+
+
Shares
बदलिएका बस्ती :

२० वर्षमा बदलिएको बटेश्वर

समुदायको अपेक्षा र भएको विकासका बीच सन्तुलन नमिलेको मात्रै हो । गाउँ गाउँमा स–साना परिवर्तन नभएका होइनन् । धनुषा जिल्लाको बटेश्वर गाउँपालिका वडा नम्बर–३ मा पछिल्लो बीस वर्षमा भएको परिवर्तनबाट यो थाहा पाउन सकिन्छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ वैशाख ८ गते ९:१६

८ वैशाख, जनकपुरधाम । पक्की सडक, प्रायः इँटाको घर, घरको बारी–बारीमा फलफूलका बगैंचा, घरघरमा मोटरसाइकल जस्ता सवारी साधन, प्रत्येक घरका बालबालिका विद्यालयको पहुँचमा, दर्जनौं सरकारी जागिरे । यो दृश्य हो, धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ३ को ।

साविकको बटेश्वर गाविसको पाँच वटा वडा समावेश बनेको वडा नम्बर ३ मा दुई दशकअघि उबडखाबड कच्ची बाटो, फुसका घर, टाढा–टाढाबाट पानी तानेर ल्याउनुपर्ने बाध्यता थियो । बिजुली त परको कुरा । टुकी बालेर रात काट्नुपथ्र्यो । सरकारबाट न्यून बजेट मात्र पाउँदा केही गर्नै असहज थियो ।

यी अवस्थाबाट गुज्रेको बटेश्वरमा पछिल्ला वर्षहरूमा देख्न सकिने परिवर्तन आएको छ । यसका एक जना साक्षी हुन् ८७ वर्षीय कामेश्वर महतो । साविक बटेश्वर गाविस वडा नम्बर ७ को दुईपटक वडाअध्यक्ष भइसकेका महतो आफ्नो गाउँले फड्को नै मारेको बताउँछन् ।

‘पहिले त इनार समेत टाढा–टाढा थिए । पानी तानेर टाउकोमा भारी बोकेर ल्याउनुपथ्र्यो । बिजुली थिएन । बजेट पनि थोरै आउँथ्यो । अनि कसरी विकास हुनु ?’ उनी भन्छन्, ‘२० वर्षयता गाउँले ठूलो फड्को मारेको छ ।’

स्थानीय ७४ वर्षीय बद्री महतो अहिले गाउँको अवस्था देखेर दंग छन् । उनका भनाइमा पहिले सडक सुक्खामा धुलैधुलो, बर्खामा हिलैहिलो हुन्थ्यो । पैदल हिंड्न पनि समस्या हुन्थ्यो । उनी भन्छन्, ‘अहिले त करिब करिब बटेश्वरमा एकाध बाहेक सबै सडक कालोपत्रे र पीसीसी ढलान भइसकेको छ । प्रायः घरमा मोटरसाइकल छन् । टाढा गाउँ पनि अब नजिक भइसक्यो । अँध्यारोमा रात काट्नु पर्दैन ।’

पछिल्ला दुई दशकमा बटेश्वरले सबै क्षेत्रमा उल्लेखनीय फड्को मारेको छ । शिक्षा, पूर्वाधार, यातायात, सरसफाइ, बिजुली बत्तीदेखि सामाजिक जागरणसम्म । गाउँमा पहिले सरकारी जागिरेको संख्या औंलामा गन्न सकिने थियो । एकाध घरका मान्छे मात्रै निजामती र शिक्षक पेशामा थिए । अहिले यो वडामा दर्जनौं मानिस सरकारी जागिरे छन् ।

पछिल्लो समय शिक्षक, स्वास्थ्यकर्मी, निजामती कर्मचारीमा लोकसेवा पास गरेर सरकारी जागिरे भएका छन् । लोकसेवा आयोग पास गरेर नाम निकाल्नेमा यो वडा यस क्षेत्रकै अग्रपंक्तिमा छ । स्थानीय सरोज महतोका भनाइमा, ‘वडामा मात्रै ६० जनाभन्दा बढी सरकारी जागिरे छन् ।’

उनीहरू प्रायः १३ वर्षयता लोकसेवा पास गरेर जागिरे भएका हुन् । स्थानीय जनककुमारी ठाकुर भन्छिन्, ‘पहिले जागिर पाउनु त सपना जस्तै थियो । अहिले गाउँका धेरैले लोकसेवा पास गरेर सरकारी जागिर खाइरहेका छन् ।’

जनककुमारी ठाकुर

उनका भनाइमा २० वर्षमा बटेश्वरमा देख्न सकिने परिवर्तन आएको छ । सबैजसो फुसको घर भएको यस वडामा अहिले प्रायः घर पक्की छन् । कतिपय बन्ने क्रममा छन् । बटेश्वर गाउँपालिकाको पाँच वटामध्ये हरेक प्रकारको विकासमा वडा नम्बर ३ अगाडि छ ।

साविकको बटेश्वर गाविसको वडा नम्बर ४, ६, ७, ८ र ९ नम्बर वडा समेटेर गाउँपालिकाको वडा नम्बर ३ बनेको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार यो वडाको जनसंख्या जम्मा ३ हजार १६२ छ । पुरुष १ हजार ५९३ र महिला १ हजार ५६९ छन् ।

