+
+
Shares

प्रहरीलाई चक्मा दिएर सिंहदरबारभित्रै राजसंस्थाको माग

निषेधित क्षेत्र तोड्ने पूर्वघोषणाका कारण बिजुलीबजार–बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको प्रहरीलाई चक्मा दिँदै राप्रपा नेताहरुले सिंहदरबारभित्रै नारावाजी गरे, गिरफ्तारी दिए ।

गौरव पोखरेल गौरव पोखरेल
२०८२ वैशाख ७ गते २१:२७

७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले चार दिनअघि राजसंस्था पुनर्स्थापनाका लागि आइतबार निषेधित क्षेत्रमै गएर प्रदर्शन गर्ने उद्घोष गरेका थिए । बिहीबार बसेको कार्यसम्पादन समिति बैठकपछि उनले सरकारले नागरिक अधिकारलाई संकुचित बनाएको निष्कर्षसहित त्यसको विरोध स्वरुप समेत निषेधित क्षेत्र तोड्ने जिकिर गरेका थिए ।

उनको यस्तो सार्वजनिक अभिव्यक्ति आउनु अगावै राप्रपाले नेताहरुले बिजुलीबजारमा गएर शान्तिपूर्ण रुपमा शुक्रबार सभा गर्ने गरी जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अनुमति लिइसकेका थिए । गएको १५ चैतमा दुर्गा प्रसाईंले नेतृत्व गरेको राजावादी प्रदर्शनबाट हिंसात्मक बनेपछि प्रश्नको घेरामा परेको प्रहरीले लिङ्देनको अभिव्यक्तिलाई ‘गम्भीरतापूर्वक’ लियो ।

पार्टी अध्यक्षले नै निषेधित क्षेत्र तोड्ने भनेपछि गृह मन्त्रालयमा समेत छलफल भयो । शनिबार अपराह्न गृह मन्त्रालयको शान्ति, सुरक्षा महाशाखा प्रमुख रामचन्द्र तिवारीले ‘संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने’ भन्दै विज्ञप्ति जारी गरे ।

उनले ‘त्यस्तो गतिविधमा संलग्न हुने जोसुकैलाई कानून बमोजिम कारबाही हुने’ भन्दै राप्रपा नेताहरुलाई चेतावनी दिए । खासमा १५ चैतमा भएको तिनकुने हिंसात्मक प्रदर्शन र नेताहरुको गिरफ्तारीपछि पातलिएको आन्दोलनलाई राप्रपा नेताहरु फेरि लयमा फर्काउन चाहन्थे । त्यसका लागि निषेधित क्षेत्रमै पुगेर सांकेतिक प्रदर्शन गर्ने राप्रपा तयारी थियो ।

तर अध्यक्ष लिङ्देनको पूर्वअभिव्यक्ति पछि प्रहरीले बानेश्वर–बिजुलीबजार–माइतीघर क्षेत्रमा उच्च सुरक्षा सतर्कता कायम गर्‍यो । यो क्षेत्रमा दुई साताभन्दा बढी समयदेखि प्रदर्शनरत शिक्षकहरुलाई आइतबार ११ बजेभित्रै प्रदर्शनसक्न भनियो । बिहानैदेखि बाक्लो प्रहरी परिचालन गरियो ।

यद्यपि प्रहरीको पूर्वतयारीबारे भेउ पाएका राप्रपा नेताहरुले सुकेधारास्थित पार्टी कार्यालयमा बिहानै छलफल गरेर आन्दोलनको नयाँ रणनीति बनाए । बैठकले अध्यक्ष लिङ्देनसहित राप्रपा शीर्ष नेताहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालय जाने निर्णय गर्‍यो । त्यहाँबाट निस्किँदा सिंहदरबारभित्रै प्रदर्शन गरेर गिरफ्तारी दिने टुंगो लाग्यो । यसो गर्दा अझ बलियो सन्देश जाने नेताहरुको निष्कर्ष थियो ।

