
७ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन केही पनि कुराले नरोक्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग प्रचण्डले संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय अभ्यासले समेत पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन नरोक्ने बताएका हुन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा, अनि उनकै पालाका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन माओवादी केन्द्रमा फर्केर सक्रिय हुन खोजिरहेका बेला प्रचण्डको अभिव्यक्तिले बल दिएको हो ।
‘संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्परा कुनैले पनि रोक्दैन । उहाँहरु राजनीतिमा आउने इच्छा भयो भने रोक्ने कुनै पनि कुरा छैन’ प्रचण्डले भनेका छन्, ‘उपराष्ट्रपतिजी म पार्टीको सिपाहीकै रुपमा काम गर्न चाहन्छु भनिसकेपछि केही कुराले रोक्दैन । मुख्य कुरा गणतन्त्र राम्रो हुनुपर्यो।’
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई सक्रिय राजनीतिमा सहभागी गराएका प्रचण्डले यसअघि पनि यस्तै भाषाको प्रष्टोक्ति दिएका थिए । गत पुस तेस्रो साता सम्पन्न माओवादी केन्द्र केन्द्रीय समिति बैठकमा प्रचण्डले पूर्व उपराष्ट्रपति पुनको राजनीतिक सक्रियताबारे प्रष्ट्याएका थिए ।
‘पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीले राजनीतिमा सक्रिय गराएको नभई उहाँले सक्रिय हुने चाहना व्यक्त गरेकाले आमन्त्रित रुपमा बैठकमा सहभागी गराइएको हो’, केन्द्रीय सदस्यहरुलाई प्रचण्डले भनेका थिए ।
पूर्व उपराष्ट्रपति पुन अहिले माओवादी केन्द्रीय उपाध्यक्षको हैसियतले पार्टी राजनीतिमा सक्रिय छन् । नयाँ वर्ष–२०८२ को पहिलो दिनको अवसर पारेरै माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रीत जागरण अभियानमा उनी जोडिएका थिए ।
‘हामीले पूर्वउपराष्ट्रपतिलाई राजनीतिक जिम्मेवारी दिइसक्यौं, त्यसबारे केही भनिरहनु परेन । तर आज अध्यक्षले विद्याजीलाई (पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी) पनि राजनीतिमा आउन सजिलो हुनेगरी बोल्नुभयो’, माओवादी केन्द्रका एक शीर्ष नेता भन्छन् ।
प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिले सक्रिय राजनीतिमा फर्कन मिल्ने सार्वजनिक अभिव्यक्ति दिएको यो पहिलोपल्ट हो । यसअघि उनले पूर्व उपराष्ट्रपति पुनको भूमिका बिस्तारै बढाउँदै लैजाने र पदाधिकारी मनोनीत गर्ने निर्णय गरेका थिए ।
किनकि माओवादीभित्रै राष्ट्र प्रमुख र उपप्रमुख भइसकेका मानिसलाई फेरि सक्रिय राजनीतिमा ल्याउनेबारे सर्वसम्मति थिएन । तर उनीहरुले प्रचण्ड र पासाङका अगाडि बिमति राख्ने सक्ने स्थिति माओवादी छैन ।
यद्यपि प्रचण्डले पनि पार्टी पंक्तिबाट सार्वजनिक बिमति आउन नदिनेगरी पासाङको भूमिका बढाइरहे । गत कात्तिक तेस्रो साता प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पासाङ पहिलोपटक सहभागी भएका थिए ।
उपराष्ट्रपतिको कार्यकाल सकिएपछि पार्टी बैठकमा सहभागी हुँदा उनलाई आमन्त्रित सदस्य भनिएको थियो । त्यसपछिका माओवादी बैठकहरुमा उनी लगातार सहभागी हुन थाले । गत १८ पुसको स्थायी समिति बैठक र लगत्तै बसेको केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति पासाङ पदाधिकारीकै लहरमा बसे ।
एक महिनापछि २१ माघको पदाधिकारी बैठकले पासाङलाई उत्पादन क्षेत्र हेर्ने जिम्मेवारी तोक्यो । यद्यपि पार्टी भूमिकाबारे टुंगो लागिसकेको थिएन । चैत तेस्रो साता सम्पन्न पदाधिकारी बैठकले भने केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्ष पदमा एकैपटक मनोनीत गर्ने निर्णय गर्यो ।
‘संसारमा जस्तो अभ्यास खोज्यो त्यस्तै पाइन्छ । दक्षिण एसियालाी देशहरुकै अभ्यास पनि एउटै छैन’ माओवादी केन्द्रका ती नेता भन्छन्, ‘नेपालमा कस्तो संस्कृति निर्माण गर्ने हो, त्यो कुरा हाम्रो निर्णयमा भर पर्छ ।’
तर पूर्व उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याएर गणतन्त्रको उचाइ नबढ्ने उनी तर्क गर्छन् । ‘संविधान र कानुनले राष्ट्रपतिलाई फेरि राजनीति गर्न रोक्दैन । तर राजनीतिक संस्कृति कस्तो बनाउने हो । त्यो कुरामा ध्यान दिनुपर्छ’ ती नेता भन्छन् ।
पूर्वप्रधानमन्त्री प्रचण्डले भने राष्ट्र प्रमुख भइसकेको मानिस राजनीतिमा आउँदैमा गणतन्त्रलाई कुनै फरक नपर्ने तर्क गरेका छन् । ‘राष्ट्रपति र उपराष्ट्रपतिले मात्रै बचाएर गणतन्त्र बच्ने होइन । यो नामले बच्ने होइन । कामले बच्ने हो’, विराटनगरमा पत्रकारहरुसँग प्रचण्डले भनेका छन् ।
एमाले नेताहरु पनि पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन सजिलो पर्नेगरी प्रचण्डले बोलेका बताउँछन् । ‘पूर्व राष्ट्रप्रमुखहरु राजनीतिमा आउँदा फरक पर्दैन भन्नेमा प्रचण्डको बोली केपी ओलीसँग मिल्यो’ एमाले स्थायी कमिटी सदस्य कर्ण थापा भन्छन्, ‘उहाँहरु दुवै जनाको कुरा मिल्नु सकारात्मक हो ।’
पूर्व राष्ट्रपति भण्डारीलाई एमाले अध्यक्ष बनाउनेगरी सक्रिय हुने नेताहरु मध्ये थापा पनि एक हुन् । ओली पछिको पार्टी अध्यक्ष भण्डारीलाई बनाउन अहिले एमालेभित्रै ठूलै पंक्ति सक्रिय छन् । ‘विद्या भण्डारीलाई सक्रिय राजनीतिमा आउन अब कसैले रोक्न सक्दैन’ एमाले नेता थापा भन्छन्, ‘केपी ओली आफैले विद्या भण्डारीलाई अगाडि बढाउनु हुन्छ ।’
पूर्व राष्ट्रपति भण्डारीले पनि एमाले अध्यक्ष बन्नेगरी आफ्नो गतिविधि बढाएकी छन् । काठमाडौं बस्दा निरन्तर नेता–कार्यकर्तासँग सम्वाद गरिरहेकी भण्डारीले सुदूरपश्चिम र मधेश बाहेकका प्रदेश भ्रमण गरिसकेकी छन् ।
प्रतिक्रिया 4