+
+
Shares

अस्कलका स्ववियु सचिव प्रहरी जवानको नक्कली परीक्षार्थी

शाहीलाई नयाँ बानेश्वरस्थित रत्नराज्य माविमा चलिरहेको प्रहरी जवान पदको लिखित परीक्षामा सहभागी हुँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ वैशाख ७ गते २१:०४

६ वैशाख, काठमाडौं । काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पुसको स्ववियु सचिव गोपालबहादुर शाही पक्राउ परेका छन् । नेपाल प्रहरीको जवान पदमा अन्य व्यक्तिको नाममा परीक्षा दिइरहेको अवस्थामा शाही आइतबार पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंको एसपी अपील राज बोहराले जानकारी दिए ।

गत चैत १० गते भएको स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानलै विजयी भएको थियो ।

उक्त प्यानलबाट शाही सचिव पदमा निर्वाचित भएका थिए । उनै शाहीलाई नयाँ बानेश्वरस्थित रत्नराज्य माविमा चलिरहेको प्रहरी जवान पदको लिखित परीक्षामा सहभागी हुँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनको स्थायी घर कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर ७ हो ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता समेत रहेका एसपी बोहराका अनुसार, शाहीसहित ६ जना नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका हुन् ।

उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने अन्यहरूमा २३ वर्षीय मोहन सुनवार, २२ वर्षीय मनोज शर्मा, २२ वर्षीय आकाश खड्का, २० वर्षीय उमेश शर्मा २२ वर्षीय मिन रावल रहेका छन् ।

अस्कलका सचिव शाही भने यसअघि गत माघ २४ गते राति ठमेलमा ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि भएको कुटपिटमा पनि संलग्न थिए । सो घटनामा उनले पछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

शाहीविरुद्ध २०८० सालमा पनि दुई वटा कसुरमा मुद्दा चलेको प्रहरीको सीआरएस रेकर्डमा छ ।

२०८० वैशाखमै अर्को ज्यान मार्ने उद्योगको कसुरमा उनी जोडिएका थिए । १७ वैशाखमा जोशीसहितका व्यक्तिले अखिल क्रान्तिकारी अस्कल क्याम्पसका अध्यक्ष खेम सिंहसहित चार जनामाथि आक्रमण गरेको थियो ।

त्यतिबेला रड, खुकुरी र सिसाको बोतलले उनीहरूमाथि आक्रमण भएको थियो । उक्त आक्रमणबाट घाइते भएका सिंहसहित ओमप्रसाद पोखरेल, सुदीप पोखरेल, सागर पाण्डेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि नयाँबजारस्थित पिपल्स अस्पताल पुर्‍याएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि उनीहरूलाई अन्नपूर्ण न्यूरोलोजिकल अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो । यो घटनामा अखिलकै नेता कमलराज जोशी र शाहीसहित पाँच जनाविरुद्ध ७ जेठ २०८० मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

२०८० सालमै जोशीविरुद्ध प्रहरी वृत्त लैनचौरको अनुसन्धान प्रतिवेदनबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको सीआरएसमा भेटिएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?