संसदीय दलको कार्यालयभित्र शीर्ष नेताहरु रहँदा प्रहरीले निगरानी गरिरहेको थियो, यद्यपि प्रमुख प्रशासनिक केन्द्रभित्रै नाराबाजी होला भन्ने सुरक्षाकर्मीले सोचेका थिएनन् । सांसद् ज्ञानेन्द्र शाहीले त्यसबेला आफूहरुलाई संसदीय दलको कार्यालयबाट निस्किनै नदिएको भन्दै टिप्पणी गरिरहेका थिए ।

त्यसको केही बेरमा सञ्चारकर्मीहरुका साथ निस्किएका लिङ्देन, शाही, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ लगायतले सिंहदरबारभित्रै विरोध प्रदर्शन गरे । सरकारको आलोचना गरिएको पर्चा देखाएपछि प्रहरी अधिकृतहरु आएर उनीहरुको हातबाट खोसे ।

सिंहदरबार गेट नजिकै पुग्ने वित्तिकै लिङ्देन, शाही, तामाङसहित अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपा युवा मोर्चा अध्यक्ष कैलाश कटवाल निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परे ।

समातिनु अघि लिङ्देनले हिरासतमा रहेका ‘निर्दोष नेताहरुको रिहाइ’ गर्नुपर्ने माग राखे ।

‘सरकारले मानिसको बोल्न पाउने, लेख्न पाउने, प्रदर्शन गर्न पाउने स्वभाविक अधिकारलाई खुम्च्याउँदै लगेको छ’, उनले टिप्पणी गरे, ‘जनताबाट सरकार झन् झन् टाढा जान थालेको छ, त्यसैले सरकार नजिकै गएर सुनाउनलाई निषेधित क्षेत्रमै प्रदर्शन गरेका हौं ।’

खासमा प्रहरीले उनीहरुले बिजुलीबजार क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गर्छन् भन्ने सोचेका थिए । बानेश्वरमा अग्लो ब्यारिकेड राखिएको थियो । तर, त्यो तोड्न गाह्रो हुने बुझेरै हुनसक्छ लिङ्देनहरुले सिंहदरबारभित्रै नारावाजी गरे ।

‘हाम्रो पूर्वघोषित कार्यक्रम नै निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भन्ने थियो, कहाँ भनेका थिएनौं’, राप्रपा प्रवक्ता मोहन मोहन श्रेष्ठ भन्छन्, ‘त्यो उद्देश्यमा राप्रपा सफल भयो, निषेधित क्षेत्र त्यसमा पनि प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै प्रदर्शन गर्‍यौं ।’

राप्रपाले उठाएको मुल एजेण्डा हासिल गर्न बाँकी नै भए पनि आइतबार निर्धारित कार्यक्रममा आफूहरु सफल भएको उनले बताए । ‘राप्रपा द्वन्द्व चाहँदैन, अनाहकमा कार्यकर्तालाई कुटाइ खुवाउने काम गर्दैन’, उनले थपे, ‘घोषित कार्यक्रम अन्तरगत प्रदर्शन भयो, सभा र जुलुस पनि भयो ।’

सिंहदरबारमा शीर्ष नेताहरु पक्राउ पर्दा बानेश्वरमा भने राप्रपा समर्थकहरु लिङ्देनसहितका नेताहरुलाई कुरिरहेका थिए । केही हुल एभरेष्ट होटल अगाडि रहेको ब्यारिकेड नजिक उभिएर प्रधानमन्त्री, गृहमन्त्री लगायतविरुद्ध नारा लगाइरहेका थिए भने केही सामूहिक गिरफ्तारी दिने भन्दै प्रहरीलाई उक्साइरहेका थिए ।

त्यहीबीच प्रहरीले समेत केही बेर माइकमार्फत सम्झाइबुझाइ गरिरह्यो । प्रदर्शनकारीको समूह बानेश्वर–तीनकुने ओहरदोहर गरिह्यो । त्यसक्रममा राप्रपा कार्यकर्ताहरुले १५ चैतको हिंसात्मक प्रदर्शनका नाइके दुर्गा प्रसाईंलाई पनि सम्झिरहे ।

