यान्डमा हामीकहाँ जस्तो निजी शिक्षाको हालीमुहाली छैन । त्यहाँ निजी शिक्षा पनि सरकारी नियन्त्रणमा हुन्छन् र सार्वजनिक विद्यालयबाट नै गुणस्तरीय शिक्षा प्रदान गरिन्छ।
सुयोग्य शिक्षक
फिनल्यान्डमा योग्य व्यक्ति मात्र शिक्षक हुन सक्छन् र उनीहरूलाई उच्च सम्मान दिइन्छ । शिक्षकको स्तरवृत्तिका लागि ठूलो लगानी गरिन्छ । शिक्षकले आफ्नो पाठ्यक्रम आफैँले डिजाइन गर्न सक्छन् । उनीहरूलाई रचनात्मक र प्रभावकारी शिक्षण विधि अपनाउन प्रोत्साहित गरिन्छ ।
दिनमा ४ घण्टा मात्र पढाइ
फिनल्यान्डमा हामीकहाँ जस्तो दैनिक ८ वा १० घण्टा कक्षा कोठामा राखिँदैन । त्यहाँ ४ देखि ५ घण्टासम्म मात्र कक्षाकोठामा विद्यार्थीहरूलाई राखेर पढाइन्छ । त्यस अवधिमा पनि विद्यार्थीलाई दबाब दिएर होइन स्वतन्त्र ढंगले रचनात्मक रुपमा पढाइन्छ ।
खेलकुद र बाहिरी गतिविधिमा जोड
फिनल्यान्डमा खेल र बाहिरी गतिविधिलाई सिकाइको महत्वपूर्ण हिस्सा मानिन्छ । विद्यार्थीलाई कक्षाभित्र भन्दा कक्षा बाहिर बढी बिताउन प्रोत्साहित गरिन्छ ।
लचिलो पाठ्यक्रम
फिनल्याण्डको पाठ्यक्रम लचिलो छ । त्यहाँ शिक्षकहरूले स्थानीय आवश्यकता अनुसार पाठ्यक्रम परिमार्जन गर्न सक्छन् । यसले गर्दा शिक्षालाई सान्दर्भिक र विद्यार्थी केन्द्रित बनाउन सकिन्छ ।
प्रतिक्रिया 4