
६ वैशाख, दमौली । मनाङ जिल्लाको नासौं गाउँपालिका वडा नं. ८ ताचैंको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घले शिक्षण पेशामा लागेको ३४ वर्ष भयो ।
५६ वर्षीय घले २०४८ सालमा शिक्षण पेशामा प्रवेश गरे । उनी २०५० सालमा स्थायी भए । घलेको जन्म र बाल्यकाल मनाङको नासौं गाउँमै बित्यो ।
भौगोलिक रूपले दुर्गम भएकाले यस क्षेत्रका धेरै युवा रोजगारीको खोजीमा विदेश पलायन हुने गर्छन् । तर घलेले आफ्नै गाउँमा बसेर शिक्षक बन्ने निर्णय गरे । २०४८ सालमा उनी शिक्षण पेशामा प्रवेश गरे र २०५० मा स्थायी बने ।
सँगैका साथीभाइ रोजगारीका लागि विदेशिए पनि उनले आफ्नै गाउँमा रहेको प्रकाश ज्योति माध्यमिक विद्यालयबाट सामाजिक विषयमा प्लस टू गरे । सामाजिक विषयमा उच्च शिक्षा हासिल गरेका उनले विद्यालयमा सामाजिकसँगै अंग्रेजी पढाउने गरेकाले गाउँलेहरूले उनलाई ‘अंग्रेजी प्रिन्सिपल’ भनेर चिन्थे । उनी जनविकास आधारभूत विद्यालयको प्रधानाध्यापक भएको ५ वर्ष भयो ।
जब नेपाल शिक्षक महासंघले अविलम्ब शिक्षा ऐन कार्यान्वयनको माग गर्दै आन्दोलन सुरु गर्यो, घले पनि पछाडि रहेनन् । गत चैत २० गतेदेखि सुरु भएको आन्दोलनमा उनी नियमित सहभागी थिए ।
उनी ४–५ दिनमा काठमाडौं जाने, आन्दोलनमा सहभागी हुने र अन्य शिक्षकहरूलाई पालो दिन गाउँ फर्कने गर्थे । आइतबार शिक्षक आन्दोलनबाट गाउँ फर्कंदै गर्दा उनी सवार माइक्रोबस दुर्घटनामा परी बिते ।
डुम्रे–बेंसीसहर सडकमा बा २ ख ४०२२ नम्बरको माइक्रोबस विपरीत दिशाबाट आएको स्कुटर ग २६ प ४०५८ सँग ठक्कर खाँदा माइक्रोबसमा सवार घले र स्कुटरमा सवार ३२ वर्षीया अनिता थापा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
घलेको लमजुङस्थित नमूना सामुदायिक अस्पताल सुन्दरबजारमा र स्कुटरमा सवार महिलाको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
लामो समयदेखि शिक्षण पेशामा लागेका घलेको जागिरबाट रिटायर्ड हुने समय रहेको नासौं गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष याद घलेले जानकारी दिए । ‘सँगैका साथीभाइ विदेशिए, गाउँमै बसौं, गाउँमै पढाउँ भन्दै शिक्षण पेशामा लागेका उनी अधिकारको लडाईं लडेर फर्कंदै गर्दा निधन भयो । उहाँ अब दुई/तीन वर्ष पछि रिटायर्ड हुँदैहुनुहुन्थ्यो,’ उनले भने ।
उनका अनुसार घलेको परिवारमा ८ जना सदस्य रहेका छन् । घरको मुख्य मान्छे नै मन रहेको वडाध्यक्ष घलेले बताए । घले शिक्षक आन्दोलनको क्रममा यसअघि पनि एक पटक घर फर्केर फेरि आन्दोलनमा आएर फर्किने क्रममा दुर्घटनामा परेको नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति मनाङका अध्यक्ष शेरजंग गुरुङले जानकारी दिए ।
‘अन्य शिक्षकहरूलाई आन्दोलनमा पालो दिन एक हप्ता पछि फेरि आन्दोलनमा सहभागी हुन आउने भन्दै उहाँ गाउँ फर्किनुभयो, तर अब कहिल्यै नआउने गरी जानुभयो,’ आन्दोलनमा सहभागी शिक्षक नेतृ शान्ता बास्तोलाले भनिन् ।
यस्तो घटनाले शिक्षकहरूको आन्दोलन र मागप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ ।
दुर्घटनामा गम्भीर घाइते स्कुटर चालक बेसीसहर नगरपालिका–८ बस्ने ४१ वर्षीय दीपेन्द्र श्रेष्ठलाई चितवन मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा माइक्रोमा सवार बेसीसहर नगरपालिका बस्ने १४ वर्षीया पूजा गुरुङ, ओखलढुङ्गा बस्ने ५५ वर्षीय प्रेमबहादुर सुनार, लमजुङको दूधपोखरी गाउँपालिका–५ बस्ने २४ वर्षीया युनिशा गुरुङ, बेसीसहर नगरपालिका–५ बस्ने ६७ वर्षीया राजकुमारी गुरुङ, बेसीसहर नगरपालिका–३ बस्ने ५४ वर्षीय लिलाप्रसाद बसौला, ओखलढुङ्गा बस्ने ३५ वर्षीय अलिश शाही, सोलुखुम्बु बस्ने ३२ वर्षीय कुमार राई, गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ बस्ने ५१ वर्षीय धनबहादुर गुरुङ, ओखलढुंगा बस्ने ३५ वर्षीय अधिस राई, गोरखा बस्ने ५१ वर्षीय धनबहादुर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरूको सिउडीबारस्थित भोटेओडार अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया 4