पार्टीका शीर्ष नेताहरु राजावादी आन्दोलनमा प्रसाईंलाई अघि सारिएको प्रति खुशी सुनिँदैनन्, तर कार्यकर्ताले भने तीनकुनेमा प्रसाईंले उत्तेजक गतिविधि गर्दा लगाएको नारा दोहोर्‍याइरहे ।

भारतमा समातेर हाल काठमाडौं प्रहरीको हिरासतमा रहेका प्रसाईंले तीनकुने प्रदर्शनमा समर्थकलाई निषेधित क्षेत्र तोड्न उक्साउँदै गाडी कुदाएर ‘आओ..आओ…’ भन्दै चिच्याएर समर्थक भेला पार्न खोजेका थिए ।

आइतबारको प्रदर्शनमा पनि थुप्रैले ‘आओ..आओ…’ भन्दै मानिसहरु बटुल्ने प्रयास गरे । अपराह्न २ः०७ बजेतिर बिजुलीबजार आइपुगेको भिडले अनियन्त्रित हुँदै प्रहरीसँग घम्साघम्सी गर्ने प्रयास समेत गर्‍यो । एक जना डीएसपी नेतृृत्वमा खटिएको टोली भिडलाई सिंहदरबारतिर प्रवेश गर्न रोक्ने गरी बसेको थियो ।

आफ्ना नेताहरुलाई थुनेको भन्दै गृहमन्त्रीविरुद्ध नारा लगाइरहेका उनीहरुले सुरक्षाकर्मीलाई ठेल्ने प्रयास गरे । तर राप्रपाका स्वयम्सेवक र केही मानिसहरु आएर स्थितिलाई नियन्त्रणमा लिइरहे । उनीहरुले ‘नेताहरु आउन लागेको र त्यसपछि मात्र’ भन्दै भिडलाई रोके ।

केही बेरमा सिंहदरबारमा प्रहरी गिरफ्तारीबाट बचेका राप्रपा सांसद् दीपक सिंह आइपुगेर पार्टीका नेताहरुलाई गिरफ्तार गरिएको भन्दै भिडलाई जानकारी गराए । उनको आसपास समेत प्रहरी अधिकृतहरु देखेपछि प्रदर्शनकारीले केही बेर फेरि नारा घन्काए । प्रहरीलाई निषेधित क्षेत्र नतोडेको भन्दै नजिक नआउन भन्दै पछाडि पठाए ।

भिडको बीचमा सिंहले निषेधित क्षेत्रमा नपुग्दै आफूलाई धरपकड गर्न खोजेको भन्दै सरकारले जति गरे पनि नदब्ने उद्घोष गरे । ‘जनताको आवाज राप्रपाले उठाउन खोज्दा हदसम्म गरेर दबाउन खोजेका छन्’, उनले भने, ‘जति गरे पनि हाम्रो आवाज दब्दैन ।’

यसपछि केही बेर बानेश्वर क्षेत्रमा प्रदर्शनको नेतृत्व गरेका उनले ठाउँ–ठाउँ रोकिँदै अभिव्यक्तिहरु दिए । अन्य नेताहरु नआउने थाहा पाएपछि समर्थकहरु तितरवितर हुन थाले । अपराह्न साढे ३ बजेतिर प्रहरीले साइड लेनबाट सवारीसावनलाई आवतजावत गर्न दियो ।

‘यो सांकेतिक विरोध थियो, यसलाई शक्ति प्रदर्शन भनेका थिएनौं’, पार्टी प्रवक्ता श्रेष्ठ भन्छन्, ‘पर्सी ९ गते देशका ७७ वटै जिल्लाको प्रशासन कार्यालयमा धर्ना दिने, प्रदर्शन र सभा गर्ने कार्यक्रम छ ।’

प्रहरीले साँझ नै राप्रपाका नेताहरुलाई छाडिसकेको छ । काठमाडौं प्रहरी प्रवक्ता अपिलराज बोहोरा भन्छन्, ‘होल्ड गरेर राखेका थियौं, साँझ नै सबैलाई छाडिसकेका छौं ।’

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?