झण्डै ११०० घरधुरी रहेको वडामा कोइरी, तेली, यादव, मण्डल, दास, महरा, तामाङ, बडही, हजाम ठाकुर लगायतको बसोबास छ । यस वडामा पाँच वटा स–साना टोलहरू छन् । सरस्वती चोक, जितमवाहन टोल, आरती चोक, कटानी र लामा टोल ।

कटानी चोक ।

पछिल्लो राष्ट्रिय जनगणना अनुसार यो वडामा विभिन्न भाषाभाषी छन् । मगही सबैभन्दा बढी बोलिने भाषा हो । मगही ५३.४ प्रतिशत, मैथिली ३३.१ प्रतिशत, नेपाली ३.२ प्रतिशत, तामाङ ३ प्रतिशत, दनुवार २.२ प्रतिशत र नेवारी ०.९ प्रतिशत बोलिन्छ ।

विभिन्न देवी–देवताका ५ वटा मन्दिर छन् । जितिया जितवाहन, शिव मन्दिर, हनुमान मन्दिर, कृष्ण मन्दिर र बिसहारा मन्दिर । सबै जातजाति तथा भाषभाषीको आफ्नो सांस्कृतिक रीतिरिवाज छ ।

गरिबी र अशिक्षाको कारण कति बालबालिका पहिले स्कूल जाँदैनथे । अहिले सबैजसो बालबालिका विद्यालयमा जान्छन् । वडामा तीन वटा सामुदायिक विद्यालय छन्— जनशक्ति माध्यमिक विद्यालय, देवकी नमूना माध्यमिक विद्यालय र बौद्ध राप्रावि कटानीटोल ।

वडाध्यक्ष राममणि कुशवाहा महतो अहिले प्रत्येक घरका बालबालिका विद्यालयको पहुँचमा रहेको बताउँछन् । ‘बटेश्वरमा सबै परिवारले आ–आफ्ना सन्तानलाई शिक्षित बनाउन चाहेका छन् । सबै बालबालिकाको विद्यालयसम्म पहुँच छ’, वडाध्यक्ष महतो भन्छन् ।

विद्यालयमा पहिले भन्दा राम्रो भौतिक संरचना छ । तर, स्थानीय युवक प्रभातकुमार महतो भौतिक संरचनासँगै शिक्षाको गुणस्तरीयतामा चाहिं जोड दिनुपर्ने आवश्यकता रहेको बताउँछन् ।

स्वास्थ्य चौकीमा सेवा लिंदै स्थानीयवासी ।

दुई दशक अघिसम्म प्रायःको घरमा शौचालय थिएन । खुला चौरमा दिसापिसाब गर्ने चलन थियो । सरसफाइमा मानिस खासै ध्यान दिन्नथे । अहिले अवस्था बदलिएको छ ।

स्थानीय पदमबहादुर लामा प्रायः घरमा शौचालय रहेको र समाजको चेतना स्तर पनि विकास भएको बताउँछन् । उनी भन्छन्, ‘दुईदशक अघि र अहिलेको तुलना गर्दा वडामा आकाश पातालको परिवर्तन भएको छ ।’

लामो समयसम्म यो गाउँमा खानेपानीका लागि इनारको संख्या पनि थोरै थियो । टाढाटाढाका इनारबाट पानी ल्याउनुपर्ने बाध्यता थियो । डोरी र डोलको सहाराले इनारबाट पानी तान्नुपर्ने बाध्यता थियो । तर अब यो बाध्यता रहेन । वडाध्यक्ष महतोका अनुसार निजी तथा सरकारी लगानीमा वडामा २०० भन्दा बढी खानेपानीका इनार छन् । बिजुलीको प्रबन्ध गरेर पानी तान्ने मोटर जडान गरी घरघरमै पानी आउनेसम्मको व्यवस्था गरिएको छ ।

खेतबारीमा सिंचाइ गरेर बाली फलाउन आकाशे पानीको भर पर्नुपथ्र्यो । कतैकाहीं इनारमा दमकल सेट गरेर सिंचाइ गर्ने गरिन्थ्यो । तर अब धेरै किसानले निजी तथा सरकारी लगानीमा इनार बोरिङ समेत गाडेका छन् । वडामा साना–ठूला गरी करिब २० वटा बोरिङ छन् । तीमध्ये कति सञ्चालनमा ल्याउन बाँकी छ । स्थानीय फुर्वासिंह लामा स्थानीय सरकारले चाहे खेतबारीमा सिंचाइको प्रबन्ध गर्न सकिने रहेछ भन्ने देखिएको बताउँछन् ।

हलगोरुले जोतेर खेतीपाती गर्ने बटेश्वरमा अहिले प्रायः किसान ट्याक्टर प्रयोग गर्छन् । हलगोरु त करिब करिब हराइसके । खेतसम्म ट्याक्टर लान–ल्याउन कृषि सडक पनि बन्न थालेका छन् । दुई वटा कृषि सडक बनिसकेका छन् ।

२० वर्ष अगाडि गाउँमा रोजगारीको हाहाकार थियो । अहिलेका युवाहरू खाडी मुलुक जाने र फर्केर व्यापार व्यवसायमा लागेका छन् । पूर्व वडाध्यक्ष हीरालाल महतो अहिले गाउँमा ठूलो परिवर्तन आएको बताउँछन् । उनी भन्छन्, ‘पहिले समस्या नै समस्या थिए, अहिले धेरै सुधार भइसकेको छ ।’

कटानी चोकमा आराम गरिरहेका स्थानीय बासिन्दा ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?